दाङ आइपुगे सबै मन्त्रालय

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएसँगै बाँकी रहेका मन्त्रालयहरू धमाधम राजधानी क्षेत्रमा सर्न थालेका छन् । प्रदेश सरकारले राजधानीमा मन्त्रालयहरू स्थापना गर्न सम्बन्धित मन्त्रालयहरूमा निर्देशन जारी भएपछि मुकाम बुटवलमा रहेका मन्त्रालयहरू धमाधम राजधानी क्षेत्रमा सर्न थालेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि अन्य मन्त्रालयको कार्यालय स्थापना हुने क्रम बढेको छ । १३ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालय प्रदेश राजधानी परिसरभित्र स्थापना हुने क्रममा छन् । बाँकी सातवटा मन्त्रालय परिसर बाहिरका सरकारी भवनमा स्थापना हुन थालेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो । ‘मुख्यमन्त्री कार्यालय स्थापना भएको परिसरभित्र ६ वटा मन्त्रालय रहनेछन् । बाँकी मन्त्रालयहरू यो परिसर बाहिर राखिनेछ’, उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री कार्यालय स्थापना भइसकेपछि बाँकी मन्त्रालयहरू स्थापनाको कामले गति लिएको छ ।’

मंसिर २८ मा मुख्यमन्त्री कार्यालय स्थापना हुनुअघि राजधानी क्षेत्रमा दुईवटा मन्त्रालय थिए । बाँकी ११ वटा मन्त्रालयका कार्यालय राजधानी क्षेत्रमा स्थापना हुने क्रम चलिरहेको छ । मुकाम बुटवलमा रहेको कार्यालयबाट सामानहरू सारिएको छ । मन्त्रालयको बोर्ड राख्ने, कार्यालय भवन तयार पार्ने, फर्निसिङका सामानहरू मिलाउने काम चलिरहेको हो । मुख्यमन्त्री कार्यालय परिसरभित्र पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय स्थापना गरिएको छ ।

अबको एक महिनाभित्र यी मन्त्रालयले पूर्णरूपमा काम सुरु गर्ने तयारी छ । बाँकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय परिसरबाहिर स्थापना गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राप्ती गाउँपालिका-१ को कार्यालय भालुबाङमा, कृषि तथा भूमि व्यवस्था मन्त्रालय वडा नं. २ को कार्यालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालयमा स्थापना गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय राप्ती गाउँपालिका-८ को कार्यालयमा, स्वास्थ्य मन्त्रालय वडा नं. ५ को कार्यालयमा स्थापना गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लमही नगरपालिका वडा नं. १ स्थित छात्रावासमा स्थापना गरिएको छ ।

राप्ती गाउँपालिका-८ को कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्रालय स्थापना गरिएको छ । वडा कार्यालयको माथिल्लो तलामा मन्त्रालय राखिएको हो । वडा कार्यालयलाई अन्यत्र व्यवस्थापन गर्ने योजनाका साथ मन्त्रालय स्थापना गरिएको छ । बुधबार मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली सहितका कर्मचारी मन्त्रालयको सामग्रीसहित यहाँ आइपुग्नु भएको हो । ‘राजधानी कार्यान्वयनको लागि मन्त्रालयहरू स्थापना हुने क्रम जारी छ । हामीले पनि राजधानी क्षेत्रमा मन्त्रालय स्थापना गर्‍यौँ’, उपसचिव ज्ञवालीले भन्नुभयो, ‘अब केही दिनभित्र मन्त्रालयको कामकाज यहीँबाट थालनी हुन्छ ।’ अहिले मन्त्रालयको बोर्ड स्थापना गर्ने र मन्त्रालयको कार्यालय तोक्ने काम भएको छ । पूर्णरूपमा मन्त्रालयको कामकाज सुरु गर्न केही समय लाग्ने देखिएको छ ।

‘राजधानी कार्यान्वयनको लागि मन्त्रालयहरू स्थापना गर्न, विभागहरू स्थापना गर्न सरकारी भवन प्रयोग गर्न दिने निर्णय भएअनुसार कामले तीव्रता पाएको छ’, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भन्नुभयो, ‘वडा कार्यालयहरूको भवन मन्त्रालयका लागि दिने भनेर पहिले नै निर्णय भइसकेको हो । अहिले ती कार्यालयमा मन्त्रालयहरू स्थापना हुने क्रम सुरु भएको छ । सबैजसो मन्त्रालयले आफ्नो कार्यालय राजधानीमा स्थापना गर्न आइसकेको अवस्था छ । कार्यालय व्यवस्थापन गरेर काम सुरु गर्न मात्रै बाँकी छ ।’

विभाग र निर्देशनालय पनि स्थापना गरिँदै
प्रदेश राजधानी क्षेत्रमा सबैभन्दा पहिला स्थापना हुने कार्यालय प्रदेश पूर्वाधार विकास प्राधिकरण हो । यो कार्यालयले राजधानीसँग जोडिएको गुरुयोजना तयार पार्ने, प्रदेशका अन्य गौरवका आयोजनाको योजना बनाउने काम गरेको छ । त्यसपछि सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरियो । शिक्षा तथा सामाजिक विकास निर्देशनालय मसुरियामा स्थापना गरिएको छ । स्वास्थ्य निर्देशनालय पनि भालुबाङमा राखिएको छ । प्रदेश योजना आयोगको कार्यालय र मुख्य न्याधिवक्ताको कार्यालय मुख्यमन्त्री कार्यालय परिसरमा राखिएको छ । यस्तै, प्रदेश लेखा नियन्त्रकको कार्यालय राप्ती गाउँपालिका कार्यालयमा स्थापना गरिएको छ । अन्य निर्देशनालय तथा कार्यालयहरू राजधानी क्षेत्रमा स्थापना गर्न थालिएको छ ।

सिँगारिँदै संसद् भवन
लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो संसद् बैठक स्थायी राजधानी राप्ती उपत्यकामा बस्दै छ । जसका लागि संसद् भवन सिँगार्ने काम चलिरहेको छ । नयाँ सभाहल भएकाले भित्री र बाहिरी परिसर तयार पार्ने काम चलिरहेको हो । राजधानी परिसर क्षेत्रभित्र प्रशासनिक केन्द्र र सदन रहेको छ । प्रदेशसभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्ट्रम बनाउने काम बाँकी छ । बाहिरीअन्तर्गत रङरोगन गर्ने काम चलिरहेको छ । प्रदेशसभा सचिवालय तयार पार्ने, संसदीय दलको कार्यालय व्यवस्थापनको काम चलिरहेको छ । ‘आफ्नै प्रदेशसभा भवनबाट सदन चलाउने योजनाअन्तर्गत काम अघि बढिरहेको छ’, प्रदेशसभा सचिव दुर्लभकुमार पुनले भन्नुभयो, ‘प्रदेश प्रमुखबाट संसद् बैठक आह्वान हुन्छ । त्यसपछि प्रदेशसभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्नेछ’, उहाँले भन्नुभयो- ‘सदनको सबै काम राजधानीबाटै हुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?