काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले फागुन ३० गते राति १२ बजेपश्चात् मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता,२०७९ मा व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता,२०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’
उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिलाकुमारी यादव, ममता झा, रामसहायप्रसाद यादव गरी चारजनाको उम्मेदवारी दर्ता भए पनि प्रमिला कुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब उपराष्ट्रपतिमा एमालेबाट शाक्य, जसपाका यादव तथा जनमत पार्टीकी ममता झाबीच प्रतिस्पर्धा हुनेछ । मतदानका बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
मतदाताको संख्या कति ?
संविधानको धारा ६२ मा राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३३४ सदस्य रहेका छन् । त्यस्तै, सातवटै प्रदेशमा गरी कुल ५५० प्रदेशसभा सदस्यसमेत गर्दा राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनमा कुल ८८४ मतदाता रहेका छन् । निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ । राष्ट्रपतिबाट प्रमाणित भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ । यसअनुसार,संघीय संसद्का कुल ३३४ सदस्यको कुल मतभार (प्रति सदस्य ७९ का दरले) २६ हजार ३ सय ८६ हुन आउँछ । प्रदेशसभाका कुल ५५० सदस्यको कुल मतभार (प्रतिसदस्य ४८ का दरले) २६ हजार ४०० हुन आउँछ । यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७८६ हुन आउँछ । त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३९४ मत ल्याउनुपर्छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारको न्यूनतम् योग्यता वंशजका आधारमा नेपाली नागरिक भएको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको लगायतका व्यवस्था गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था संविधानमा छ । यो व्यवस्थाले एउटै लिंगका व्यक्तिसमेत राष्ट्रपति र उपराष्ट्रपति बन्न सक्नेछन् । उनीहरू फरक समुदायको भए भने एकसाथ राष्ट्रपति र उपराष्ट्रपति बन्न बाधा नपुग्ने देखिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने निर्वाचनमा उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डल (संघीय संसद् र प्रदेशसभाका सदस्य) को तत्काल कायम रहेको कुल मतको बहुमत नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुईजना उम्मेदवारबीच मतदान हुने गरी पुनः निर्वाचन हुनेछ । दुईजनाबीच निर्वाचन हुँदा पनि कसैले ५० प्रतिशत मत नकटाएमा पुनः मतदान हुनेछ । त्यसपछि हुने निर्वाचनमा भने सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ । अर्थात्, ५० प्रतिशत मत कटाउनुपर्ने छैन ।
कुन दलसँग कति मत ?
प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३३४ सदस्य छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नागरिकता खारेजीमा पर्दा सांसद पनि खारेजी भएको छ । जसपाका सांसद सहनाज रहमानको निधन भएको कारण उक्त सिट पनि हाल रिक्त छ । यस्तै, एमाले सांसद लक्ष्मी कोइरी फरार छन् । संघीय संसद् र प्रदेश संसद् गरी १४ दलको प्रतिनिधित्व छ । संसद्को प्रमुख दल नेपाली कांग्रेसको संघीय सदनमा ९८ सांसद छन् । प्रतिनिधिसभामा ८८ र राष्ट्रियसभामा १० सांसदसहित कांग्रेस ठूलो दलका रूपमा रहेको छ । कांग्रेसको सात प्रदेशसभामा १७६ सांसद छन् । कांग्रेससँग मात्रै १६ हजार २६९ मतभार छ । संसद्को दोस्रो ठूलो दल एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग सात हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग एक हजार ५८०, राप्रपासँग दुई हजार ४५०, जसपासँग दुई हजार १४५ मतभार छ । त्यस्तै, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जनमत पार्टीसँग एक हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी सांसदहरूको संख्या १८ छ । उनीहरूसँग कुल एक हजार ५० मतभार हुन्छ ।
उपराष्ट्रपति महिला नै हुनुपर्ने मागको रिट दरपीठ
महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेस गरिएको रिट मंगलबार दरपीठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गर्नुभएको थियो । सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपीठ भएको बताइएको छ । यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताउनुभएको थियो । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच