नेकपा एमालेसँग तत्काल एकता सम्भव नरहेको नेकपा एसको निष्कर्ष

सरकारमा सहभागिताबारे दुई धार

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ । काठमाडौंमा जारी पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरू नेकपा एमालेसँगको एकताको विपक्षमा उभिएका छन् । स्थायी कमिटी बैठकमा एमालेसँगको एकताको विषयले प्रवेश नै नपाएको तर एकताको हल्ला एमालेकै केही नेताहरूले चलाएको टिप्पणी गर्दै उपमहासचिव गंगालाल तुलाधरले भन्नुभयो, ‘एकताको कुरा एमालेका केही साथीहरूले चलाएको हल्ला मात्रै हो । एकता हुन्छ भन्ने कुरामा दुवै पक्षबाट कुनै पहल भएको छैन । केही नेताको रहरले एकता हुने होइन । नेताहरूबीच भेटघाट भएको हो । तर, एकतालाई लिएर कुनै कुरा भएको छैन ।’

एमाले उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्नुअघि एकताका लागि सक्रिय भएको स्वीकार गर्दै उपमहासचिव तुलाधरले भन्नुभयो, ‘उहाँहरूसँग एकताका लागि सक्रिय हुनुभएको थियो । तर, विष्णु पौडेलजी मन्त्री भइसकेपछि त्यस विषयमा सक्रिय हुनुहुन्न । अहिलेकै अवस्थामा हामी कसैसँग एकता हुने विश्वासमा छैनौँ । हामी अहिले पार्टी पुनर्निर्माण अभियानमा छौँ । हाम्रो जोडबल पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो ।’

नेकपा माओवादी केन्द्रसँग एकताका लागि गत भदौमै संयोजन समिति बनाउने निर्णय गरिए पनि त्यसले खासै गति नलिएको जिकिर गर्दै तुलाधरले भन्नुभयो, ‘हामीले एकपटक एकताको पहल गरेको पनि हो । तर, माओवादीबाट खासै गम्भीर कुरा आएन । अहिले हाम्रो लक्ष्य कुनै पद प्राप्तिभन्दा पार्टी बलियो बनाउने हो । हामी तत्कालै एकताको पक्षमा छैनौँ । बैठकमा बोल्ने अधिकांश नेताहरूको मत पनि त्यही छ ।’

वाम एकता र सरकारमा सहभागी हुने–नहुने विषयमा नेताहरूको मत बाझिएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूले एमालेसँग एकताको प्रस्ताव नगरेको, त्यसमा रुचि नभएको र त्यो विशुद्ध हल्ला मात्र भएको जिकिर गर्नुभएको छ । तर, एमालेसँग ढिलोचाँडो मिल्नुको विकल्प नभएको भन्दै पार्टी सचिव रामकुमारी झाँक्रीलगायत अन्य केही प्रभावशाली नेताहरूले पनि एमालेमै फर्किनुपर्ने मत राखेको एक स्थायी कमिटी सदस्यको भनाइ छ । यद्यपि, पार्टी अध्यक्ष माधव नेपाल एमालेसँग एकताको पक्षमा देखिनुभएको छैन । अध्यक्ष नेपालको जोड एमाले नेता भीम रावल, पूर्वएमाले नेता घनश्याम लगायतलाई नेकपा एसमा ल्याएर पार्टीलाई अझ मजबुत बनाउनुपर्नेमा छ ।

हठातमा पार्टी एकता गरे बिल्लीबाठ हुनसक्छ : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू यतिबेला कुनै पार्टीमा विलय नहुने प्रष्ट्याउनुभएको छ । काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका सम्मानित नेता खनालले आफूहरू कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा नरहेको उल्लेख गर्नुभएको छ । खनालले पेस गर्नुभएको प्रतिवेदनमा भनिएको छ, ‘केही खास नेताहरूका सनक वा लहड वा महत्वाकांक्षाका आधारमा हठात गरिने एकताले कति दुःखदायी परिणामहरू जन्मिन सक्छन् भन्ने कुरा विगत तीन वर्षको अवधिमा भोगिसकेका छौँ । त्यस्ता कुराले हजारौँ योद्धाहरूका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ । हामीले त्यस्ता दुर्घटनाहरूबाट गहिरो शिक्षा लिनुपर्छ ।’

गत मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीले अनपेक्षित नतिजा पाएपछि नेकपा एसमा एमालेसँग एकता गर्नुपर्ने मत दिनप्रतिदिन बढिरहेको छ । नेकपा एसले निर्वाचनमा १० सिट जिते पनि राष्ट्रिय दलको मान्यतासमेत पाउन सकेन ।

अधिकांश नेताहरू सरकारलाई समर्थन गर्ने पक्षमा
नेकपा एकीकृत समाजवादी पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने मत बलियो देखिएको छ । काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा सहभागी अधिकांश नेताहरूले सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका हुन् । बैठकमा बोल्ने अधिकांशले सरकारलाई समर्थन गर्ने पक्षमा मत राखेको जानकारी दिँदै पार्टी उपमहासचिव गंगालाल तुलाधारले भन्नुभयो, ‘हामी बीचमा सरकारलाई समर्थन दिनुपर्छ कि पर्दैन भन्ने मत आएको छ । तर, हामीले समर्थन नदिए पनि यो सरकारले निरन्तरता पाउँछ । हिजो पाँच दलीय गठबन्धन हुँदा सहकार्य भएकै प्रचण्ड प्रधानमन्त्री भएकाले समर्थन दिनु उपयुक्त हुन्छ कि भन्ने भएको छ । बोल्ने सबै साथीहरूको मत सरकारलाई सघाउने भन्ने छ ।’

सरकारमा जाने हतार नगर्न सुझाव
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यहरूले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा उनीहरूले सरकारलाई समर्थन गर्ने कुरा फरक भए पनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन् । प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्न आग्रह गरे पनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरू आएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । यसअघिकै सहकार्यमा रहेका दलहरूमध्ये माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै नयाँ सरकारको नेतृत्वमा पुगेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केही सदस्यहरूको जोड रहेको उहाँको भनाइ छ ।

जसपाको बैठक आज : सरकारमा जाने/नजानेबारे निर्णय गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आजदेखि सुरु हुँदै छ । बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जाने÷नजानेबारे निर्णय गर्नेछ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले आजदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको थियो । पार्टी प्रवक्ता मनीष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलहरूसँग वार्ता गर्न समिति गठन एजेण्डा तय गरिएको छ । कार्यकारिणी समितिको बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समितिसमेत बनाएको थियो । तर, त्यस समितिलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने सुमनको भनाइ छ । कार्यकारिणी समितिको बैठकले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?