सार्वजनिक रूपमै धामी झाँक्रीको प्रचारप्रसार, सम्बन्धित निकाय मौन

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । सदियौँदेखि चल्दै आएको धामी झाँक्री तथा झारफुक विधि गाउँघरमा मात्र होइन, यो विधि अब सहरमा पनि खुलेयाम रूपमा सुरु भएको छ । गाउँघरमा जरो गाडेका यस्ता प्रवृत्ति अब सहरमा पनि खुलेआम रूपमा प्रचार प्रसारका साथ सुरु गरिएको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका-१ स्थित भरतचौकमै झारफुक तन्त्रमन्त्र विधिको बारेमा तुल र व्यानर राखेर झारफुक विधिको प्रचारप्रसार गरिए पनि प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको देख्न सकिन्छ ।

चोकमा २४ सै घण्टा प्रहरीको गस्ती हुन्छ । यहाँ हरेक क्षण प्रहरी ड्युटीमा रहन्छन् तर पनि यस्ता प्रविधिको तुल ब्यानर राख्दासमेत कुनै सुनुवाइ नभएको नगरवासीहरूले गुनासो गरेका छन् । कानुनले समेत प्रतिबन्ध लगाएको यस्ता प्रविधिको बारेमा प्रचारप्रसार सार्वजनिक रूपमै गरिँदासमेत कुनै सुनुवाइ भएको देखिँदैन । लामो समयको अनुभवले औषधि र दुआ (टुनामुना) को माध्यमबाट जस्तोसुकै पुरानो रोग पनि ठिक गर्ने गरिएको दाबी गरिएको छ ।

तान्त्रिक हकिम हुसैन मस्तान नामको झाँक्रीले पुरानोभन्दा पुरानो छालाको रोग, लिकोरिया, महिनावारीको गडबडी, मिर्गी, प्यारालाइसिस, बवासिर ठिक गर्दै आएको उहाँका सहपाठी इमरानले जानकारी दिनुभयो । उहाँ कलैयाको हिरालाल मोतीलाल मुर्गी फारमको पछाडि रहेको घरमा बिहान ६ बजे देखि ११ बजेसम्म रोगीहरूलाई चेकजाँच गर्दै आएको र त्यसपछि भारत विहारको रक्सौलस्थित भेलाही रोड बडाबाबु छड पसलको पछाडि कौडिहार चौकमा बस्ने गरेको र रोगीहरूको चेकजाँच गर्ने गरेको इमरानले जानकारी दिनुभयो । त्यसैगरी, बारा जिल्लाको कोल्हवी नगरपालिका–८ शान्ति टोलमा सीताराम तिमल्सिनाले लामो समयदेखि झारफुकको काम गर्दै आएको बताउनुभयो ।

बेहोस हुने, बौलाउने, टुनामुना लागेका व्यक्तिहरूको सफल उपचार गर्दै आएको तिमल्सिनाले भन्नुभयो, ‘दिनहुँजसो बिरामीहरू आउने गर्दछन् । प्रत्येक बिरामीसँग एकसयदेखि तीन सयसम्म फी लिने गरेका छाँै । मानिसहरू ठिक पनि हुने गरेको उहाँले दाबी गर्नुभयो ।’
यसरी कानुनले बन्देज लगाएको टुनामुना धामी झाँक्रीको प्रचारप्रसार सार्वजनिक रूपमै हुँदा पनि प्रहरी प्रशासन मौन बस्नु समाजको लागि दुःखद कुरा भएको बारा नागरिक समाजका अधयक्ष उमेशलाल दासले बताउनुभयो ।

कुनै रोग लागेको छ भने अस्पताल छन्, उहाँले भन्नुभयोे, ‘अस्पतालमा गएर डाक्टरसँग सम्पर्क गर्दा निको हुने कुरालाई यस्ता वैद्य हकिमहरूले तुल ब्यानर झुण्ड्याएर आम जनतालाई रोग निको पार्ने बहानामा ठग्दै आएका छन् । यसप्रति राज्य र प्रहरी प्रशासन चनाखो हुनुपर्छ । चनाखो नभएकै कारण अहिलेको समयमा पनि मानिसहरू यस्ता ढोंगी साधु सन्त, धामी झाँक्रीको कुरामा लागेर आफ्नो पैसा मात्र होइन जीवनसमेत बर्बाद गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।’

दिनहुँजसो विभिन्न समाचार माध्यमबाट धामी झाँक्री, निम हकिमको कुरामा नलाग्न प्रचार प्रसार भए पनि मानिसहरू जानीजानी यस्ता व्यक्तिहरूको हातको कठपुतली बन्ने गरेको उहाँले बताउनुभयो । यस्ता क्रियाकलाप बन्द गर्न गराउन स्वयं प्रशासन नै निरीह देखिएको छ । यस्ता काम गर्ने गराउने दुवैलाई कानुनी कठघरामा ल्याई कानुनबमोजिम दण्ड सजाय दिलाउनुपर्ने उहाँले जानकारी दिनुभयो । यस्तो क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनबमोजिम कारबाही हुने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । धामी झाँक्रीको बारेमा प्रचारप्रसार गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गरिने उहाँले बताउनुभयो ।
बाराको सदरमुकाम कलैयास्थित मुख्य चोक भरतचोकमै धामी झाँक्रीको प्रचार प्रसारको लागि टाँगिएको ब्यानर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?