जाडो बढेसँगै घुम्ती गोठ बेँसीतिर झरे

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । जाडो बढेसँगै लमजुङका लेकमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन् । सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेका हुन् । जाडो छल्नका लागि र खेतीपातीका लागि मल आवश्यक पर्ने भएकाले गोठहरू बेँसी झर्ने चलन छ । क्व्होलासोंथर गाउँपालिका-४ भुजुङका नौराज गुरुङका अनुसार घुम्ती गोठ भुजुङको घिम्चेफाँटमा झरेको छ । करिब ५० वटा गोठ फाँटमा झरेको उहाँले जानकारी दिनुभयो ।

‘जाँडो बढेको छ । जाडो बढ्दै गर्दा लेकमा रहँदा वस्तुलाई चिसो हुन्छ । चिसोमा मर्ने समस्या हुन्छ,’ उहाँले भन्नुभयोे । उक्त गोठहरू कात्तिकदेखि मंसिरसम्म घिम्चेफाँटमा त्यसपछि केही दिन कोदो लगाइएको खेतमा बस्छ । चैत १५ गतेबाट लेकमै फर्कने गरेको स्थानीयले बताएका छन् ।

क्व्होलासोंथर गाउँपालिका-३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार गाउँको बेँसीमा घुम्ती गोठ बसेको छ । एक साताअघिदेखि नै गोठ आएको हो । कात्तिकमा बेँसी झर्ने, मंसिर, पुस, माघ, फागुन र चैतसम्म बस्ने गर्छ । वैशाखमा पुन लेकमा जाने गर्छ । बस्तुभाउलाई न्यानो बनाउन र मलका लागि गोठ झर्ने गरेको स्थानीयले बताएका छन् ।

दूधपोखरी गाउँपालिका पशु शाखाका कर्मचारी दिनेश गुरुङका अनुसार दूधपोखरी क्षेत्रको लेकमा रहेका घुम्ती गोठहरू बेँसी झरेका छन् । गोठहरू इलमपोखरी डाँडामा बसेका छन् । जाडोको समय भएकाले गोठ बेँसी झरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रूपेश श्रेष्ठका अनुसार लमजुङका घुम्ती गोठहरू अहिले बेँसी झरेका छन् । जाडोको समयमा लेकमा बस्न नसकिने भएकाले न्यानो खोज्दै बेँसी आउने गरेका छन् ।

लमजुङमा करिब ३०० वटा घुम्ती गोठ छन् । करिब १० वटा गाईगोठ, करिब १०० वटा भेडाबाख्राको गोठ र अन्य भैँसी गोठ छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?