निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ ।

गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो ।  गृह सचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताउनु भयो । गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताउनु भयो । उहाँले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गिकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ । हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरु सम्पन्न गरिसकेका छौँ । त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरुसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ । निर्धक्क भएर मतदान गर्नसक्ने किसिमको वातावरण बनाउन सुरक्षा निकायहरु र जिल्लामा रहेका सुरक्षा निकायहरु सक्षम रहेको देखिन्छ । यो अवधिमा विशेष गरी निर्वाचनको सन्दर्भमा उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा यी सबै कुराको सुरक्षालाई हामीले हेरिरहेका छौँ । सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभुति गर्न सकिने स्थिति रहेको छ । निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिन्छ । हामीसँग १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु रहेका छन् । त्यसमा २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् । हामीले हरेक मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ । तदनुरुप नै सुरक्षाकर्मीहरु सम्पूर्ण मतदान स्थलहरुमा र मतदान केन्द्रहरुमा सुरक्षाका लागि खटिसकेका छन् । निर्वाचनको दिन र निर्वाचन भन्दा अघिको मौन अवधिमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रवन्धहरु गरेका छौँ । त्यसले आसन्न निर्वाचनमा भयरहीत र शाति पुर्ण निर्वाचन गराउन सक्षम हुनेछाैँ । भयरहीत वातावरणमा मतदाताले मतदान गर्न पाउने कुरा सुनिश्चित गरिएकाले निर्धक्क भइ मताधिकारको प्रयोग गर्न आग्रह गर्दछु ।’

देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?