राष्ट्रपति बनाउने आश्वासनमा पौडेल देउवाको प्रस्तावक बसेको चर्चा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको लागि दावी गर्नुभएको छ । विशेष स्रोतका अनुसार पौडेलले सो पदका लागि पार्टी सभापति शेरबहादुर देउवालाई मनाइसक्नुभएको छ ।

अहिले संसदीय दलको चुनाव भइरहेकाले उम्मेद्वार दुई जना (शेरबहादुर देउवा र गगन थापा) बीच उहाँ देउवा पट्टी खुल्नु भएको छ । देउवाको प्रस्तावकमा पौडेल रहनुभएको छ भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ ।

आफैँ प्रधानमन्त्री बन्न पार्टीभित्र तथा बाहिर लबिङ थाल्नुभएको कांग्रेस नेता पौडेल सभापति देउवालाई संसदीय दलको नेता बनाउन प्रस्तावक बस्नुको पछाडि राष्ट्रपतिकै आश्वासनले काम गरेको स्रोतले बतायो ।

यसअघि संस्थापन इतर समूहको नेतृत्व गर्दै आउनुभएका पौडेल पार्टीको १४ औं महाधिवेशनमा इतर समूहबाट सभापति उठ्न नपाएपछि मौन बस्नुभएको थियो । त्यसपछि सभापति देउवासँग नजिकिनु भएका पौडेल अहिले संस्थापन पक्षमा औपचारिक रुपमै खुल्नुभएको छ ।

पार्टीभित्र सभामुख र राष्ट्रपति कांग्रेसले लिने र प्रधानमन्त्री माओवादी केन्द्रलाई दिने भन्ने चर्चा चलिरहेको स्रोत बताउँछ ।

यता विलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला पनि देउवा पक्षमा उभिनुभएको छ । गगन थापाको पक्षमा शेखर कोइराला, उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा देखिनुभएको छ ।

यता, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि थापाको पक्षमा खुल्नुभएको छ । उहाँ नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बन्नुभएको छ । थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गर्नुभएको छ । कांग्रेस उपसभापति गुरुङ र महामन्त्री शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बस्नुभएको छ ।

यसैबीच, सभापति देउवा र महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेर दुबै नेताले उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन भोलि हुँदै छ ।

मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?