हतारमा शिलान्यास, काम अलपत्र

Read Time = 5 mins

सुर्खेत । १५ मंसिर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गर्नुभएका सल्यानका आठ पालिका भित्रका आधारभूत अस्पतालको शिलान्यास गरे पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । ६ वटा पालिकामा १५ शय्या र दुई वटा पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गरि दुई वर्षभित्रै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य अझै पूरा हुन सकेको छैन ।

आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीय बासिन्दा पनि खुसी भएपनि निर्माणको गति देख्दा निरास भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने कहिले पूरा हुने हो अहिले प्रश्न खडा भएको छ । अस्पताल निर्माणका लागि शिलान्यास भएको २६ महिना हुँदा पनि केही पालिका अझै जग्गा खोज्दै छन् भने केही पालिकामा भवन निर्माण अलपत्र छ ।

बनगाड कुपिण्डे नगरपालिकाकी दिलमाया खत्रीले स्वास्थ्य उपचारका लागि सल्यान जिल्ला अस्पताल खलंगा वा सुर्खेत जानुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘पालिकामै विशेषज्ञ उपचार सेवा पाउने आशामा बसेको २६ महिना भएको छ, तर अहिलेसम्म पनि भवन निर्माण भएको छैन । यसै वर्षदेखि मात्र भवन निर्माण शुरु भएको छ । त्यो कहिले पूरा हुन्छ थाहा छैन’, उहाँले भन्नुभयो ।

छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पीडा पनि दिलमायाको भन्दा फरक छैन । तामझामका साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजी मेडिकल जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो तर अहिले काम हुन सकेको छैन । पालिकामै विशेषज्ञ उपचार पाउनबाट नागरिक बञ्चित भएका छन्’, उहाँले भन्नुभयो ।

जिल्लाको बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाबाहेक अरू ६ वटा पालिकामा भवन निर्माण शुरु भएको थियो । केही पालिकामा काम रोखिएको छ । दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुँदैछ । कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ ।

कालिमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण जारी छ । शिलान्यास भएर पनि जग्गा अपुग हुँदा निर्माण रोकिएको बनगाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसै वर्षदेखि शुरु भएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिनुभयो । ‘पहिले शिलान्यास गरिएको ठाउँमा जग्गा पुगेन, स्थानीयबाट जग्गा प्राप्त भएपछि अम्रामा भवन निर्माण शुरु भएको छ’, उहाँले भन्नुभयो । छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा अस्पताल भवन निर्माण अलपत्र छ । निर्माण कम्पनीले जग्गा सम्याउने र छड लगायतका सामग्री निर्माण स्थलसम्म पुर्‍याए पनि बाँकी काम अघि बढेको छैन । शिलान्यास भएको स्थानमा जग्गा कम हुँदा कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण रोकिएको छ ।

अस्पतालका लागि सात रोपनी जग्गा हुनुपर्नेमा करिब दुई रोपनी जग्गामा शिलान्यास गरेर निर्माण शुरु भएकाले अहिले निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?