केप टाउन । भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया आइसिसी महिला ट्वान्टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया लगातार तेस्रोपटक महिला ट्वान्टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार राति १७३ रनको लक्ष्य पूरा गर्न ६ रनले चुकेपछि साविक उपविजेतासमेत रहेको भारत प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो ।
१७३ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो । त्यसअघि, टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा १७२ रन बनाएको थियो । भारतकी कप्तान हर्मनप्रित कौरले ५२ रन बनाउनुभयो । जेमिमाह रोड्रिगेजले ४३, दीप्ति शर्माले २०, ऋचा घोसले १४ र स्नेह रानाले ११ रनको योगदान गर्नुभयो । अष्ट्रेलियाकी अस्लेघ गार्डनर र डार्सी ब्रोनले समान दुई विकेट लिनुभयो । मेगन सट र जेस जोनासनले एक-एक विकेट झार्नुभयो ।
त्यसअघि, अष्ट्रेलियाकी बेथ मुनीले ५४ रन बनाउनुभएको थियो । कप्तान मेग लानिङले अविजित ४९, अस्लेघ गार्डनरले ३१ र ओपनर एलिसा हेलीले २५ रन जोडनुभयो । भारतकी शिखा पान्डेले दुई विकेट लिनुभयो । दीप्ति शर्मा र राधा यादवले एक-एक विकेट लिनुभयो ।
अष्ट्रेलियाले विश्वकपका पछिल्ला ६ संस्करणमध्ये पाँचको उपाधि जितेको छ । अष्ट्रेलियाले अब उपाधिका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । विश्वकपको फाइनल खेल यही फागुन १४ गते आइतबार हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच