नेपाली आकाशमा आन्तरिक उडानतर्फ इतिहासकै ठूलो दुर्घटना

हृदयविदारक विमान दुर्घटनामा ६९ जनाको मृत्यु, तीन जनाको खोजी जारी

डिबी शर्मा
Read Time = 16 mins

काठमाडौं । पोखरामा विमान दुर्घटना हुँदा ६९ जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर (९ एन-एएनसी) कलसाइन भएको विमान आइतबार बिहान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ६९ जनाको ज्यान गएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको हो । विमान बिहान १०ः५० बजे अन्तिमपटक विमानस्थल टावरसँग सम्पर्कमा आएको थियो । प्राधिकरणका अनुसार आइतबार अबेरसम्म विमानमा सवार ६९ जनाको शव फेला परेको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवहरू धेरैजसोको पहिचान गर्न नसकिने अवस्थामा रहेको अस्पतालले जनाएको छ । भेटिएका शवको पहिचान गरेर आज (सोमबार) सम्बन्धित परिवारलाई बुझाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार विदेशी नागरिक तथा अन्य जिल्लाका शवलाई पनि काठमाडौं ल्याइनेछ । दुर्घटनाग्रस्त विमानमा सवार तीन जनाको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ । विमानमा चारजना चालक दलबाहेक ५३ जना नेपाली यात्रु थिए भने पाँच भारतीयसहित १५ विदेशी नागरिक सवार थिए ।

विदेशी नागरिकमा पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना सवार थिए । उक्त विमान क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाइरहनुभएको थियो । क्याप्टेन केसी प्रशिक्षक पाइलट हुनुहुन्थ्यो भने खतिवडा प्रशिक्षार्थी पाइलट हुनुहुन्थ्यो । क्याबिन क्रु सिर्जना होंगचुन र ओसिन आलेमगर हुनुहुन्थ्यो । केसी नेपाली आकाशमा उडान भर्ने पाइलटमध्ये अनुभवी मानिनुहुन्थ्यो । अमेरिकाबाट पाइलट पढेर आउनुभएका उहाँले २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहनुभएको थियो । केसी पाइलटका प्रशिक्षक पनि हुनुहुन्थ्यो ।

विमानमा सवार यात्रुहरूमा नेपाली यात्रुतर्फ किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना रहनुभएको छ ।

यस्तै, विदेशी यात्रुमा मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे हुनुहुन्छ । यस्तै, शिशुहरू तर्फ कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा हुनुहुन्छ भने अन्य दुईजना शिशुहरूको नाम खुलेको छैन ।

आइतबार भएको विमान दुर्घटना नेपाली आकाशमा नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो । पोखरा दुर्घटनामा व्यावसायिक आन्तरिक उडानतर्फ नेपालले अहिलेसम्मकै ठूलो र दर्दनाक मानवीय क्षति व्यहोरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ भने नेपाली आकाशमा सन् १९९२ मा एकै वर्ष दुई ठूला दुर्घटना भएका थिए । भट्टेडाँडामा भएको पाकिस्तान इन्टरनेसनल एयरको दुर्घटनामा १६७ र ग्यानफेदीमा भएको थाई एयरवेजको दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए । सन् २०१८ मा त्रिभुवन विमानस्थलमै भएको युएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।

पाइलटले समस्या देखिएकोबारे कुनै जानकारी गराएका थिएनन् : विमानस्थल कार्यालय
विमानका पाइलटहरूले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै सर्ट फाइनलको क्रममा रहेको बेलामा विमान दुर्घटनामा परेको हो । ‘पाइलटहरूले पोखरा टावरलाई विमानमा कुनै समस्या देखिएको बारे केही पनि भनेका थिएनन् । उनीहरू ल्याण्डिङकै तयारीमा थिए,’ उहाँले भन्नुभयो । पोखरा टावरको भनाइ अनुसार मौसम बिहानदेखि नै राम्रो नै रहेको र मौसमलाई दोष दिने अवस्था नरहेको उहाँको भनाइ छ । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । आइतबार साँझ एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।

पोखरामा डेमो र पहिलो उडान गरेको विमान पोखरामै दुर्घटना
पोखरामा दुर्घटना भएको विमान सन् २००७ मा निर्माण भएको थियो । सुरुमा उक्त विमान भारतमा उडान गरिएको थियो । आइएसएफ इन्भेस्टेक कम्पनीले खरिद गरेको विमान विवादित विमान कम्पनी किङ्फिसरलाई लिजमा दिएपछि भारतमा उडान प्रतिबन्ध लागेको थियो । सन् २०१२ को अन्त्यमा किङफिसरले उक्त विमान फिर्ता गरेको थियो । त्यसपछि सन् २०१३ अप्रिलमा मर्मत गरी थाइल्याण्डको नोक एयरलाई लिजमा दिएको थियो । सन् २०१९-०२६ सम्मका लागि उक्त विमान यती एयरलाइन्सले लिजमा लिएको थियो । यही विमानले पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडानसमेत गरेको थियो । पुस १७ गते विमानस्थल उद्घाटनमा पहिलो उडान गर्ने पनि यही विमान थियो ।

अञ्जुले ‘क्याप्टेन क्लियरेन्स’को प्रमाणपत्र पाउने उडान नै अन्तिम बन्यो
पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनुभएकी को-पाइलट अञ्जु खतिवडाले १६ वर्षअघि यतीकै विमान दुर्घटनामा श्रीमान् गुमाउनुभएको थियो । ७ असार २०६३ मा यती एयरलाइन्सकै विमान दुर्घटनामा उहाँका श्रीमान् दीपक पोखरेलको ज्यान गएको थियो । पोखरेल पनि को-पाइलट हुनुहुन्थ्यो । नेपालगञ्जबाट सुर्खेत हुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट दुर्घटनामा पोखरेलको ज्यान गएको थियो । को-पाइलट श्रीमान्को मृत्युपछि अञ्जुले पाइलट तालिम लिनुभएको थियो । प्रशिक्षणका रूपमा खतिवडाको यो अन्तिम उडान थियो । यसअघि अञ्जुले पाइलट बन्नका लागि गर्नुपर्ने सबै विमानस्थलमा उडान पूरा गरिसक्नु भएको थियो । आइतबार विमानको मुख्य भूमिकामा अञ्जु नै हुुनुहुन्थ्यो । पाइलट कमलले अञ्जुलाई गाइड गरिरहनु भएको थियो । अन्तिम उडान सफल भएको भए उहाँ क्याप्टेन बन्नुहुन्थ्यो । तर, अन्तिम प्रशिक्षण उडान नै उहाँको जीवनको अन्तिम बन्यो । अञ्जुले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने त्यही उडान दुर्घटनामा प¥यो । अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढीलगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसक्नु भएको थियो । क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तीमा एकसय घण्टा उडान भरेको हुनुपर्छ ।

मृतकको शव आज परिवारलाई बुझाइने
सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानका सवार मृतकको शव गण्डकी अस्पतालको शवगृहमा राखिएको छ । शवहरू अस्पताल पु¥याएसँगै मृतकका दिवंगत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसो पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाडौं लगिने उहाँले बताउनुभयो । पोखराका पहिचान भएका शव आज (सोमबार) बिहान ९ बजेपछि पोष्टमार्टम गरी परिवारलाई बुझाइने प्रजिअ अधिकारीले बताउनुभयो ।

अहिलेसम्म १३ जनाको शव सनाखत भएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौंकी संगीता शाहीसहित १३ जना हुनुहुन्छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा.सुशील श्रेष्ठ, डा.सोना दिवाकर, अरुण पौडेल, कुश्मा र प्रसिद्धि पौडेल हुनुहुन्छ । प्रहरीका अनुसार पूर्णबहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजयकुमार गुरुङ र बागलुङ घर हुनुभएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ । ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

दुर्घटनाप्रति दुःख व्यक्त
पोखरामा भएको विमान दुर्घटनाप्रति राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेताहरूले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पोखरामा भएको विमान दुर्घटना घटनाप्रति नेकपा एमाले र नेपाली कांग्रेसले दुःख व्यक्त गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

विमान दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति नेपालस्थित अमेरिकी र चिनियाँ दूतावासले समेत दुःख व्यक्त गरेका छन् । अमेरिकी दूतावासले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । यस्तै, चिनियाँ राजदूत चेन सङले विमान दुर्घटनाले आफू निकै स्तब्ध रहेको बताउनुभएको छ । भारतीय दूतावासले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । भारतका नागरिक उड्डयन जोतिरादित्य सिन्धियाले पनि विमान दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?