टर्की भूकम्प पीडितका लागि सरकारले पठायो राहत सामग्री

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्री सहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुनःस्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरेअनुसार राहत सामग्री सोमबार पठाएको हो ।

यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री विमला राई पौड्यालले टर्कीका समकक्षी एच ई मिस्टरसँग टेलिफोन वार्ता गरेर नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्नुभएको थियो । मन्त्रालयका अनुसार टर्कीको विनाशकारी भूकम्पमा अमूल्य जीवन गुमाउने र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै परराष्ट्र मन्त्री राईले टर्कीका जनतासँग ऐक्यबद्धताका लागि सबै सम्भव सहयोग गर्न नेपाल तयार रहेको जनाउनुभएको थियो । परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नका लागि सहयोग गर्ने तथा उद्धार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ ।

३४ हजारभन्दा बढीको मृत्यु
टर्कीमा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ । भूकम्प गएको एक हप्ता बितिसक्दासमेत भग्नावशेषमा च्यापिएका मानिसहरूको खोजी कार्य जारी रहेको छ । मृतकको संख्या पनि बढिरहेको छ । टर्कीमा पछिल्लो समयसम्म मृत्यु हुने संख्या २९ हजार ६०५ पुगेको छ भने सिरियामा चार हजार ५७४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कठ्यांग्रिने चिसोका कारण खोजी, उद्धार र पुनःस्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ । सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरूले राहत पाउन सकेका छैनन् । उनीहरूलाई ओत लाग्ने त्रिपालको समेत अभाव छ । संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएको छ ।

भग्नावशेषभित्र पुरिएको १६३ घण्टापछि दुई जनाको उद्धार
भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिक रूपमा उद्धार गरिएको हो । सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको छ भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवैजना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए । टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् ।

बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्वीटरमार्फत् पोष्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर भग्नावशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ । खोज टोलीहरू समय बित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन् । विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धुमिल बन्दै गएको बताएका छन् ।
उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाइ भएको बताएका छन् । उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन् ।

एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित
भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् । भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्किएका छन् । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको छ । स्थानीय समयानुसार गत सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?