म्याग्दी । १२ वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बंगुरपालन सुरु गर्नुभएका बेनी नगरपालिका–७ मंगलाघाटका रणबहादुर विश्वकर्मा प्रसन्न हुनुहुन्छ । बंगुरपालन व्यवसायबाट आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर मासिक एक लाखभन्दा बढी आम्दानी हुन थालेपछि उहाँको अनुहारमा चमक त थपिएको छ नै विदेशको भन्दा बढी कमाइ भएपछि आर्थिक अवस्था पनि बलियो बन्दै गएको छ ।
विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । बिहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुबाउने र खोर सफा गरेपछि बंगुर खरिदका लागि खोरमा नै आएका व्यापारी तथा ग्राहकहरूसँग उहाँको समय बित्ने गर्छ । ‘विदेश पनि भोगियो, त्यहाँ कहिल्यै सन्तुष्ट हुन सकिएन । तर, आफ्नै गाउँघरमा गरेको व्यवसायबाट अपार खुसी मिलेको छ । परिवारका सबै सदस्यहरू आफ्नै घरमा बसेर सँगसँगै काम गर्नुको मज्जा नै बेग्लै हुँदोरहेछ,’ विश्वकर्माले भन्नुभयोे ।
बंगुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बंगुरपालन व्यवसाय सुरु गरेको विश्वकर्माले बताउनुभयो । विदेशमा १२ वर्ष दुःख गरियो, विश्वकर्माले भन्नुभयो, ‘विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिनेरहेछ ।’ बंगुरपालन व्यवसायबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।
विश्वकर्माका अनुसार सुरुमा दुई लाख पचास हजार लगानी गरेर सुरु गरेको बंगुरपालन व्यवसायमा अहिले करिब ५० लाख लगानी रहेको छ । खोर निर्माण गर्न र अन्य प्राविधिक समस्याहरू समाधान गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बंगुरजोन कार्यक्रमले सघाइरहेकाले आगामी दिनमा फार्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले जानकारी दिनुभयो । उहाँको फार्ममा अहिले माउ बंगुर १३, भाले बंगुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० गरी ३६ वटा बंगुर रहेका छन् । दानापानी राम्रो खुबाउन सकियो भने ८ देखि १२ महिनामा एक सय केजीसम्मको बंगुर हुने उहाँले बताउनुभयो ।
दानाको व्यवस्थापन गर्न सकेमा पैसा कमाउन बंगुरपालन व्यवसाय राम्रो हुने उहाँको भनाइ छ । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाललगायत संकलन गरेर दानाका रूपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने विश्वकर्माको भनाइ छ ।
महिनामा १४ वटासम्म बंगुर बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । बंगुरको मासु पसलमा प्रतिकेजी ३५० रुपैयाँमा बिक्री हुने गरेको छ । बंगुरको मासु बजारमा पुर्याउन सकिएको छैन । मागअनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माको भनाइ छ । गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार आठ सय रुपैयाँ बंगुरपालक किसानहरूलाई खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न गोबर ग्याँस प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बंगुरजोनका पशु प्राविधिक बलबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३५ वटा बंगुरका फार्म सूचीकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसानहरू उत्साहित भएको र बंगुरपालन व्यवसायप्रति युवाहरूको आकर्षण बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच