अलकत्र उद्योगले स्थानीयलाई समस्या

हिमालय टाइम्स
Read Time = 4 mins

मोरङ । मोरङको उर्लाबारी-३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ इन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्ने गरी अलकत्रा पगाल्न थालेपछि विरोध सुरु भएको छ । समुदायबाट करिब तीन किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो । उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर देखापरेको स्थानीयहरू बताउँछन् ।

मापदण्डविपरीत समुदायको बीचमा अलकत्र पगाल्न थालेपछि स्थानीयहरू आक्रोशित भएका छन् । गाँउघरमा भएका पशुचौपाया मर्ने र बाललबालिकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन् । मानव स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योग तोडफोडको आरोपमा इलाका प्रहरी कार्यालय उर्लावारीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडे पनि मनोज लिम्बू र सन्तोष लिम्बू भने इलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा छन् ।

यता, उद्योग रेखदेख गर्दै आउनुभएका इञ्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरे पनि स्थानीय युवा आएर तोडफोड गरेको बताउनुभयो । मापदण्डविपरीत सञ्चालनमा आएका र मानव स्वास्थ्यमा असर पर्ने कुनै पनि उद्योग सञ्चालनमा रोक लगाउने उर्लाबारी नगरपालिका–३ का वडाध्यक्ष भिष्म बुढाथोकीले बताउनुभयो । सुुरुमा च्याउ उद्योग खोल्ने भने पनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरूको भनाइ छ । पटकपटक विरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ । स्थानीय, जनप्रतिनिधि र निर्माण पक्षबीच समुदायलाई असर गर्ने गरी उद्योग सञ्चालन नगर्ने सहमति भए पनि सहमति कार्यान्वयन हुन सकेको छैन ।

कानुनअनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता उद्योग समुदायबाट तीन किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ । उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ । उद्योगबाट निस्कने धुवाँले गाउँमा रहेका मानिस मात्रै होइन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालिकाको आँखा सुनिने खोकी लाग्ने जस्ता समस्या देखापरेको विद्यार्थीहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?