अन्तरसंवाद : अध्यात्म र भौतिकताका दोभान- डा. बद्री पोख्रेल

विनोद दाहाल वत्स
Read Time = 28 mins

मेरा लागि डा. बद्री पोख्रेल त्यति सुपरिचित नाम होइन । नाम कतै सुनेको हुँ तर देखे-भेटेको थिएन । केही समयपहिले मित्र तिलकप्रसाद लुइँटेलले चावहिलसम्म जाऊँ भन्नुभयो । घरमा काम गरिरहेको थिएँ तैपनि उहाँको आग्रहलाई नकार्न सकिनँ । आकाश धुम्म थियो । पानी परिहालेको त थिएन तर पर्लाजस्तो लागेर छाता बोकेर हिँडे । दुईजना गफ गर्दै गयौँ, नभन्दै बाटामा पानीले भेटिहाल्यो । केही बेर ओत लागेपछि पानी बिदो भयो । चावहिलको स्तूप पार गरेर केही अगाडि बढेपछि दीर्घायु गुरु अस्पतालनेर पुगेर उहाँलाई फोन सम्पर्क गर्‍यौँ, उहाँ बाहिरसम्म आउनुभयो ।

हामीले उहाँको घर नदेखेका कारण सजिलाका लागि यो बाटो अपनाएका हौँ । अस्पतालको पछाडिपट्टि रहेछ उहाँको निवास । साँझ पर्नै लागेको थियो । केही बेर बसेर उहाँका बारेमा केही जानकारी राख्ने प्रयास भयो । चियाँ खाँदै कुराकानी गर्‍यौँ । मैले पोख्रेल भन्नासाथ हाम्रै ओखलढुंगा वा खोटाङतिरकै हुनुहुन्छ होला भन्ने ठानेँ । पूर्वमा ओखलढुंगाको माम्खा, चार्खु र अझै दूधकोशीपारि खोटाङको खार्पा पोखरेलहरूको प्रसिद्ध थलो हो । देशका विभिन्न उच्च ओहोदामा पुग्ने पोखरेलहरू विशेषतः त्यतैतिरकै छन् ।

मैले त्यही अनुमान गरेको थिएँ तर होइन रहेछ, उहाँ त यहीँ काठमाडौंकै हुनुहुँदोरहेछ, काठमाडौं सुन्दरीजलको । त्यहाँबाट स्व जिल्लाकै बसाइँ सराइ गरी चावहिलमा बस्नुभएको । उहाँको निवास तथा अन्य कुराहरूका आधारमा उहाँ यस ठाउँमा बस्नु भएको पनि निकै समय बितिसकेको जस्तो देखिन्थ्यो । फराकिलो हाता र त्यसमा निर्मित आवास, अहिले त त्यसरी बस्न सकिने सम्भावना देखिँदैन । एउटा जग्गाको अभाव र दोस्रो महँगीका कारण ।

मूलरूपमा उहाँले अठार पुराणहरूको अनुवाद जुन गर्नुभएको छ एक प्रकारले भन्ने हो भने त्यो निकै नै दुरुह कार्य हो तैपनि उहाँले त्यही दुरुह कार्य गर्नै आँट गर्नुभयो । उहाँ आफूले साहित्य सिर्जना र प्रशासनिक कार्यबीच इच्छाशक्तिले सन्तुलन मिलाउन सकेको हुँ भन्नुहुन्छ ।

डा. बद्री पोख्रेल विसं २०१३ साल जेठ ५ गते अर्थात् १८ मे १९५६ मा सुन्दरीजल नयाँपाटी काठमाडौंमा जन्मिनुभएको हो । उहाँको जन्मस्थान हाल गोकर्णेश्वर नगरपालिका वडा नं-१ मा पर्छ । पं. दोहनाथ पोख्रेलका दुई भाइ छोरामध्ये उहाँ कान्छा हुनुहुन्छ । उहाँका दाइ प्रा.डा.ऋषिराम पोखरेल एकजना विद्वान् व्यक्तिका रूपमा चिनिनुहुन्छ । उहाँकी एकजना बहिनी हुनुहुन्छ मन्दाकिनी आचार्य ।

Dr Badri

डा. पोख्रेल हाल स्वतन्त्र अध्ययन, लेखनमा लाग्नुभएको छ । सरकारी सेवाबाट निवृत्त हुनुभएका कारणले गर्दा पनि उहाँलाई यस्ता काममा लाग्न समय मिलेको छ । उहाँको २०३४ सालमा उर्मिला न्यौपानेसँग २१ वर्षको उमेरमा विवाह भयो । उर्मिला गृहिणी हुनुहुन्छ । उहाँहरूका दुई छोरा-डा.भूपेश पोख्रेल र उमेश पोख्रेल अनि एक छोरी-गीता शर्मा हुनुहुन्छ र हाल सबैजना नोकरी गरिरहनु भएको छ । डा. पोख्रेल नेपालका सबै अर्थात् ७७ वटै जिल्लाको भ्रमण गरेको छु भन्नुहुन्छ । यीमध्ये केही जागिरका सिलसिलामा र बाँकी अन्य उहाँको चाहना वा इच्छाशक्तिका कारण उहाँले यसरी नेपालको यात्रा गर्नुभएको हो भन्न सकिन्छ ।

उहाँ विभिन्न ठाउँको यात्रा गर्न रुचाउँनुहुन्थ्यो । जागिर सुरु गर्नासाथ उहाँको पोस्टिङ जाजरकोटमा भयो । उहाँ तीनदिन लगाएर जाजरकोटबाट डोल्पाको भ्रमणमा निस्किनुभयो । त्यहाँ पुगेर पनि हेर्न घुम्न लायकका खासै कुनै ठाउँ थिएनन् । उहाँ त्यसरी नै तीनदिन हिँडेर फेरि जाजरकोट फर्किनुभयो । अहिले सम्झिँदा उहाँलाई आफ्नो यो एउटा लहड हो जस्तो लाग्छ तर यसरी नै विभिन्न ठाउँको यात्रा गर्दागर्दै उहाँ नेपालका सबै जिल्ला पुग्नुभयो ।

उहाँले यसरी नेपालको भ्रमण गरेपछि ‘मेची काली’ शीर्षकमा एउटा पुस्तक पनि लेख्नुभएको छ । यसमा उहाँले नेपालका सबै जिल्लाको भौगोलिक, सामाजिक, पर्यटकीय तथा अन्य विशेषतासहित चिनारी गराउनु भएको छ । यसबाट उहाँको रुचि र लगनशीलता थाहा पाउन सकिन्छ । उहाँले अमेरिका, बेलायत, भारत, चीनलगायत ४० वटा देशको भ्रमण गर्नुभएको छ । उहाँ सबैभन्दा पछि पत्ता लागेको अन्टार्टिका महादेशसमेत पुग्नुभएको छ । अन्टार्टिका पुग्ने उहाँ चौथो नेपाली हुनुहुन्छ जुन कुरा नेपालको राष्ट्रिय दैनिक गोरखापत्रमा पनि प्रकाशित भएको छ ।

उहाँले प्राथमिक तह गोकर्ण प्राथमिक विद्यालयबाट र माध्यमिक तह संस्कृत माध्यमिक विद्यालय रानीपोखरी काठमाडौँबाट पूरा गर्नुभयो । यसैगरी उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय र वनारस हिन्दु युनिभर्सिटी (बिएचयु) बाट पूरा गर्नुभयो । सर्वदर्शनमा आचार्य गर्नुभएका पोख्रेलले अर्थशास्त्रमा समेत स्नातकोत्तर (एमए) गर्नुभयो । विद्यावारिधि (पिएचडी) पनि उहाँले अर्थशास्त्रमै गर्नुभयो ।

उहाँले अर्थमन्त्रालयलगायत नेपाल सरकारका विभिन्न निकाय र निजी स्रोतका विभिन्न शिक्षण संस्थामा रहेर सेवा गर्नुभयो । पशुपति बहुमुखी कलेजलगायत त्रिभुवन विश्वविद्यालयमा र लोकसेवा आयोगमा विषयविज्ञका रूपमा उहँले धेरैपटक काम गर्नुभएको छ । यसैगरी उहाँले एमफिलका विद्यार्थीहरूलाई पढाउने कामसमेत गर्दै आउनु भएको छ । २०३७ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ २०७१ सालमा उमेर हदका कारण सेवाबाट अवकाश हुनुभयो । उहाँ नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, नेवारीलगायत भाषाहरू जान्नुहुन्छ ।

तत्कालमात्र नभएर कालान्तरमा समेत सबैलाई आनन्द दिने बौद्धिक कसरत र सिर्जना नै साहित्य हो भन्ने उहाँलाई लाग्छ । उहाँको भनाइलाई आधार मान्दा साहित्य मानिसको बौद्धिकताले सिर्जना हुने आनन्ददायी र चिरस्थायी रचना विशेष हो भन्न सकिन्छ ।

पोख्रेल आपूm सामान्य पारिवारिक स्थितिबाट आएको बताउनुहुन्छ । उहाँका पिताजी सामान्य घरायसी व्यवसाय गर्ने, खेती किसानी गर्ने, सप्ताह पुराण भन्ने, छोराछोरीहरूले उच्च शिक्षा लिइदिए हुन्थ्यो भन्ने सोच राख्ने र अत्यन्त मिहिनेती भएकाले घरमा लेखपढको वातावरण थियो भन्नुहुन्छ । तत्कालीन अवस्थामा सप्ताह पुराण भन्न सक्ने व्यक्तिको समाजमा मान्यता रहन्थ्यो र त्यस स्तरको परिवारलाई शिक्षित परिवार भनिन्थ्यो । त्यसकारण पनि उहाँको परिवार शिक्षित रहेछ भन्ने थाहा हुन्छ ।

अहिले उहाँ निवृत्त जीवन बिताइरहेको र १८ महापुराणको मूल पढेर अध्यायैपिच्छे नेपालीमा सारांश लेखिरहेको छु र अब १८औं महापुराणको थोरै भागमात्र लेख्न बाँकी छ भन्नुहुन्छ । उहाँले प्रशासन र शिक्षण क्षेत्रमा काम गर्नुभयो तर हाल उहाँ अवकाश प्राप्त जीवनमा लेखनलाई नै समय दिइरहनुभएको छ । उहाँले सेवामा छँदा नेपाल सरकारको ऐन नियम र संस्थाको उद्देश्यअनुसारका काम गर्नुभयो । आपूmले सेवा गरुन्जेल उहाँले आफ्नो अधिकार र कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नुभयो, जिम्मेवारीलाई पन्साउने काम गर्नुभएन ।

उहाँ कहिल्यै पनि निष्क्रिय भएर बस्नु भएन । उहाँबाट साढे दुई दर्जनभन्दा बढी पुस्तक लेखिइसकेका छन् । श्रीअग्निमहापुराण, श्रीमार्कण्डेयमहापुराण, श्रीवामनमहापुराण, श्रीशिवमहापुराण, श्रीगरुडमहापुराण, श्रीकूर्ममहापुराण, श्रीविष्णुमहापुराण, श्रीवराहमहापुराण, श्रीभविष्यमहापुराण, श्रीब्रहृममहापुराण, श्रीलिङ्गमहापुराण, श्रीमद्भागवतमहापुराण, श्रीमत्स्यमहापुराण, श्रीनारदमहापुराण, श्रीब्रहृमवैवर्तमहापुराण, श्रीब्रहृमाण्डमहापुराण, श्रीपद्ममहापुराण तथा श्रीस्कन्दमहापुराण नेपालीमा प्रकाशित भइसकेका छन् ।

यसैगरी उहाँका मेची-काली, व्यवस्थापनका पाँच आयाम, मभित्रै अर्कैछ (छन्द कवितासंग्रह), नेपालमा सम्पत्ति कर, दशपोका भित्रका पन्ध्र अञ्जुली (यात्रा निबन्ध), तामाङ संस्कृति, शक्तेर्दार्शनिकम विवेचनम् (संस्कृतमा), आरोग्य ( गीति एल्बम), अर्थशास्त्र शब्दावली (अर्थशास्त्रको शब्दकोश्), अर्को यात्रा अन्टार्टिका (यात्रा संस्मरण) जस्ता पुस्तक पनि उहाँबाट सिर्जना भएका छन् । यसका साथै उहाँका अङ्ग्रेजीमा ल्याण्ड रिभेन्यु एडमिनिस्ट्रेसन इन नेपाल, फिस्कल पोलिसी, सेभ द चिल्ड्रेन युएस इन नेपाल, (सहलेखन) तथा शिवपुराण (रिलेभेन्स टु मोडर्न साइन्स) लगायत पुस्तक प्रकाशित भएका छन् । उहाँको आधुनिक गीतहरूको संग्रह आरोग्य एल्बम पनि प्रकाशित भएको छ ।

उहाँ राष्ट्रिय विकास सेवामा बाजुरा जानुभयो । त्यहाँको कोल्टी विमानस्थल निर्माणदेखि त्यस जिल्लाका विभिन्न विकास निर्माणका कामहरू गर्न उहाँले धेरै परिश्रम गर्नुभयो । कोल्टी विमानस्थल निर्माणका लागि त उहाँले तत्कालीन राजा वीरेन्द्रलाई भनेरै उक्त कार्य सम्पन्न गराउनु भएको थियो । उहाँको प्रयासबाट जिल्लाको आमूल परिवर्तन भएको थियो । उक्त कुरा सम्झिँदा उहाँ रोमाञ्चित बन्नुहुन्छ ।

उहाँले लेखनकार्य पनि सानैदेखि गर्नुभएको हो । ‘हो, म लेख्छु । विद्यार्थी कालमा हुने साहित्यिक कार्यक्रममा संलग्न हुने क्रममा म साहित्यतर्फ आकर्षित भएँ र पछि पनि यसलाई निरन्तरता दिइरहेँ । हालसम्म पनि लेखिरहेकै छु’ उहाँ भन्नुहुन्छ । ‘साहित्यमा कोही प्रेरक व्यक्तित्व पनि हुनुहुन्छ ?’ भनेर सोध्दा उहाँ ‘त्यस्तो खास कोही छैन । कालिदास र माधव घिमिरेका कविता बढी मन पर्छन् । तिनैबाट प्रभावित भएँ र लेख्न थालेँ’ भन्नुहुन्छ । अर्का प्रेरक व्यक्तित्वको रूपमा उहाँ आप्mनै दाजु ऋषिराम पोखरेललाई सम्झिनुहुन्छ ।

उहाँ पूर्णकालीन साहित्यकार होइन, जागिर उहाँको पेशा हो र धेरै समय त्यसैलाई दिनुपयो । त्यसकारण उहाँले लेखनमा चाहे जति काम गर्न सक्नुभएको छैन तैपनि उहाँले जे जति लेखन कार्य गर्नुभएको छ त्यसलाई कम आक्न मिल्ने खालको छैन । मूल रूपमा उहाँले अठार पुराणहरूको अनुवाद जुन गर्नुभएको छ एक प्रकारले भन्ने हो भने त्यो निकै नै दुरुह कार्य हो तैपनि उहाँले त्यही दुरुह कार्य गर्नै आँट गर्नुभयो । उहाँ आपूmले साहित्य सिर्जना र प्रशासनिक कार्यबीच इच्छाशक्तिले सन्तुलन मिलाउन सक्दोरहेछ र मैले पनि त्यसरी नै मिलाएको हुँ भन्नुहुन्छ ।

‘जागिर र लेखनमध्ये तपाईंको रोजाइमा कुन पर्न आउँछ ?’ भनेर सोध्दा उहाँ ‘दुवैको आआफ्नै महत्व छ तर पनि प्रशासनले तत्कालीन र साहित्यले दीर्घकालीन सन्तोष दिन्छ जस्तो ठानेको छु’ भन्नुहुन्छ । उहाँको यस भनाइबाट प्रशासनिक कार्य पेशा हो जो निश्चित अवधिका लागि हुन्छ तर साहित्य स्वान्त सुखाय हो जो सधैंका लागि वा दीर्घकालीन तथा चिरस्थायी हुन्छ भन्ने अर्थबोध हुन्छ ।

उहाँ हाल आफू जहाँ पुगेको छु ठीक ठाउँमा पुगेको अनुभूति भएको छ भन्नुहुन्छ अर्थात् पछाडि फर्किएर हेर्दा उहाँ आफू सफल व्यक्तिका रूपमा आफ्नो परिवेशबाट निकै अगाडि आइपुगेको अनुभूति गर्नुहुन्छ । डा. पोख्रेलले आफ्नो पेशासम्बन्धी पुस्तक पनि लेख्नुभएको छ प्रशासन, राजस्व, करलगायतका विषयमा । तत्काल मात्र नभएर कालान्तरमा समेत सबैलाई आनन्द दिने बौद्धिक कसरत र सिर्जना नै साहित्य हो भन्ने उहाँलाई लाग्छ । उहाँको भनाइलाई आधार मान्दा साहित्य मानिसको बौद्धिकताले सिर्जना हुने आनन्ददायी र चिरस्थायी रचनाविशेष हो भन्न सकिन्छ ।

साहित्य केका लागि रचना गरिन्छ त ? स्वच्छ मनोरञ्जन र सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि विगत, वर्तमान र भविष्यका परिस्थितिको इतिहास तयार गर्न रचना गरिन्छ भन्नुहुन्छ उहाँ । मानसिक सन्तुष्टिका लागि मात्र हो वा अन्य भौतिक आर्जनको उद्देश्य पनि हुन्छ साहित्य रचनामा ? भन्दा उहाँ यी दुवै उद्देश्य निहित रहेको हुन्छ भन्नुहुन्छ । उहाँबाट यात्रा साहित्य, कविता, कथा, प्रशासनका आयाम, अर्थशास्त्रमा कर, वित्तीय नीति र १८ महापुराणहरूको नेपालीमा छुट्टाछुट्टै अध्यायगत सारांश ग्रन्थहरू रचना भएका छन् । यसो भए तापनि उहाँ विशेषतः साहित्य, अर्थशास्त्र र धर्मसंस्कृतिसम्बन्धी विधा वा विषयमा कलम चलाउँदै आउनुभएको छ ।

किन यिनै विधा उहाँको रोजाइमा परे त ? उहाँ भन्नुहुन्छ ‘विभिन्न कालखण्डका घटना, समाज सुधारको सोच र अन्तरइच्छाका कारणले मैले यिनैलाई अँगाल्दै आएको हुँ ।’ उहाँ आफूले १. मानसिक इच्छालाई बाहिर प्रकट गर्न, २. समाजमा सुधार ल्याउन र ३. आर्जन गर्न लेख्ने गरेको बताउनुहुन्छ । साहित्य लेखनबाट आयआर्जन गर्न सकिन्छ ? भन्दा उहाँको ‘सकिन्छ’ भन्ने उत्तर पाइयो । ‘नेपालमा लेखेर बाँच्न सकिने अवस्था छ त ?’ यो मेरो सोधाइ हो उहाँलाई । उहाँ केही लेखक र केही विषयले त्यो अवसर लिएको/दिएको देखिन्छ । भन्नुहुन्छ । शायद यो व्यावसायिक लेखन वा पाठ्यपुस्तक लेखनतर्फको संकेत हुनसक्छ । उहाँ आपूmले पनि लेखनबाट केही आर्जन गरेको बताउनुहुन्छ ।

नेपालको निजामती प्रशासन किन यति आलोचित बनेको हो ? यसलाई सुधार्न सकिँदैन ? यहाँले यसका लागि के कस्ता प्रयास गर्नुभयो ? मैले एकै पटक धेरै प्रश्न गरेँ । उहाँ यी प्रश्नको जवाफ यसरी दिनुहुन्छ, ‘यसका राजनीतिक र व्यवस्थापकीय कारण छन् । प्रशासनलाई राजनीतिक नेतृत्वले सुधार्ने दृढता नदेखाउन्जेल प्रशासनले गति लिन सक्तैन । मैले मेरो अधिकार र सीमाभित्र रहेर सुधार गर्ने धेरै प्रयास गरेँ । तर, मैलो पानीले भरिएको घैंटोमा मेरो प्रयास २-४ चम्चा शुद्ध पानी हाल्ने जस्तोमात्र भयो । यस विषयमा मेरा धेरै अनुभव छन् ।’
उहाँ राष्ट्रिय योजना आयोगको सहसचिव भएका बेला नेपालका सबै जिल्लामा मोटर बाटो पुर्‍याउनु पर्छ भन्ने विषयमा छलफल भयो ।

उहाँको पनि धारणा मागियो । सबैले प्रत्येक जिल्लामा मोटरबाटो पु¥याउनुलाई विकास भने तर उहाँले अरूको भन्दा फरक धारणा राख्नुभयो । आवश्यकता हेरेरमात्र यस्तो योजना बनाउनुपर्ने उहाँको धारणा रह्यो । मनाङ जहाँ ६ हजार जनसंख्या छ, त्यसमध्ये आधा विदेशमा र एक चौथाइ राजधानीमा बस्छन् । दुई हजार साढे दुई हजार मानिस भएको जिल्लामा मोटरबाटो जोड्नुभन्दा त्यस्ता जिल्लाहरूलाई सोही रूपमा राखेर पर्यटकहरूलाई आकर्षित गर्नुपर्छ भन्ने उहाँको धारणा थियो । पर्यटकहरू मोटर चढ्न होइन पदयात्राका लागि उपयुक्त त्यस्ता ठाउँहरूको भ्रमणमा आउँछन् भन्ने उहाँको दृष्टिकोण थियो ।

निवृत्त जीवनमा पनि उहाँ चुप लागेर बस्नुभएको छैन बरु उहाँको सक्रियता अझै बढेको पाइन्छ । उहाँ जयतु संस्कृतम्को अध्यक्ष, बागमती बौद्धिक समाजको अध्यक्ष, शक्ति स्मृति प्रतिष्ठानको अध्यक्षलगायत अन्य केही संस्थाहरूमा संलग्न भएर सक्रियता देखाइरहनु भएको छ । यस्ता अन्य केही साहित्यिक तथा समाजसेवी संघसंस्थाहरूमा पनि उहाँ संलग्न हुनुहुन्छ । डा.पोख्रेलले गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण ‘क’ र ‘ख’ लगायत धेरैपटक नगद पुरस्कार तथा स्वर्ण पदकहरू प्राप्त गर्नुभएको छ ।

साहित्यिक क्षेत्रमा पनि राष्ट्रिय राजनीतिमै जस्तो नातावाद, कृपावाद छ भनिन्छ नि ? भनेर सोधेको प्रश्नमा उहाँले अलिक बढी बौद्धिक शैलीमा जवाफ दिँदै ‘मिहिनेत र उपलब्धिका बीच तालमेल भएको देख्न कठिन भएकाले तपाईंको प्रश्न ठीक हो कि जस्तो लाग्छ’ भन्नुभयो । मानिसका अविष्मरणीय घटना वा क्षणहरू पनि हुन्छन्, झन लामो जीवन र सेवामा यस्ता सन्दर्भहरू एकमात्र होइन अनेक हुनसक्छन् । उहाँका पनि यस्ता धेरै सन्दर्भछन् भन्दै उहाँ ‘धेरै छन् । राष्ट्रिय योजना आयोगमा काम गर्दा र राष्ट्रिय विकास सेवा पूरा गर्दाका क्षणहरू तुलनात्मक रूपमा बढी स्मरणीय छन्’ भन्नुहुन्छ । माथि व्यक्त भएकाबाहेक पनि उहाँसँग यस्ता धेरै अविस्मरणीय कुराहरू छन् ।

साहित्यिक क्षेत्रका कनिष्ठ पुस्तालाई उहाँ निश्चिन्त भएर मर–मोलाहिजामा नलागिकन लेख्न सल्लाह दिनुहुन्छ । ‘अनगिन्ति संघसंस्थाहरूले लेखनमा विकृति पनि ल्याएका हुन् कि, कस्तो लाग्छ ?’ ‘भाषा, व्याकरणमा विविधता आउँनु, प्रभावको आधारमा पुरस्कार निर्णय हुनु जस्ता कुराले लेखनमा विकृति आएको आभाष हुनु स्वाभाविकै हो’ भन्नुहुन्छ डा. पोख्रेल । उहाँको यस जवाफबाट यस क्षेत्रमा विकृति छन् भन्ने कुराले समर्थन पाएको हो भन्ने देखिन्छ । पुरस्कार, मान, सम्मानमा पनि विकृति नै छन् भन्ने कुरामा समेत उहाँ सहमति जनाउनुहुन्छ । उहाँको ‘होइन भन्न सकिँदैन र होइन भन्ने आधार देखिँदैन’ भन्ने भनाइले यसलाई पुष्टि गर्दछ ।

‘भाषा, व्याकरणमा विविधता आउनु, प्रभावको आधारमा पुरस्कार निर्णय हुनुजस्ता कुराले लेखनमा विकृति आएको आभाष हुनु स्वाभाविकै हो’ भन्नुहुन्छ डा. पोख्रेल । उहाँको यस जवाफबाट यस क्षेत्रमा विकृति छन् भन्ने कुराले समर्थन पाएको हो भन्ने देखिन्छ ।

साहित्य लेखनको वर्तमान प्रवाह लेखन प्रणालीभन्दा बाहिर गएको देख्नुहुन्छ उहाँ । एउटा सिस्टममा रहेर लेखिनुपर्छ भन्ने उहाँलाई लाग्छ । कविता वा कथा वा निबन्ध प्रबन्धहरू कस्ता हुनुपर्छ त्यसको एउटा मानक ढाचा विद्वानहरू बसेर तयार पार्नुपर्छ र त्यही ढाचामा बाँधिएर सबैले लेख्नुपर्छ भने धारणा छ डा. पोख्रेलको तर हालका दिनहरूमा जसलाई जे मन लाग्छ त्यही लेखिएको छ भन्नुहुन्छ उहाँ । ‘थिति बसाउनु पर्छ । भाषा व्याकरण बिगारेको ठीक भएन । अहिले भद्रगोल भएको छ । लेख्नेहरूले पहिले राम्ररी पढेरमात्र लेख्नुपर्छ । चिन्तन गहिरो भयो भनेमात्र साहित्य पनि गहन हुनसक्छ’ उहाँ भन्नुहुन्छ ।

डा. पोख्रेललाई ‘तपाईं कुनै राजनीतिक वादप्रति पनि आस्था राख्नुहुन्छ ? र, किन त्यसवादमा आस्था राख्ने गर्नुभएको हो ? भन्दा उहाँ भन्नुहुन्छ ‘म प्रजातन्त्रमा विश्वास गर्छु । योग्यता र क्षमताअनुसारको परिणाम देख्न पाउने आशामा प्रजातन्त्रमा आस्था राखेको हुँ’ भन्नुहुन्छ । अन्त्यमा मैले ‘तपाईं आफूलाई सफल व्यक्ति ठान्नुहुन्छ ?’ भनेर सोधेँ । उहाँ ‘मेरो बाल्यकालको अवस्था हेर्दा म आफूलाई असफल ठान्दिनँ’ भन्नुहुन्छ ।

हाम्रो भेटघाट र अन्तरसंवादको अन्त्यमा आफ्नो कुराको निष्कर्ष निकाल्दै उहाँ समापनमा भन्नुहुन्छ-‘साहित्य र लेखनले समाजलाई सही बाटोतिर डोहोर्‍याउने विश्वास दिन र लिन नसकुन्जेल साहित्य र लेखनप्रति जनविश्वास र राज्यविश्वास जगाउन कठिन हुन्छ भन्ने ठानेको छु ।’ डा.पोख्रेललाई सक्रिय जीवनको शुभकामना । यसका साथै सुस्वास्थ्य तथा दीर्घ जीवनको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?