फोब्र्सको एकसय प्रभुत्वशाली महिलाको सूचीमा भारतका ६ जना

Read Time = 5 mins

नयाँदिल्ली । अमेरिकी पत्रिका फोब्र्सले हरेक वर्ष विभिन्न विधाका एकसय प्रभुत्वशाली व्यक्तिहरूको सूची सार्वजनिक गर्नेगर्छ । यस वर्ष पनि फोब्र्सले विश्वभरिका एकसय प्रभुत्वशाली महिलाको सूची प्रकाशित गरेको छ । यसमा ६ जना भारतीय महिलाको नाम छ ।

यो वर्ष फोब्र्सको शक्तिशाली महिलाको सूचीको पहिलो नम्बरमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनको नाम छ । ६४ वर्षीया लेयनले रुस–युक्रेन युद्ध सुरु भएको एक हप्तापछि नै रुसविरुद्ध तीन ठूला आर्थिक प्रतिबन्ध घोषणा गर्नुभएको थियो । उहाँले युरोपेली आयोगको केन्द्रीय बैंकसँग लेनदेन प्रतिबन्ध, रुसी विमान उडानका लागि हवाई क्षेत्र बन्द र क्रेमलिनको स्वामित्वमा रहेका समाचार एजेन्सीलाई प्रतिबन्ध लगाउनुभएको थियो ।

यस्तै इरानमा प्रहरी हिरासतमा ज्यान गुमाउनुभएकी महसा अमिनीको नाम यो सूचीको अन्तिममा रहेको छ । महसाको मृत्युले इरानमा अभूतपूर्व महिला नेतृत्वको क्रान्तिलाई जगाएको छ । उहाँको तस्वीर भएको प्लेकार्ड बोकेर इरानका सडकमा अझै विरोध प्रदर्शन जारी छ । सूचीको दोस्रो नम्बरमा जर्मनीकी ६६ वर्षीया क्रिस्टियन लागार्डको नाम छ । उहाँ सन् २०१९ नोभेम्बर १ मा युरोपेली केन्द्रीय बैंकको प्रमुखमा पहिलो महिलाका रूपमा चर्चामा आउनुभएको थियो । लागार्डले युरोपेली मौद्रिक नीतिको प्रमुखका रूपमा कोरोनाभाइरस महामारीको समयमा समस्याको सामना गर्नुपरेको थियो ।

तेस्रो नम्बरमा भारतीय आमा र अफ्रिकी पिताबाट जन्मिनुभएकी अमेरिकाको पहिलो अश्वेत वर्णकी र दक्षिण एसियाली अमेरिकीका रूपमा उपराष्ट्रपति कमला हृयारिस पर्नुभएको छ । यस्तै, चौथो नम्बरमा जेनरल मोट्र्सकी सिईओ मेरी बाराको नाम छ । २०१४ देखि यसको सिईओ रहनुभएकी बाराको नेतृत्वमा यो कम्पनीले २०१८ को लैंगिक समानताको रिपोर्टमा अत्यधिक अंक ल्याएको थियो । यो महिला र पुरुषमा समान तलब दिनेमा विश्वव्यापी दुई कम्पनीमध्ये एक थियो ।

त्यस्तै पाँचौँ नम्बरमा फाइडेलिटी इन्भेस्टमेन्टकी सीईओ अबिगेल जोनसन पर्नुभएको छ । यस्तै ३६औं नम्बरमा भारतीय अर्थ मन्त्री निर्मला सीतारमण पर्नुभएको छ । यो भन्दा पहिला सीतारमण ३७औं स्थानमा हुनुहुन्थ्यो । यो लिष्टमा उहाँ चौथो पल्ट पर्न सफल हुनुभएको हो ।

सीतारमणसँगै यो लिष्टमा पर्ने भारतीय महिलामा एचसीएल टेककी चेयरपर्सन रोशनी नादर मल्होत्रा ५३औं स्थानमा, सिक्योरिटी एण्ड एक्स्चेन्ज बोर्ड अफ इण्डियाकी चेरपर्सन माधवी पुरी बुच ५४औं स्थानमा, स्टील अथरिटी अफ इण्डियाकी चेयरपर्सन सोमा मण्डल ६७औं स्थानमा, बायोकाँन की एग्जिक्युकेटिभ चेयरपर्सन किरण मजुमदार ७२औं स्थानमा र नाइका की फाउण्डर फाल्गुनी नायर ८९ स्थानमा हुनुहुन्छ ।

फोब्र्सको यो सूचीमा अमेरिकी गायिकाहरू रिहानाको नाम ७३औं नम्बरमा, टेलर स्वीफ्ट ७९औं र बियोन्सेको नाम ८०औं नम्बरमा समावेश छ । फोब्र्सको यो सूचीमा ३९ सीईओ, १० राष्ट्रप्रमुख र ११ अर्बपति परेका छन् । चार मुख्य विषयलाई आधार मानेर सूची तयार गरिएको फोब्र्सले जनाएको छ । पैसा, मिडिया, प्रभाव र प्रभावको क्षेत्रलाई आधार मानिएको थियो । राजनीतिक नेताहरूका लागि फोब्र्सले घरेलु उत्पादन र जनसंख्याबाट मूल्यांकन गरेको थियो ।

कर्पोरेट व्यक्तिहरूका लागि राजस्व र कर्मचारीको गणना तथा मिडियामा उल्लेख भएका र पहुँचलाई ध्यान दिइएको थियो । यो नतिजा यथास्थितिसँग लडिरहेका महिलाको संग्रह रहेको फोब्र्सको भनाइ छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?