एमबाप्पे बने पिएसजीका सर्वाधिक गोलकर्ता

Read Time = 3 mins

पेरिस । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोलकर्ता बन्नुभएको छ । पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४-२ को रोमाञ्चक जित निकाल्दा एमबाप्पेले उक्त उपलब्धि हासिल गर्नुभएको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र डानिलो पेरेइराले एक-एक गोल गर्नुभयो । नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल फर्काउनुभयो ।

खेलको १२औँ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लियो । १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा २-० ले अघि बढ्यो । ३१औँ मिनेटमा लुडोभिक ब्लास्टले खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । ३८औँ मिनेटमा गनागोले एक गोल गर्नुभयो । ६०औँ मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३-२ को अग्रता दिलाउनुभयो ।

यस्तै, इन्जुरी समयमा एमबाप्पेले गोल गर्दै इतिहास रच्नुभयो । उहाँले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीको क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्नुभएको हो । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३औँ स्थानमा छ ।

यस्तै, चेल्सीले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई १-० गोलअन्तरले पराजित गर्‍यो । चेल्सीको जितमा वेस्ले फोफानाले दोस्रो हाफमा निर्णायक गोल गर्नुभयो । गत जनवरी १५ मा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेयता चेल्सीले ६ खेलसम्म जित निकाल्न सकेको थिएन । जसमा समान तीन बराबरी र हारको नतिजा छ ।

यस जितले चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औँ स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७औँ स्थानमा छ । अर्काे खेलमा वल्भ्सले टोटनहमलाई १-० ले पराजित गरेको छ । वल्भ्सको जितमा एड्मा ट्राओरेले ८२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३औँ स्थानमा रहेको छ । पराजित टोटनहम ४५ अंक जोडेर चौथो स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?