राष्ट्रपतिको भूमिका ओलीको सहयोगीको जस्तो हुँदा समस्या भयो : प्रदीप पौडेल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना नगरी पार्टीको कार्यकर्ताको भूमिका बढि देखाएकाले समस्या सिर्जना भएको बताउनु भएको छ ।

शनिबार नेपाल शिक्षक संघ बागलुङको २२ औं जिल्ला प्रतिनिधि सभा एवं नवौं जिल्ला अविधेशनको उद्घाटन गर्दै पौडेलले राष्ट्रपति पद र संस्थाको मर्यादा कायम गराउनका लागि काँग्रेसले राष्ट्रपतिको उम्मेदवार आफ्नै पार्टीबाट विजयी गराउन चाहेको बताउनुभयो ।

‘अहिलेको राष्ट्रपतिले संविधानको रक्षा गर्ने र देशको अभिभावकीय भूमिका निभाउने भन्दा पनि केपी ओलीको सहयोगीको भूमिकामा बढि देखिएकाले देशमा समस्या उत्पन्न भयो,’ उहाँले भन्नुभयो- ‘अहिले आठ दलीय गठबन्धनको तर्फबाट हामीले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका छौं, रामचन्द्र पौडेल राष्ट्रपति भएपछि शेरबहादुर देउवाले जे भन्यो त्यही मान्ने होईन संविधान र लोकतन्त्रको रक्षाका लागि काम गर्नुपर्छ ।’

वर्तमान राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु नपरोस् भनेर राष्ट्रपति कार्यालयको सचिव लुकाउनेसम्मको काम गरेको स्मरण गर्नुभयो । राष्ट्रपति निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसंगै नेपाली काँग्रेस संघीय र प्रदेश सरकारमा पनि प्रवेश गर्ने उहाँले बताउनुभयो ।

‘अहिले निर्वाचन आचारसंहिताको कुरा छ, हामी राष्ट्रपतिको निर्वाचनपछि संघीय र प्रदेश सरकारमा पनि प्रवेश गछौं’ उहाँले भन्नुभयो– ‘केन्द्रमा प्रचण्डको नेतृत्वमा सरकारमा सहभागी हुन्छौं, कतिपय प्रदेशमा अरुको नेतृत्व स्वीकार गरेर जान्छौं कतिपय ठाउँमा हामीले नेतृत्व गरेर जान्छौं, सरकारमा हामी केवल सहभागिताका लागि जाने होइन, जनताको काम गरेर जनतामा आशा र विश्वास जगाउनका लागि जाने हो ।”
काँग्रेस पार्टी सरकारमा जाने सान्दर्भिकता पुष्टी गर्न नसके झन् समस्या पैदा हुने बताउनुभयो । ‘विगतमा हाम्रो प्रतिस्पर्धा कम्युनिष्टहरुसंग मात्रै थियो, अब प्रजातान्त्रिक शक्ति पनि काँग्रेस मात्रै एक्लो छैन’ उहाँले भन्नुभयो– ‘हामीप्रति जनताले विश्वास गर्ने वाताबरण सिर्जना गर्न सकेनौ भने झन् ठूलो समस्या हामीमाथि आईलाग्छ ।’

अबको निर्वाचनमा काँग्रेस पार्टीलाई एक्लै निर्वाचन लड्न सक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । ‘अहिले हामी कमजोर भएकै कारण गठबन्धन गरेर जानु परेको हो, गठबन्धनले गर्दा हाम्रो संगठनहरु झन् कमजोर हुन पुगेको छ । आउँदो निर्वाचनमा काँग्रेसलाई एक्लै निर्वाचन लड्ने गरी वातबरण तयार गर्नुपर्छ । त्यसका लागि जनतामा भरोसा जगाउनुपर्छ,’ पौडेलले भन्नुभयो ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता पौडेलले शिक्षक संघले नीतिगत बहसमा पनि ध्यान दिन आग्रह गनुभयो । ‘अहिले हामी प्रविधिकरण हुन सकेनौं भने कोही पनि काम लाग्दैनौं’ उहाँ भन्नुहुन्छ ‘शिक्षक संघले समय सापेक्ष नीतिगत बहस अगाडि बढाउनुपर्छ । अबको शिक्षा कस्तो बनाउने त्यसका लागि शिक्षकहरुलाई के कस्ता सेवा सुविधा उपलब्ध गराउनुपर्छ भन्ने कुरामा शिक्षक संघले स्पष्ट कार्यदिशा दिनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?