रोकिएन कलैया बजारमा लगत कायम गर्ने सिलसिला 

कलैया उपमहानगरपालिकाले डाँक बढाबढ (बोल कबोल)बाट भाडामा लगाएको सटर ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । कलैया बजारमा लगत कायम गर्ने सिलसिला अहिले पनि रोकिएको छैन । पुराना लगतहरु खारेज हुनु पर्नेमा नयाँ निर्माण भएका कोठाहरु समेतको लगत कायम गरेर कलैया उपमहानगरपालिकाले पुरानै शैलीमा लगत कायम गर्ने गरेको छ ।

कलैया उपमहानगरपालिकाले हालसालै निर्माण गरेको २ वटा कोठाको लगत कायम गरेको कुरा बाहिरिएको छ । केही दिन अगाडी मात्र ७×६ को कोठाको लगत कायम गरिएको कोठा डाँक साकार गरेको कलैया उपमहानगरपालिका १ का बलिराम दास बनियाले बताउनुभयो ।

लगत कायम गराउनकै लागि सानो कोठा भए पनि ४३ लाखमा डाँक साकार गरेको उहाँले जानकारी दिनुभयो । कलैया उपमहानगरपालिकाले पुरानो कोठाको भाडा तीन हजार २ सय ५० राखेको छ भने नयाँ निर्माण भएको २ वटा सटरहरुको भाडा ५ हजार राखेको उहाँले बताउनुभयो ।

लगत कायम नभए ४३ लाख रुपैयाँमा डाक साकार गर्नुको कुनै औचित्य नै छैन, दासले भन्नुभयो, ‘मैले २०८० साल साउन महिनामा डाकद्वारा एउटा कोठा साकार गरेको हुँ । त्यसको पैसा पनि चुक्ता गरिसक्यौ र अब मेरो लगत कायम भएको छ । यो ठाउँ अब मेरो पुस्तैनी सम्पति भयो । म जहिलेसम्म पनि उपभोग गर्न सक्छु र उपभोग गरे वापत कलैया उपमहानगरपालिकालाई प्रति महिना ५ हजारको दरले कोठा भाडा बुझाउनु पर्ने छ । यो कोठाबाट खासै कमाई नभएपनि यसलाई भाडामा लगाए भने अहिले पनि १५ देखि २० हजार प्रति महिना कोठाबाल दिने मानिसहरु दिनहुँ धाउने गरेका छन् । यदि म व्यापार व्यवसाय गर्न सकिन भने यसलाई भाडामा लगाउन सक्छु वा बेच्न पनि सक्छु । लगत कायम भएपछि खरीद विक्री पनि हुने गरेको उहाँले जानकारी दिनुभयो ।’

'कलैया बजारमा अहिले १ सय २६ वटा सटरहरु रहेका छन्, सबैको पुरानै लगत रहेको छ । तर दुई ओटा नयाँ सटर निर्माण भएको छ जसमध्ये एउटा मैले लिएको छु भने अर्को एक जना व्यक्तिले १६ लाख रुपैयाँमा लिएका छन् ।' अर्को सटर पनि डाँक साकार गरेका व्यक्तिले केही दिन अगाडी ३१ लाखमा विक्री गरिसकेको दासले बताउनुभयो ।

उपमहानगरपालिकाले लगत कायम गरेकै कारण एकाधिकार भएको छ । लगत कायम गराएर लगत कायम भएका मानिसहरुले आफूले व्यापार व्यवसाय नगरी अरुलाई भाडामा दिने गरेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताउनुभयो ।

बजार सबैको साझा हुनु पर्नेमा एकाधिकारको कारण अरु वार्डका मानिसहरुलाई कारोबार गर्न समस्या हुँदै आएको छ, उहाँले भन्नुभयो, ‘नगरपालिकाले सबैको प्रतिनिधित्व र अपनत्व हुने गरि बजार व्यवस्थापन गर्नु पर्ने हो तर लगतको कारण बजारका सटरहरुमा एकाधिकार कायम भएको छ ।' उनीहरुले आफू मनोपोली सटर भाडामा लगाउने ३० देखि ५० लाख रुपैयाँसम्ममा विक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

निर्माण गरिएका नयाँ सटर डाक बढाबढ (बोलकबोल) बाट भाडामा लगाइएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले बताउनुभयो ।

तत्कालको लागि बहालमा लिने व्यक्तिसँग बोलकबोल अनुसारको रकम लिई कोठा दिइएको हो उहाँले भन्नुभयो,‘उपमहानगरपालिकालाई आवश्यकता परेको खण्डमा धरौटी रकम फिर्ता गरी नगरपालिकाले कुनै पनि समयमा ती सटर आफू अधिनमा लिन सक्ने छ भनि सम्झौता गरिएको छ । कलैया बजार अहिले पनि भद्रगोल छ ।' विस्तारै यसलाई व्यवस्थित गर्न तर्फ अगाडी बढेको र पहिला भन्दा अहिले बजार व्यवस्थित भएको उहाँले दावी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?