बागमती प्रदेश सरकारको नेतृत्वको लागि सत्ता गठबन्धनका तीन दलबीच हानथाप

मुख्यमन्त्रीका आकांक्षी तीव्र लभिङमा

अनिल क्षेत्री
Read Time = 8 mins

काठमाडौं । बागमती प्रदेशमा दोलखाबाहेक सबै जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसकेको छ । अन्तिम नतिजा नआउँदै बागमती प्रदेश सरकार गठनका लागि सत्ता गठन्धनका दलहरूबीच रस्साकस्सी चलेको छ । मुख्य गरी गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले प्रदेश सरकार नेतृत्वको दाबी गरिरहेका छन् । दलहरूबीच प्रदेश सरकार गठनमा रस्साकस्सी चलिरहँदा प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ला आमचासोसमेत बढेको छ । मुलुकको केन्द्रीय राजधानीसमेत बागमती प्रदेशमै रहेकाले बागमती प्रदेश सरकारप्रति बढी चासो हुन स्वाभाविक पनि हो ।

पछिल्लो समयसम्म सार्वजनिक मत परिणामको आधारमा बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हुने निश्चित छ । कांग्रेससहित सत्ता गठबन्धनका दलहरूले ल्याएको मत परिणामअनुसार बागमती प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ । दोलखाबाहेक बागमतीका १२ जिल्लाको मतगणना सम्पन्न भइसक्दा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले सात, नेकपा (एस)ले पाँच, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानमा जित निकालेका छन् । बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको थियो । दोलखाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । शनिबार साँझ सम्मको मतगणना हेर्दा दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

बागमती प्रदेशमा समानुपातिक प्रणालीबाट कुल ४४ जना प्रदेश सांसद चुनिन्छन् । समानुपातिकतर्फ दलले ल्याउने सिट संख्या टुंगो लाग्न बाँकी छ । यद्यपि, बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित छ । ११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५६ सांसद आवश्यक पर्छ । अघिल्लो कार्यकालमा तत्कालीन नेकपाको स्पष्ट बहुमत थियो । सर्वोच्च अदालतको आदेशबाट नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र पुनःस्थापित भएसँगै अंकगणित परिवर्तनपछि पनि नेकपा एमालेले एकल बहुमतको सरकार बनाएको थियो । तर, सरकारको नेतृत्व गरिरहेको दल एमाले नै विभाजन भएपछि साढे तीन वर्ष लामो सरकार ढल्यो । एमालेको सरकार ढलेपछि वर्तमान पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एसका प्रदेश सांसद राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन भयो । बागमतीमा सत्ता गठबन्धनले हालसम्म प्रत्यक्षतर्फ ४२ सिटमा जित हात पारिसकेको हुनाले समानुपातिकर्फ सिट बाँडफाँड हुँदा १४ सिट मात्र पाए पनि सरकार बनाउन पर्याप्त हुन्छ ।

बागमती प्रदेशको भावी मुख्यमन्त्रीको लागि सत्ता गठबन्धन दलका विभिन्न नेताहरूको चर्चा हुन थालेको छ । केन्द्रमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको र निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहनुभएका इन्द्रबहादुर बानियाँको नाम अग्रस्थानमा छ । अघिल्लो पटक कांग्रेसले गठबन्धनको दल नेकपा एससँग आधा-आधा कार्यकालको सहमति गरे पनि कार्यान्वयन हुन सकेन । सहमति कार्यान्वयन भएको भए बानियाँ अघिल्लो कार्यकाल नै मुख्यमन्त्री भइसक्नु हुन्थ्यो । सहमति कार्यान्वयन नहुँदा मुख्यमन्त्री बन्नबाट वञ्चित बानियाँ नै भावी मुख्यमन्त्रीको प्रवल दाबेदार मानिनुहुन्छ ।

यस्तै, कांग्रेसबाट बहादुरसिंह लामाले पनि प्रदेश मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्री बन्नकै लागि लामाले प्रतिनिधिसभाबाट प्रदेशसभामा झर्नुभएको बताइन्छ । यस्तै, सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएको छ । गठबन्धनको अर्को घटक नेकपा एसका प्रदेश सांसद एवं हालका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले पनि मुख्यमन्त्रीको दाबी गरिरहनु भएको छ । तर, हाल गठबन्धनको तर्फबाट समाजवादीले सरकारको नेतृत्व गरिरहेको हुँदा आगामी सरकारमा दाबी गरे पनि पाउने सम्भावना छैन ।

सत्ता गठबन्धन बाहिरको दल नेकपा एमालेले पनि प्रदेश सरकार गठनको लागि प्रयास सुरु गरेको छ । तर, सत्ता गठबन्धनबाट माओवादी केन्द्रलाई बाहिर ल्याउन नसकेसम्म एमालेको नेतृत्वमा सरकार गठनको सम्भावना न्यून छ । एमालेको नेतृत्वमा सरकार बनाउनको लागि सत्ता गठबन्धन फुट्नु जरुरी छ । एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था आएर चितवनबाट निर्वाचित जगन्नाथ थपलिया मुख्यमन्त्रीका प्रमुख दाबेदार हुनुहुन्छ । एमालेबाट मुख्यमन्त्रीका लागि चारजना दाबेदार निर्वाचनमा होमिएका थिए । थपलियासहित चितवनबाट देवी ज्ञवाली, काठमाडौंबाट निवर्तमान सभामुखसमेत रहनुभएका सानुकुमार श्रेष्ठ र नुवाकोटबाट पूर्व-आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहनुभएका एमाले प्रदेश कमिटी अध्यक्ष केशवप्रसाद पाण्डे निर्वाचन लड्नुभएको थियो । तर, मुख्यमन्त्रीका दाबेदार चार जनामध्ये चितवनका थपलिया मात्रै निर्वाचित हुनुभयो । मुख्यमन्त्रीका आकांक्षीहरूले केन्द्रीय राजनीतिक नतृत्व र निर्वाचित प्रदेश सांसदहरू सँगको छलफललाई तीव्रता दिएका छन् ।

केन्द्रमा सत्ता गठबन्धनका नेताहरूबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रदेश मुख्यमन्त्री प्याकेजमै टुंगो लगाउन छलफल जारी रहेकाले बागमती प्रदेश सरकारको नेतृत्व कुन दलको भागमा पर्छ निश्चित भइसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?