सर्लाही । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत सर्लाहीसहित ७ वटा जिल्लामा आजबाट आम औषधि सेवन अभियान सुरु भएको छ ।
सर्लाहीमा यो वर्ष ८ लाख भन्दा बढी व्यक्तिलाई औषधि खुवाउने लक्ष्य छ । स्वास्थ्य कार्यालय सर्लाहीले जिल्लाका २० वटा पालिकामा ८ लाख २४ हजार ६७१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको जनाएको हो । जिल्लाभर एकैसाथ आजदेखि सुरु भएको आम औषधि सेवन अभियान २९ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो ।
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन २० वटै पालिकाले आ–आफ्नो पालिकामा तयारी पूरा गरेका छन् । आज जनप्रतिनिधि, कर्मचारीलगायत भएर औषधि सेवन गरी अभियानको प्रारम्भ गरेका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, सिकिस्त बिरामी, अस्पताल भर्ना भएका बिरामी, जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका व्यक्ति र मिर्गौला रोगको लागि डायलाइसिस गरिरहेका बिरामीले मात्रै हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्नुहुँदैन । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ । गाउँ, बस्तीमा एक व्यक्तिले औषधि नखाइदिँदा अन्य व्यक्तिमा हात्तीपाइले सार्ने जोखिम हुने भएकाले आफू र आफ्ना छरछिमेकी सबैलाई औषधि खान प्रोत्साहन गर्नुपर्ने चिकित्सकको भनाई छ । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केही व्यक्तिमा ज्वरो आउने, वान्ता हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने स्वास्थ्य चौकी सासापुरका डा. आलोक झाले बताउनुभयो । हात्तीपाइले रोगविरुद्ध आइभरमेक्टिन, डाइइथाइल कार्वामाजिन र अल्बेन्डाजोल गरी तीनप्रकारका औषधि प्रयोग हुन्छन् । यि औषधि विभिन्न स्वास्थ्य चौकी, विद्यालय र पालिकाहरुले निर्धारण गरेको बुथबाट स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका खटिएर खुवाउने छन् ।
यो अभियानका लागि सर्लाहीमा ५२५ जना स्वास्थ्यकर्मी र १ हजार ३५६ महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ । औषधि खुवाउने अभियानभर प्रत्येक क्षेत्रमा डा. समेत परिचालन गर्ने स्वास्थ्य कार्यालयको योजना छ । सर्लाहीमा गत वर्ष ७ लाख ६२ हजार ६८४ जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो ।
सर्लाहीसहित महोत्तरी, धनुषा, रौतहट, झापा, कपिलवस्तु र रसुवा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान संचालन भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच