सत्ता गठबन्धन बहुमतनजिक, प्रधानमन्त्री बन्न रस्साकस्सी सुरु

कांग्रेसमा किचलो, एमालेमा ओली एक्लै, प्रचण्ड पर्खंदै, रवि ‘रमिते’

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । चुनावी परिणाम अन्तिम चरणमा पुगेसँगै आगामी सरकार गठनबारे चर्चा हुन थालेको छ । चुनावी परिणामसँगै अब कसको नेतृत्वमा सरकार बन्छ भन्नेबारे चर्चा हुन थालेको हो । अन्तिम चरणमा रहेको मत परिणामअनुसार सत्ता गठबन्धनले झण्डै बहुमत ल्याउने देखिएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल बनेको अवस्थामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना छ । नेकपा एस राष्ट्रिय पार्टी नबने पनि गठबन्धनको साथ पाएका केही ‘स्वतन्त्र’ सांसदको साथ लिएर पनि गठबन्धनको बहुमत पुग्न सक्ने सम्भावना छ । गठबन्धनसँग साना दुई दल नागरिक उन्मुक्ति पार्टी वा जनमत पार्टीलाई साथ लिएर पनि बहुमत पुर्‍याउने विकल्प हुनसक्छ । चुनावअघि नै गठबन्धन गरेर चुनावमा होमिएका उनीहरू बहुमतनजिक रहेकाले आगामी सरकार गठबन्धनकै बन्ने सम्भावना छ । चुनाव अघिको गठबन्धन तलमाथि नभएको अवस्थामा नेकपा एमाले आगामी सरकारको प्रतिपक्षी बन्न सक्छ । यद्यपि, राजनीति सम्भावनाको खेल भएकोले अन्यथा हुँदा अचम्म मानिने छैन । सत्ता गठबन्धनको सरकार बन्ने अवस्थामा सरकारको नेतृत्व कुन दल र कसले गर्ला ? भन्ने पनि चासोको विषय छ । गठबन्धनभित्रै भावी सरकारको नेतृत्व गर्ने आधा दर्जन बढी आकांक्षी छन् । एमालेमा भने अध्यक्ष केपी शर्मा ओली एक्ला उम्मेदवार हुनुहुन्छ ।

गणितमा देउवा बलियो, गगनलाई युवाको साथ
माओवादीलाई दुवैतिर ‘मालामाल’
आगामी सरकारको नेतृत्व गर्ने सबैभन्दा बलियो सम्भावना रहेको नेपाली कांग्रेसमा सबैभन्दा धेरै प्रधानमन्त्रीका आकांक्षी छन् । वर्तमान प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा सबैभन्दा बलियो दाबेदार हुनुहुन्छ । उहाँलाई कांग्रेस संसदीय दलमा चुनिनदेखि गठबन्धनको विश्वास जित्न पनि सहज हुने देखिन्छ । यद्यपि, देउवालाई युवा महामन्त्री गगन थापाले यसपालि चुनौती दिने देखिएको छ । विगत लामो समयदेखि आन्तरिक तयारीमा लाग्नुभएका थापा पछिल्लो समय जसरी पनि प्रधानमन्त्रीमा भिडेरै छोड्ने मनशायमा हुनुहुन्छ । थापाले आफू प्रधानमन्त्रीको दाबेदार भन्दै गएको मंसिर ४ को निर्वाचनमा समेत मत माग्नुभएको थियो । कांग्रेस महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिने घोषणा गरिसक्नु भएको छ । थापालाई कांग्रेसको युवा पंक्तिले साथ दिने सम्भावना पनि उत्तिकै छ । तर, संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला पनि यही दौडमा हुनुहुन्छ । उहाँले गगनको आकांक्षाबारे हालसम्म केही बोल्नुभएको छैन । थापालाई शेखरसहित संस्थापनइतर समूहले एकल उम्मेदवार बनाएको अवस्थामा उहाँको दाबेदारीमा थप बल पुग्नेछ । तर, इतर समूहमै तानातान भएको अवस्थामा देउवालाई थप सहज हुने निश्चित छ ।

कांग्रेसमा देउवा र थापा मात्रै होइन प्रधानमन्त्रीका अरू आकांक्षीहरूको पनि लर्कै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक प्रधानमन्त्री भइछाड्ने अडानमा हुनुहुन्छ । देउवा, पौडेल, कोइराला र थापाबाहेक प्रकाशमान सिंह र शशांक कोइराला पनि यही दौडमा हुनुहुन्छ । यद्यपि, उहाँहरूको सम्भावना निकै कम छ । कांग्रेसबाहेक गठबन्धनमा नेकपा माओवादीले पनि सरकारको नेतृत्वमा ‘च्याँखे दाउ’ थापेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि देउवालाई प्रधानमन्त्री बनाएको ऋणको ब्याज खाने दाउमा हुनुहुन्छ । पार्टीले चुनावी परिणाम राम्रो नपाए पनि अबको पाँच वर्ष आधा अवधि भए पनि सरकारको नेतृत्व गर्ने दाउमा उहाँ हुनुहुन्छ । उहाँले गठबन्धन बाहेकको प्रधानमन्त्रीको सम्भावना पनि खुलै राख्नुभएको छ । प्रचण्डसँग अन्तिममा एमालेसँग मिलेर आलोपालो सरकारको नेतृत्व गर्ने विकल्प पनि छ । गोरखाबाट निर्वाचित भएपछि प्रचण्डलाई बधाई दिँदै ओलीले ‘सल्लाह गरेर अगाडि बढ्न’ आग्रह गर्नुभएको थियो । माओवादीकै दोस्रो तहमा नेताहरूले पनि एमाले सँगको तालमलेलाई नकार्न नमिल्नै बताउँदै आएका छन् । तर, प्रचण्डले ओलीको बोलीलाई तत्काल विश्वास गर्ने वातावरण भने छैन ।

केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ : थापा
नेपाली कांग्रेसमा महामन्त्री तथा नवनिर्वाचित सांसद गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका थापाले मंसिर १५ गते शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने बताउनुभयो । बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उहाँले केही दिनभित्र नयाँ सरकार बन्ने दाबी गर्नुभयो । ‘शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौँ । त्यसपछि मेरो त अर्को चुनाव आउँदै छ । मैले त्यो काममा केन्द्रित हुनुछ,’ उहाँले भन्नुभयो, ‘केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ ।’ महामन्त्री थापाले सबै राजनीतिक दलहरूले प्रत्यक्ष तर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।

एमालेको सरकार बन्ने सम्भावना न्यून
नेकपा एमालेले चुनावअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । अर्थात् एमालेमा प्रधानमन्त्रीका आकांक्षी ओली एक्लै हुनुहुन्छ । सरकारको नेतृत्व गर्ने विषयमा एमालेमा किचलो नभए पनि संसदीय अंक गणितका आधारमा प्रधानमन्त्रीको कुर्सी भने तत्काललाई टाढा देखिएको छ । सत्ता गठबन्धनले बहुमत ल्याउने वा अपुग दुई/चार सिट जसरी पनि ‘म्यानेज’ गर्न सक्ने अवस्थामा एमाले तत्कालका लागि प्रतिपक्षमा बस्नुपर्ने बाध्यता हुन सक्छ । सत्ता गठबन्धनमा विभाजन आयो र नयाँ समीकरण बन्ने अवस्थामा मात्रै एमालेको सरकार बन्न सक्ने सम्भावना छ । गठबन्धनबाट ‘वाम एकता वा गठबन्धन’का नाममा माओवादीलाई बाहिर निकाल्न सके र भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ लिन सके मात्रै एमाले नेतृत्वमा सरकार बन्न सक्छ । राप्रपा र जसपासँग एमाले चुनावी तालमेल नै गरेकोले उनीहरूको साथ सहजै रहन सक्छ । यता, रास्वपाले सरकार गठनबारे आधिकारिक रूपमा मुख खोलेको छैन । तर, सरकारमा जान सक्ने ‘ग्रिन सिग्नल’ भने दिइसकेको छ । यसका लागि उसले सरकारको नेतृत्व कसले गर्छ भन्ने विषयलाई प्रमुखताका साथ हेर्ने देखिएको छ । भावी प्रधानमन्त्रीमा ‘पुराना अनुहार’लाई समर्थन नगर्ने रास्वपाको मनस्थिति देखिन्छ । अहिले सम्मका गतिविधि रास्वपाले नजिकबाट ‘रमिते’ बनेर नियालिरहेको छ । धेरैले कांग्रेस महामन्त्री गगन थापा प्रधानमन्त्री बन्ने देखिएमा समर्थन गर्न सक्ने आँकलन गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले पनि गगन प्रधानमन्त्री बन्ने अवस्थामा समर्थन गर्नसक्ने संकेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?