तराईमधेसमा फागुन पूर्णिमाको भोलिपल्ट होली किन ?

Read Time = 13 mins

✍️ सञ्जय साह मित्र

सांस्कृतिक दृष्टिकोणले नेपाल आफैंमा विशाल संग्रहालय हो । हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म यहाँ अनेक संस्कृति मनाइन्छन् । एउटै संस्कृति पनि भूगोल र समुदाय अनुसार पृथक रूपमा मनाइन्छ । फरक किसिमले मनाइने नेपाली हिन्दूको साझा संस्कृतिमध्ये एक हो होली ।

होली पर्वसित सम्बन्धित तराई मधेसमा दुई मिथक प्रचलनमा रहेका छन् । पहिलो रामायण र दोस्रो महाभारत कालसित सम्बन्धित छन् । रामले रावणमाथि विजय प्राप्त गरी घर फर्केको खुशीयालीमा सर्वसाधारणले रंग र अबिर दलेर एकअर्कालाई अंकमाल गर्दै हर्षबढाइँ गरेको उत्सव नै होली हो । सबैले पाएसम्म मिठो र उत्तम भोजन गर्ने तथा समूहमा खुशीको प्रकट गर्दै अनेक बाजाहरू बजाउँदै मंगलगीत गाउने पर्वबाट होलीको विस्तार भएको मानिन्छ ।

अर्को मिथकीय मान्यतानुसार हिरण्यकश्यपले विष्णुभक्त छोरा प्रहृलादको कसै गरी हत्या गर्न नसकेपछि ब्रहृमदेवबाट आगोले नछुने वरदानप्राप्त बहिनी होलिकालाई बोलाए । प्रहृलादको हत्या आगोमा डढाएर गर्ने आदेश होलिकालाई दिएपछि होलीकाले बालक प्रहृलादलाई काखमा राखेर अग्नि प्रवेश गर्दा होलिका नै जलेर खरानी भइन् । यस घटनालाई नै होलिका दहन भनिन थाल्यो र कालान्तरमा यस दिनको सम्झनामा फागुन पूर्णिमाको दिन हरेक वर्ष होलिका दहन गर्ने संस्कृति बन्यो ।

होलीलाई कतिपय मान्यतामा वसन्तोत्सव पनि भनिएको पाइन्छ । होलिका दहनसँगै चैत महिनाको आगमन हुने र चैत महिनासँगै वसन्त ऋतुको सुरुवात हुने भएकाले वसन्तलाई स्वागत गर्न रंग र अबिरले उत्सव मनाउँदै बाली भित्र्याउने कर्ममा किसान लाग्ने गर्दछन् ।

तराई मधेसमा हरेक वर्ष फागुन पूर्णिमाको दिन हरेक गाउँमा होलिका दहन गर्ने चलन छ । यसलाई स्थानीय भाषामा समत भनिन्छ । समत नहुञ्जेल होली सुरुवात हुँदैन । पहाडमा भने होलीलाई फागुन शुक्लपक्षको पूर्णिमाको दिन नै मनाइने चलन छ भने तराई मधेसमा फागुन पूर्णिमाको दिन साइत हेरेर समत अर्थात् होलिका दहन हुन्छ । फागुन पूर्णिमाको दिन यदि आइतबार, मंगलबार वा बिहीबार परेको हुन्छ भने साइत कटाएर होलिका दहन हुन्छ । यसैगरी होलिका दहनको भोलिपल्ट पनि आइतबार, मंगलबार र बिहीबार पर्दछ भने अर्को दिन होली खेलिन्छ । यस वर्ष अधिकांश नेपाली क्यालेन्डरहरूले सोमबार र मंगलबार गरी दुई दिन पूर्णिमा तिथि उल्लेख गरेकाले सोमबार होलिका दहन गरी मंगलबार र बुधबार होली मनाइँदैछ ।

मंगलबार काटमार गर्न नहुने मान्यता अद्यपर्यन्त छ गाउँमा । कुनै देवीदेवताको भाकलमा सम्भव भएसम्म आइतबार, मंगलबार र बिहीबार बलि बार्ने चलन छ । धेरै मानिस यी तीन दिन मदिरापान पनि गर्दैनन् । यिनै कारण कतिपय ठाउँमा यस वर्ष मंगलबार होली मनाए पनि तराई मधेसको अधिकांश ठाउँमा भने मुख्यगरी बुधबार नै होली मनाइँदैछ । यस वर्ष मंगलबार साकाहारी होली र बुधबार मांसाहारी होली भएको छ । श्रीपञ्चमीको दिनदेखि नै वसन्तको आगमन हुने मान्यता रहेको भए पनि वास्तवमा चैत र वैशाख हो वसन्त ऋतु । होलीलाई कतिपय मान्यतामा वसन्तोत्सव पनि भनिएको पाइन्छ । होलिका दहनसँगै चैत महिनाको आगमन हुने र चैत महिनासँगै वसन्त ऋतुको सुरुवात हुने भएकाले वसन्तलाई स्वागत गर्न रंग र अबिरले उत्सव मनाउँदै बाली भित्र्याउने कर्ममा किसानहरू लाग्ने गर्दछन् । जसरी कात्तिकको छठ मनाउनासाथ धानबाली भित्र्याउँछन्, त्यसरी नै होलीको समापनसँगै किसानलाई गहुँ तथा रवि बालीभित्र्याउन हतार हुने गर्दछ ।

पर्व तथा संस्कृतिलाई श्रमसित जोडेर हेर्नेहरूले के विश्लेषण गर्दछन् भने गहुँ तथा रवि बालीको उत्पादन राम्रो भएको प्रदर्शनसँगै खुशीयाली प्रकट गर्दै किसानहरूले होली मनाउने गरेका छन् । किसानहरूले आफ्नै खेतमा उब्जाएको काँचो गहुँ, मसुरो, खेसरी, रहर, चनाजस्ता बालीको झारसहितको मुठो समतमा ल्याएर सबैको अगाडि पोल्ने चलन छ । दाना कत्तिको बसेको र उत्पादन कस्तो हुन्छ भनेर एकअर्कालाई देखाउने र चिनाउने चलन छ । सबैले बालीको राम्रो उत्पादन भएको देखेर खुशीयाली प्रकट गर्दै होली पर्व मनाउन सुरुवात गरेका हुन् । हरेक वर्ष निश्चित ठाउँमा भेला भई बालीबारे निर्णय गर्ने चलन निकै प्राचीन भएको बताइन्छ । खानपानको दृष्टिकोणले होलीलाई पूर्ण स्वच्छन्द पर्वको रूपमा लिइन्छ । होलीको दिन हरेक घरमा साकाहारी र मांसाहारी दुवै किसिमको उत्तम भोजन पकाउने अनिवार्य चलन छ । एकले अर्काको घर पुगेर तथा बोलाएर इच्छित भोजन गराउने चलन छ । एक जनाले दर्जनौं मानिसको घर पुगेर भोजन गर्नु वा एक परिवारमा दर्जनौंलाई भोजन गराउनु स्वाभाविक र सामान्य हो । जसलाई जे र जति मन लाग्छ खान्छन् । पेय पदार्थ सेवनको दृष्टिकोणले यो उत्कर्षको पर्व हो । कहिल्यै केही नलिने मानिसले पनि दूधबाट बनेको अलिकति नसा दिने कुश्मा नामको विशेष परिकार आफैंले बनाएर पिउँछन् । कुश्मा होलीबाहेक अन्य पर्व वा दिनमा बनाइँदैन ।

परम्परागत होलीको गीतमा कलात्मक अभिव्यक्तिको बेजाड नमुना पाइन्छ । सामाजिक जनजीवनका पीडा, विछोड, उत्साह, परदेश गएका पियाको याद, रतिराग, देवर र भाउजूको जिस्क्याइ आदि पाइन्छ । फागुनमा बूढो मानिस पनि देवरसरह हुन्छ भनिन्थ्यो पहिले ।

शास्त्रहरूमा जे-जस्तो अर्थ लगाएको भए पनि यथार्थमा होली उपभोगवादी संस्कृति हो । खानु, पिउनु, गीत गाउनु, झुम्नु रमाउनु यसका विशेषता हुन् । यसको आयाम वैयक्तिक चरम सुखदेखि पारिवारिक तथा सामूहिक-सामाजिक आकारसम्म विस्तार भएकाले होली पर्व प्राचीन उपभोगवादी संस्कृतिको निरन्तरता हो भन्ने स्पष्ट हुन्छ । यसलाई आत्मीयता, भाइचारा तथा सौहार्दद्रताको सामूहिक पर्व मानिन्छ । आजभोलि हिन्दूभन्दा अन्य समुदायमा पनि यो पर्व फैलिँदै गएको छ । यसदिन शत्रुको निधारमा पनि अबिर दलेर र जिउमा रङ छ्याप्ने गरिन्छ । एकले अर्कासितको बैरभाव बिर्सेर अंकमाल गर्ने तथा सुपारी, छोहरा, ल्वाङ, सुकुमेल, नरिवल आदि सम्भव भए रुमालमा बाँधेर र नभए यत्तिकै खान दिने गरिन्छ ।

संस्कृतिहरू विस्तारै परिवर्तन हुँदै गएका छन् । यसको प्रभाव होलीमा पनि परेको छ । परम्परागत गीतहरू करिब लोप भइसके । अझ कतिपय गीत लोपोन्मुख छन् । पहिले फागुन महिनाभरि श्रमिक तथा गोठालाहरू काम गरिरहँदा फगुआ गीत गाइरहन्थे । बाटो हिँड्ने बटुवाले पनि होलीको गीत गाउँदै आफू रमाउँदै अरूलाई पनि सुनाइरहन्थे । फगुआ गीतको तानले खेतको फाँट नै गुञ्जायमान रहन्थ्यो । गाउँमा हरेक साँझ डम्फू, झिर, ढोलक, मृदंग, झालसहित अनेक परम्परागत बाजाको साथमा हुने होली गीत गायन अब दुई–चार दिनमा सीमित भएको छ, त्यो पनि केही गाउँमा । अचेल होलीको गीत डिजे र एफएममा सीमित भएको छ । परम्परागत कलात्मक गीत लोप भएर आधुनिक अश्लील गीतले बजार लिएको छ ।

परम्परागत होलीको गीतमा कलात्मक अभिव्यक्तिको बेजाड नमुना पाइन्छ । सामाजिक जनजीवनका पीडा, विछोड, उत्साह, परदेश गएका पियाको याद, रतिराग, देवर र भाउजूको जिस्क्याइ आदि पाइन्छ । फागुनमा बूढो मानिस पनि देवरसरह हुन्छ भनिन्थ्यो पहिले । फागुन महिनामा हुने कुनै यज्ञ, विवाह, अन्य शुभकर्ममा पनि होलीको गीत गाइने र सार्वजनिक रूपमा होली खेली रङ हाल्ने तथा अबिर दल्ने गरिन्थ्यो । अहिले होलीको यो चलन छँदैछ तर विस्तारै पातलिँदै गइरहेको छ । अचेल होलीको मौलिकता हराउँदै गएको छ, मञ्चमा समेटिन थालेको छ । होलीको समयमा शुभकामना आदानप्रदान गर्ने, अबिर दल्ने तथा गमछा ओढाएर सम्मान गर्ने औपचारिक चलन विस्तार भएको छ ।

यद्यपि यस्ता औपचारिक होली भने पूर्णिमाभन्दा पहिले नै राजनीतिक दल, संघसंस्था तथा जनप्रतिनिधि र समाजसेवीले गरिरहेका छन् । होलीमा असीमित खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । बलजफ्ती रंग छ्याप्ने तथा अबिर दल्ने प्रवृत्ति पनि बढेको छ । सबैभन्दा बढी त होलीको अश्लील गीतसँगै नवयुवाहरूमा अश्लील नृत्य गर्ने र मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल कुदाउने विकृति बढेका छन् । मर्यादा, सौहार्द्रता र आत्मीयताको पर्वमा अनेक किसिमका विकृति बढेका छन् । शिक्षा र चेतनाको स्तर वृद्धि भएसँगै संस्कृतिको मर्यादाप्रति जागरुकता बढ्नुपर्नेमा होलीको अन्तर्य हराउँदै प्रदर्शनमुखी र उपभोगमुखी प्रवृत्ति हावी भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?