थारू समुदायले मनाए माघी पर्व

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशभरका थारू समुदायले आइतबार माघी पर्व मनाएका छन् । थारू समुदायले यस दिनलाई नयाँ वर्षको दिनको रूपमा पनि मनाउने गरेका छन् । यस दिनमा ठूला बडासँग आशीर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामनासहित मिठोमसिनो खाँदै मनाउने गरिन्छ ।

पुस मसान्तको दिन सुँगुर/बंगुर जिता मार्ने, आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ भने माघी पर्वको दिनमा बिहान सबेरै नजिकैको नदी तथा तालतलैयामा स्थान गरिन्छ । स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वास छ ।

यस दिनमा थारू समुदायले ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाइमुरी, भुजा, अण्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर÷बंगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गंगटो आदि परिकारहरू खाएर रमाइलो गरिन्छ । माघी पर्वको अवसरमा काठमाडौंको टँुडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको आयोजना गरी मनाइएको छ । पुस मसान्तदेखि सुरु भएको सो महोत्सवमा थारूहरूको मौलिक पहिचान झल्कने भेषभूषासहित सो समुदाय उपस्थित भएको देख्न सकिन्छ भने मौलिक नाचगान पनि देख्न सकिन्छ ।

महोत्सवमा मौलिक प्रकारका परिकारहरूको प्रदर्शनी तथा बिक्री वितरण पनि भइरहेको छ । थारू समुदायले थारू सम्वत २६४६ नयाँ वर्षको रूपमा यस पर्वलाई मनाएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका सदस्य चन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँले पछिल्लो पुस्ताहरूलाई पनि थारू समुदायको संस्कार, संस्कृति र रीतिरिवाजहरूलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?