सिट बाँडफाँटबारे सहमति नजुट्दा गठबन्धनलाई सकस, आज पनि बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्ता गठबन्धनको लगातारको बैठक बिना निष्कर्ष टुंगिदा दलका नेताहरूमा भने सकस बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । गठबन्धनलाई त्यसअघि नै सिट बाँडफाँट टुंग्याउनुपर्ने दबाब छ । तर दिनहुँको प्रयासमा पनि सिट बाँडफाँट टुंगिन सकेको छैन ।

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ ।

सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न हिजो बालुवाटारमा बसेको शीर्ष नेताको बैठक पनि बिना कुनै सहमति टुंगिएको हो । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन सकेन् ।

बैठकलाई निष्कर्षमा पुर्याउन हिजो बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको थियो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

बैठकले अन्तिम सहमति गर्ने तयारी गरेको भए पनि निचोडमा नपुगेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिनुभयो । उहाँले बैठकमा गहन छलफलहरू भए पनि अन्तिम सहमतिमा भने पुग्न नसकेको बताउनुभयो । उहाँका अनुसार बैठक आज पुनः बस्ने छ र आजको बैठक अन्तिम हुने उहाँको भनाइ छ ।

संघको टिकटमा भन्दा पनि प्रदेशको टिकटका लागि गठबन्धनमा सहमति हुन नसकेको नेताहरुले बताएका छन्। जसपाले मधेश प्रदेशमा फेरि पनि आफ्नै पार्टीको नेतृत्वको सरकार बन्नुपर्ने अडान लिएपछि गठबन्धनमा तिक्तता देखिएको हो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?