फुटपाथ र नाला अतिक्रमण गरी घर निर्माण

पूर्व संविधानसभा सदस्य लालबाबु सिंह भूमिहारले सार्वजनिक सडकको फुटपाथ तथा नाला अतिक्रमण गरी बनाएको भर्‍याङ ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । पावर र पैसाले मानिसको मन भ्रमित गर्दछ । पावर र पैसाले घमण्ड पनि बढाउँछ । यसले समाजमा उच्छृंखलता बढ्ने कुरा बुढापाकाहरूले भन्ने गर्दछन् । धन बढेको राम्रो तर मन बढ्नु नराम्रो हो भन्ने भनाइ नै छ । यही भनाइलाई पूर्व संविधानसभा सदस्य लालबाबु सिंह भूमिहारले प्रमाणित गर्नुभएको छ । नेपाली कांग्रेसबाट पूर्व संविधानसभा सदस्यमा जित्नुभएका भूमिहार २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव लड्नुभएको थियो र संयोगवश उहाँले हार बेहोर्नुपर्‍यो ।

उहाँ लामो समयदेखि नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आउनुभएको थियो । तर, यसपाली भएको चुनावमा उहाँ लोसपामा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यको टिकट पनि पाउनुभएको थियो । बाराको सदरमुकाम कलैयास्थित घण्टाघर नजिकै उहाँको सिंह कम्प्लेक्स भवन छ । जुन भवन निर्माण गर्दा पैसा र पावरको भरमा सार्वजनिक नालासमेत मिचेर निर्माण गरिएको छ ।

नाला र फुटपाथ मिचेर निर्माण गरिएको भ¥याङको विरोध नभएको होइन । पटक-पटक विरोध भयो, एकचोटी कलैया उपमहानगरपालिकाले भवनभित्र प्रवेश गर्ने भ¥याङलाई तोडफोड पनि गरेको थियो तर समय बित्दै गयो र फेरि जस्ताको त्यस्तै भयो । उहाँले फेरि पनि नाला र फुटपाथ मिचेर भ¥याङ निर्माण गरेको कलैया उपमहानगरपालिका-१ घण्टाघर नजिकै मिठाई पसल सञ्चालन गर्दै आउनुभएका सुरेश साहले बताउनुभयो । ‘अहिले कलैया बजारभित्र जाने मूल सडकको निर्माण सुरु गरिएको छ,’ उहाँले भन्नुभयो, ‘सडक निर्माण सुरु भएपछि बजारभित्र किनमेल गर्न आउनेजाने मानिसहरूलाई फुटपाथ मिचेर बनाइएको भर्‍याङले दुःख दिएको छ ।’ नाला र फुटपाथ मिचिएका कारण आवतजावतमा निकै समस्या भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

आफूले आफ्नो पाँच फिट जग्गा छाडेर घर निर्माण गरेको लालबाबु सिंह भूमिहार बताउनुहुन्छ । ‘पहिला यहाँ दुईवटा नाला थिए, एउटा नगरपालिकाले निर्माण गरेको र अर्को मेरो आफ्नो घरको’, उहाँले भन्नुभयो, ‘मैले घर निर्माण गर्दा आफ्नो नालाभन्दा पनि अरू जग्गा छाडेर निर्माण ग¥यौँ । घर निर्माणको बेलामा नगरपालिकाबाट नक्सा पास गराएको छु ।’ आफ्नो जग्गा नापजाँच गरेर अगाडि पाँच फिटभन्दा बढी जग्गा छाडेर घर निर्माण गरेको उहाँले बताउनुभयो । तर, नगरपालिकाले फुटपाथ बनाउने बेलामा जग्गा चाहियो भनेर चिनो लगायो । त्यो जग्गा पनि दिएँ । उनीहरूले मेरो घरअगाडि रहेको भर्‍याङ पनि तोडफोड गरे । मैले केही भन्न गइनँ । तोडफोड गर्दा घरभित्र आउनजान समस्या भएका कारण अहिले तत्कालका लागि भर्‍याङ निर्माण गरिएको छ ।

केही समयअगाडि नै यसलाई व्यवस्थित गर्न सोचेका थियौंँ तर प्रतिनिधिसभाको निर्वाचनमा होमिएका कारण निर्माण गर्न सकिएन । जति चाँडो हुन्छ नगरपालिकासँग समन्वय गरेर भर्‍याङको व्यवस्थापन गरी फुटपाथ र नाला खाली गरिने उहाँले हिमालय टाइम्सलाई भन्नुभयो ।
‘फुटपाथ अतिक्रमण गरी बनाइएको घरको व्यवस्थापन गर्न, गराउन हामी लागिपरेका छौँ,’ कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले बताउनुभयो । यो समस्याको समाधान केही दिनभित्रै हुने उहाँले जानकारी दिनुभयो । हामी घरधनीलाई चाँडोभन्दा चाँडो फुटपाथ र नाला अतिक्रमण गरी बनाइएको भ¥याङ भत्काउन जानकारी गराएका छौँ । उहाँले केही दिनभित्र भर्‍याङ भत्काएर फुटपाथ र नालाको अतिक्रमित जग्गा छोड्ने जानकारी दिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?