विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि समिति

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन गरिएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको बैठकले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, रेडक्रस र जिल्ला प्रशासनका प्रतिनिधीलाई राखिएको छ । समिति निर्माण सहित बैठकले बिपद् ब्यवस्थापनका लागि बिभिन्न निर्णयहरु समेत गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

बैठकले कोभिड संक्रमण न्युनीकरणका लागि बिगतको जस्तै सुरक्षा सावधानी अपनाउने, प्रत्येक स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय बिपद् ब्यवस्थापन समिति गठनको प्रावधान रहेकाले सोही अनुसार गठन गर्ने, बिपद्का संभावित घटनाहरुको अध्ययन गरी उद्धार र आवश्यक सामाग्री, जनशक्ति तयारी अवस्थामा राख्ने, मनसुनजन्य घटनाहरु नियन्त्रणका लागि सवै पक्ष क्रियाशिल हुने निर्णय गरेको छ ।

यस्तै मनसुनजन्य बिपदबाट क्षतिग्रस्त निजी आवास पुन निर्माण कार्यको लागि आएका मागहरु संकलन गरी गृह मन्त्रालय बिपद जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा पठाउने, गत कार्तिक २३ गते भएको आगलागीबाट मृत्यु भएका जिल्लाको हतुवागढी गाउँपालिका पाँच बर्षिय आयुष राई र गत फागुन १८ गते चटयाङबाट मृत्यु भएका षडानन्द नगरपालिका १२ का १३ बर्षिय सरोज भुजेलको परिवारलाई बिपद उद्धार तथा राहत सम्वन्धी मापदण्ड २०७७ को दफा ३  को दुईको (क) मा ब्यवस्था भएबमोजिम प्रति परिवार रु. दुई लाख उपलब्ध गराउने निर्णय पनि समितिको बैठकले गरेको छ ।

गत पौष २६ गते देखि चैत्र २५ गतेसम्म आगलागी बाढी पहिरो लगायतका घटनाका पिडित पाँच परिवारलाई बितरण गरिएको ६५ हजार राहतको अनुमोदन, सडक आयोजनाहरुमा बाढी पहिरोका कारण हुने अवरोध हटाउन पुष्पलाल मध्यपहाडी लोकमार्ग र पूर्वाधार बिकास कार्यालयबाट समन्वय गर्ने र मनसुनबाट क्षति भएका आवासहरु पुन निर्माणका लागि पहिलो किस्ता बापतको रकम उपलब्ध भई सकेकाले दोश्रो र तेश्रो किस्ता निकासाका लागि गृह मन्त्रालय बिपद जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा सिफसिर गरी पठाउने निर्णय समेत बैठकमा भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, सरोकारवाला कार्यालयका प्रमुख, पत्रकार, रेडक्रस लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?