फिफा विश्वकप-२०२२ : आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (आइतबार)चार खेलहरू हुँदैछन् । समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरू हुनेछन् ।

पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

उता,कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन् । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो । दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् ।

समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो ।

त्यस्तै चौंथो खेलमा समूह ‘ई’का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?