नाट्य महोत्सव समापन

Read Time = 3 mins

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास गर्दै समापन भएको हो ।

औपचारिक समापन समारोहका प्रमुख अतिथिका रूपमा अर्थमन्त्री जनार्दन शर्माले रंगकर्मीको प्रयासबाट नेपालमा रंगमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले नाटक र रंगमञ्चका लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्ने जति बजेको व्यवस्था पनि गर्न सकेको छैन, रंगमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहलहरू आगामी दिनमा गर्ने प्रयत्न रहन्छ ।’

त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले रंगमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । समापन मन्तव्य दिँदै महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ ऊर्जा दियो होला भन्ने अपेक्षा गरेको बताउनुभयो ।

यस्तै समापन समारोहलाई सञ्चालन गर्ने क्रममा नाटक र रंगमञ्चले चर्चित र धनीभन्दा पनि जीवित र असल मान्छे बनाउँछ’ भन्ने ब्रोडवे थिएटरका रंगकर्मी टेरेन्स मनको भनाइ उद्धृत गर्दै रंगकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रंगमञ्चको संरक्षण, विकास र समृद्धितिर लाग्न आवाहृन गर्नुभएको थियो । समारोहमा माहेत्सवका सम्पूर्ण सदस्यहरू, सहयोगी, प्रयोजकलाई सम्मान गरिएको थियो ।

समापन नाटकको रूपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर भएको थियो भने ‘रंगमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन पनि भएको थियो । जसमा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तक्र्रिया गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?