सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्याः चन्द्र ढकाल

Read Time = 5 mins

काठमाण्डाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताउनुभएको छ ।

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष ढकालले मन्त्रालय र सरकारी निकायहरुबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताउनुभएको हो । उहाँले नयाँ बन्ने सरकारले अन्तरमन्त्रालय र सरकारी निकायबीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले नेपालको आर्थिक विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले उठाएका मागहरु निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसावले प्रचार भइरहेको भन्दै यस्ता प्रचार गर्न नहुनेतर्फ सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सरकारको निकायहरु सरकारी निकायहरु अन्तरमन्त्रालय, मन्त्रालय विभागको पनि समन्वय हुन सकेका छैन । विभागले गर्ने कामहरुको समन्वय हुन सकेको छैन । आगामी सरकारले सानासाना समस्याहरुबाट नेपालको आर्थिक विकासको सहकार्य गर्ने कुरामा प्राथमिकता दिनुपर्छ । निजी क्षेत्रले उठाएको चिजहरु निजी क्षेत्रका लागि मात्रै हो भन्ने गलत प्रचार भइरहेको छ । नेपालको अर्थतन्त्र सही हिसावले अघि बढेन भने प्रत्येक व्यक्तिको आम्दानीमा कम हुनेछ । पर्यटन पवद्र्धनका कुराहरुमा समस्या देखिनेछ । निजी क्षेत्रले उठाएका कुराहरुको गलत प्रचार भइरहेको छ । यस्तै अवस्था रहने हो भने देशकै लागि समस्या सिर्जना हुन्छ ।’

कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवालले निजी क्षेत्रलाई तरलता र उच्च ब्याजदरको समस्या बढी भएको बताउनु भयो । उहाँले निजी क्षेत्रमा विभिन्न कारणले भइरहेको भन्दा धेरै तरलतामा संकुचन आएको बताउनु भयो । उहाँले पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भइरहेको पनि बताउनु भयो । उहाँले यही अवस्था भइरहे उद्योगी व्यवसायीहरु पुसपछि आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । उहाँले सरकारले निजी क्षेत्रको संरक्षण्को बाटो निकाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई परेको समस्या भनेको तरलता र उच्च ब्याजदरको समस्या हो । २०७९ को वैशाखदेखि तरलताको उच्च ब्याजदर र तरलताको अभावले र कोभिड १९ र रुस युक्रेन युद्धले निजी क्षेत्रको तरलताका काममा धेरै ठूलो वृद्धि भएको छ । कोभिडले २० प्रतिशत जति तरलता संकुचन भयो । हाम्रो भइरहेको तरलतामा झनै संकुचन भयो । पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भएको छ । धेरै कठिन भइरहेको छ । पुसपछि यही अवस्था रहे सञ्चारमाध्यममा सम्पती लिलामीकै कुराहरु आउनेछन् । उद्योग व्यवसाय बन्द हुने र व्यवसायी आन्दोलनमा जानुपर्ने अवस्था भएको छ । सरकारले निजी क्षेत्रको संरक्षणका लागि बाटो निकाल्नु पर्छ ।’

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई अर्थतन्त्रको प्रमुख अंग बनाउने दिशातर्फ डोर्‍याउनलाई धितोपत्र बोर्डले पारदर्शिता, व्यवसायिकता, प्रतिष्पर्धाको माहोल निर्धारण गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजारलाई अर्थतन्त्रको प्रमुख अंग बनाउने दिशातर्फ डोर्‍याउनलाई हामीले यसको पारदर्शिता, व्यवसायिकता, प्रतिष्पर्धाको माहोल निर्धारण गरोस् भन्ने वातावरण सिर्जना गरिरहेका छौँ ।’

अध्यक्ष हमालले धितोपत्र बजारलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने गरी काम गरिरहेको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?