जिल्ला प्रशासन कार्यालय सर्लाहीले अब सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अब सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै अब सार्वजनिक बिदा, पर्व बिदा, दिवस बिदा र जन्मजयन्ती बिदाका दिन पनि आधारभूत सेवा (नागरिकता, राहदानी र राष्ट्रिय परिपत्र सम्वन्धी) सेवा प्रदान गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय मातहत रहेको बरहथवा र हरिवनमा रहेका इलाका प्रशासन कार्यालय पनि सार्वजनिक बिदाका दिन खुल्ने भएका छन् ।

नेपाल सरकारको २०८० वैशाख २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार २०८१ साल वैशाख १ गतेदेखि २०८१ चैत मसान्तसम्म सार्वजनिक बिदाका दिन पनि कार्यालय खोलेर सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी गराउनु भएको हो ।

सोही अनुसार वैशाख ५ गते विवाह पन्चमीका दिन जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयले सेवा प्रवाह गरेका थिए । सहायक सीडीओ घिमिरेले हस्ताक्षर गरी जारी गर्नुभएको सूचनामा जेठ १० गते उभौली, चण्डी पूर्णिमा, वैशाख पूर्णिमा र वुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ ३ गते रक्षावन्धन, भदौ १० गते श्रीकृष्ण जन्माष्टमी र असोज १७ गते घटनास्थापनाको दिन जिल्ला प्रशासन कार्यालय खुल्ने छ । त्यसैगरी पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, माघ १ गते माघे संक्रान्ति, माघ १६ गते शहीद दिवस, माघ १७ गते सोनाम ल्होसारमा कार्यालय बन्द हुने छैन् ।

त्यस्तै फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते ग्याल्पो ल्होसार र फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवसका दिन जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने छ । नेपाल सरकारले निर्णय गरी सार्वजनिक बिदा दिएको इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र र इद उल अजहामा पनि कार्यालयले सेवा प्रवाह गर्ने सूचनामा उल्लेख छ ।

राजपत्रमा उल्लेखित अन्य सार्वजनिक बिदा र शनिबारका दिन भने कार्यालय बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?