फ्रेन्ड्समाथि मनाङको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा मनाङका लागि दुवै गोल कोफी कोउडुले गर्नुभयो । खेलको ३५औं मिनेटमा मनाङलाई कोउडुले अग्रता दिलाउनुभएको थियो ।

उहाँले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । यस्तै दोस्रो हाफको सुरुवातमै मनाङले अग्रता दोब्बर पार्‍यो । कोफीले सुमित श्रेष्ठले दिएको पासलाई ६ यार्ड बक्स अगाडिबाट गोल गर्नुभएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन । खेलमा पाएका अन्य अवसर भने दुवै टोलीले खेर फालेका थिए । पाँचौं मिनेटमा फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले विफल पार्नुभयो ।

१८औं मिनेटमा मनाङका कोफी टिमोथी कोउडुले गरेको हेडर पोष्टमाथिबाट बाहिरियो । २८औं मिनेटमा मनाङका लागि रोशन राना मगरको प्रहार पोष्ट नजिकसमेत बाहिरिएको थियो । ४२औं मिनेटमा कोफीकै प्रहारलाई गोलरक्षक फ्रेन्ड्सका गोलरक्षकले जोगाउनुभयो । इन्ज्युरी समयमा मनाङका जीवन गुरुङको प्रहार गोलरक्षक विशालले विफल पार्नुभयो ।

यस जितसँगै मनाङले ६ खेलमा चार जित र दुई बराबरीका साथ १४ अंक जोडेको छ । यता फ्रेन्ड्स भने ६ खेलमा चार अंकसाथ रेलिगेसनको डरमा छ । यस्तै ‘ए’ डिभिजन लिगकै अर्को खेलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले एन्फा कम्प्लेक्समा दुई-दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

खेलको ३२औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसको तीन मिनेटमै अविशेक लिम्बूले गोल गर्दै खुमलटारलाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । खेलको ६३औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार दुई-एकले अघि रहृयो । त्यसपछि खेलको ८६औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै जावलाखेलले सात खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा रहेको छ । खुमलटार सात खेलमा सात अंक जोडेर नवौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?