पर्यटक तान्दै पाल्पाको ‘चुलीडाँडा वन’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भिड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडीबुटी, जनावर, पक्षीको अवलोकन गर्न पाइन्छ । घुम्न बेग्लै मज्जा आउने गरेको यहाँ पुग्नेहरू बताउँछन् । यहाँ खासगरी बिदाका दिन कर्मचारी, शिक्षक, विद्यार्थी, युवायुवतीहरू पुग्ने गर्छन् । आफ्ना प्रेमीसँगै चुलीडाँडा पुगेकी एक युवतीले अत्यन्त रमणीय ठाउँ रहेको बताउनुुभयो । कामकाजी युवायुवतीले ‘फ्रेस’ हुन चुलीडाँडा नै रोज्ने गरेका छन् । कार्यालयको कामले हैरान भएका बेला चुलीडाँडा घुम्नु आनन्द हुने कवुलियत वनका सचिव भीमबहादुर सारुले बताउनुुभयो ।

‘निरन्तर कामले हैरान भएका बेला बिदाको दिन पारेर चुलीडाँडा घुम्न गए अर्कै संसार पुगेको अनुभूति हुन्छ,’ उहाँले भन्नुुभयो, ‘रमणीय ठाउँ भएकाले पनि चुलीडाँडा सबैको रोजाइमा परेको हो ।’ यो वनलाई पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण भएकाले यसको संरक्षण र प्रवद्र्धनमा आफूहरू लागेको उहाँले बताउनुुभयो । प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन सम्भावना रहेको ढोलीमारा चुलीडाँडा कवुलियती वनलाई पर्यापर्यटन गन्तव्यको रूपमा विकास गरिएको छ । चारैतिर अम्लिसो र जडीबुटीको जंगलले घेरिएको अग्लो स्थानमा चुलीडाँडामा पर्यटक लक्षित संरचना निर्माण गरिएका छन् ।

पूर्वखोला गाउँपालिका, डिभिजन वन कार्यालय पाल्पा, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, जनश्रमदान र चन्दादाताहरूबाट रकम संकलन गरेर चुलीडाँडालाई पर्यटकीय गन्तव्य बनाउन लागेको वनका सचिव सारुले बताउनुुभयो । जंगली जनावर खरायो, मृग र विभिन्न प्रजातिका चराचुरुङ्गी बासस्थान चुलीडाँडाबाट निकै लामो हिमशृंखला अवलोकन गर्न सकिन्छ । यहाँ वनभोज क्षेत्र, पार्किङ स्थल, पिङ, सेल्फी प्वाइन्ट, भ्युटवार, प्रतीक्षालय, बस्ने बेञ्चहरू निर्माण गरिएको छ । जोखिम क्षेत्रमा तारजाली राख्ने, शौचालय, खानेपानी तथा बिजुली बत्तीको सुविधा पुर्‍याउने काम भएको छ । झण्डै ३० लाखको हाराहारी खर्च गरेर पर्यटकीय पूर्वाधार निर्माण गरेपछि ढोलीमारा चुलीडाँडालाई पर्यापर्यटनको गन्तव्यको रूपमा शुभारम्भ गरिएको छ । वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशमा सचिव उद्धवबहादुर घिमिरेले चुलीडाँडाको पर्यटन विकासलाई गुरुयोजना निर्माण गरेर थप व्यवस्थित गर्न सके उत्कृष्ट गन्तव्य बन्ने बताउनुुभयो । घाटु, झ्याउरे सहितका मगरी नृत्य र मगरी खानाका परिकार, भेषभुषा र रहनसहनले धेरै पर्यटकलाई लोभ्याउने सम्भावना छ । चुलीडाँडा र ढोलीमारा होमस्टेको बीचमा पर्ने किवी पकेट क्षेत्र, प्लाष्टिक टनेल सहितको तरकारी खेती हेर्नलायक छ ।

राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशमा सचिव उद्धवबहादुर घिमिरे, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवाली सहितको टोलीले चुलीडाँडालाई पर्यापर्यटनको शुभारम्भसमेत गर्नुभएको छ । यहाँ घुम्न आउने पर्यटकलाई लक्षित गरेर ढोलीमारमा १२ घरमा मगर होमस्टे सञ्चालन गरिएको छ ।

पर्यटन विकाससँगै स्थानीय समुदायको जीवनस्तर उकास्नका लागि गाउँपालिका लागिपरेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुुभयो । वन संरक्षण, सम्वद्र्धन, दिगो विकास र सशक्तिकरणमा उत्कृष्ट कार्य गरेकाले ढोलीमार चुलीडाँडा कवुलियती वनले आ.व. २०७८/०७९ मा वन तथा भू-संरक्षण विभागले प्रदान गरेको एक लाखको कवुलियती वन राष्ट्रिय पुरस्कारबाट समेत प्राप्त गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीले बताउनुुभयो । पछिल्लो समय जिल्लाका अधिकांश सामुदायिक र कवुलियती वनहरूले संरक्षणसँगै वनलाई वैकल्पिक क्षेत्रमा प्रयोग गर्न थालेका छन् । उनीहरूले वन संरक्षणमा जुटेका उपभोक्ताहरूको रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्न वनलाई पर्यटन विकाससँग जोड्न थालेका हुन् । अहिले यहाँ संरक्षित वनहरू पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?