शीर्ष नेता सुरक्षित, ठूलालाई ‘खतराको घण्टी’

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । यसपालिको चुनावमा पनि प्रमुख पार्टीका शीर्ष नेताहरू सुरक्षित देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार प्रमुख पार्टीका शीर्ष नेताहरूले चुनाव जित्ने लगभग निश्चित देखिएको हो । चुनावताका शीर्ष नेतालाई हराउन एक समूहले ‘नो नट अगेन’ अभियान नै चलाएको थियो । यद्यपि, चुनावको प्रारम्भिक परिणामले शीर्ष नेताहरूको जित सुनिश्चित देखिएको छ । नो नट अगेन अभियान र स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले ठाउँ ठाउँमा अग्रता लिइरहेको अवस्थामा पनि शीर्ष नेताहरू भने सुरक्षित देखिएका हुन् ।

मंगलबार अबेरसम्मको मत परिणामअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटतम प्रतिद्वन्द्वी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ओलीलाई नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले आधा कम मतान्तरले पछ्याइरहनु भएको छ । ओली लामो समयदेखि झापा-५ बाट विजयी हुँदै आउनुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिद्वन्द्वी उम्मेदारभन्दा दोब्बर नै मतले अगाडि हुनुहुन्छ । डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ मा देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहनु भएको छ । ढकाल देउवाभन्दा दोब्बर मतान्तरले पछाडि हुनुहुन्छ । देउवा डडेल्धुराबाट ६ पटक निर्वाचित भइसक्नु भएको छ । उहाँ सातौँ जितको पर्खाइमा हुनुहुन्छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिद्वन्द्वी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ । गोरखा क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा रहनुभएका दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहनु भएको छ । उहाँ दाहालभन्दा तीन गुणा कम मतले पछाडि हुनुहुन्छ । गोरखा–२ मा एमालेका अब्दुस मिया पनि दाहालभन्दा निकै कम मतले पछ्याइरहनु भएको छ । दाहाल अघिल्लो पटक चितवनबाट निर्वाचित हुनुभएको थियो । यसपालि उहाँले चितवन छाडेर गोरखा रोज्नुभयो । उसो त उहाँ निर्वाचन क्षेत्र फेरिरहने नेतामा पर्नुहुन्छ । यसअघि उहाँ काठमाडौं, रोल्पा र सिरहाबाट समेत चुनाव लड्नुभएको थियो ।

उपेन्द्रदेखि झलनाथसम्म डेन्जर जोनमा
एमाले-माओवादीका प्रभावशाली नेताहरू पनि खतरामा
प्रमुख तीन पार्टीका शीर्ष नेता सुरक्षित भइरहँदा उनीहरूकै दलका ठूला भनिएका नेता भने ‘डेन्जर जोन’मा देखिएका छन् । उनीहरूका दोस्रो तहका ठूला भनिएका नेता मात्रै होइन अन्य केही दलका शीर्ष नेतासमेत डेन्जर जोनमा छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेतासमेत डेन्जर जोनमा हुनुहुन्छ । अध्यक्ष नेपाल झिनो मतान्तरले लिड गरिरहनु भएको छ भने सम्मानित नेता खनाल सुरुवातदेखि नै झिनो मतान्तरले पछाडि हुनुहुन्छ । जसपा अध्यक्ष यादव सप्तरी-२ मा लगभग पराजयको नजिक हुनुहुन्छ । उहाँभन्दा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आधा बढी मतले अगाडि हुनुहुन्छ । उसो त लोसपा अध्यक्ष महन्थ ठाकुर पनि डेन्जर जोनमै हुनुहुन्छ । उहाँले थोरै मतान्तरले लिड गरिरहनु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका अधिकांश पदाधिकारी पनि डेन्जर जोनमा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट पराजित हुनुभएको छ भने महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका दोस्रो तहका नेताहरू डेन्जर जोनमा हुनुहुन्छ । दाङ-२ मा महासचिव शंकर पोखरेल सुरुवातदेखि नै पछाडि हुनुहुन्छ । उहाँको क्षेत्रमा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता बनाइराख्नु भएको छ । रुपन्देही-२ मा उपमहासचिव विष्णु पौडेललाई पनि स्वतन्त्र पार्टीका गणेश पौडेलले चुनौती दिइरहनु भएको छ । एमालेका मात्रै होइन माओवादीका दोस्रो तहका नेताहरू पनि डेन्जर जोनमा छन् । काठमाडौं-२ मा पूर्व-सभामुखसमेत रहनुभएकी ओनसरी घर्ती भारी मतान्तरले पछाडि हुनुहुन्छ । पम्फा भुसाल पनि ललितपुर-३ मा भारी मतान्तरले पछाडि हुनुहुन्छ । त्यस्तै, महासचिव देव गुरुङ पनि लमजुङ क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धामा हुनुहुन्छ । तर, रोचक के छ भने यस क्षेत्रबाट एमाले-माओवादी दुई प्रभावशाली नेतामध्ये एकजना पराजित हुनेछन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी महासचिव देव गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

जनताले चाहेको परिवर्तन दलहरूमा पनि हुनुपर्छ, सच्चिने बेला आएको छ : शाक्य
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दलहरू सच्चिने बेला आएको बताउनुभएको छ । प्रारम्भिक मत परिणामको ट्रेन्डबारे कुराकानी गर्दै उपाध्यक्ष शाक्यले जनताले चाहेको परिवर्तन दलहरूमा समेत हुनुपर्ने बताउनुभयो । पार्टीहरूको व्यवहार, शैली र सोच सुधार्नुपर्ने बेला भएको उहाँको भनाइ छ । ‘अहिले नै पूर्णतः मूल्यांकन गर्ने बेला भइसकेको छैन । प्रारम्भिक मत परिणाम हेर्दा घण्टी र लौरोको पक्षमा पनि जनमत देखियो,’ हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘गठबन्धनको हालत पनि देखियो । पार्टीहरूले समीक्षा गर्नुपर्ने, सच्चिनुपर्ने, व्यवहार, शैली र सोच सुधार्नुपर्ने देखियो ।’ दलका मूल नेतृत्वको व्यवहार, शैली र कतिपय कामका कारण पनि अनपेक्षित नतिजा आएको उहाँको धारणा छ । जनताको हितलाई केन्द्रमा राखेर पार्टी र मूल नेतृत्व सुध्रिनुपर्ने उहाँको भनाइ छ । ‘मैले बारम्बार भन्दै आएको थिएँ दलहहरू सच्चिन पर्‍यो । देश र जनताको मतलब नगर्ने, ससानो कुरामा झगडा गर्ने, आफूखुसी मनलाग्दी गर्ने प्रवृत्तिमाथि मैले टिप्पणी गरिरहेकी थिएँ,’ उहाँले भन्नुभयो, ‘जनताको जीवनमा परिवर्तन आउनुपर्‍यो । यो नतिजाको मुख्य जिम्मेवार त मूल नेतृत्व नै हुन्छ भन्ने मलाई लाग्छ ।’ प्रारम्भिक नतिजाकै आधारमा दलहरू आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?