वैशाखकृष्ण औंशी नै माता तीर्थ किन ?

चूडामणि कोइराला
Read Time = 17 mins

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् कष्टपूर्ण कामहरूको सम्झना गर्ने दिन पनि हो । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन वैशाख कृष्ण औंशी हो । हामी हिन्दू धर्मावलम्बीहरूका लागि आजको दिन विशेष महत्व रहेको छ । आमा शब्द आफैंमा यति महत्वपूर्ण छ कि, हामीले त्यसको महिमा र वर्णन गरेरै सक्दैनौं । शब्दमा सबै शब्द नै माँ हो । माँ हो र म हो । घर परिवारमा हामी आमासँगै रहेका छौं र दैनिक जीवनका आवश्यकता परिपूर्ति गर्न सकेका छौं ।

हरेक वर्षको वैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलनमात्र हो । आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । वैशाख कृष्णपक्षको औंशीका दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरूले आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । विवाह गरेरे आफ्नो घर गएका छोरीहरू पनि आमाको मुख हेर्न टाडा-टाडाबाट भेट्न आउँछन् । आमालाई भेट्न नपाउनेहरूले आजको यो सञ्चार जगतको युगमा फोनबाट वा सामाजिक सञ्जालका फरक माध्याममार्फत दृष्य या अदृष्य आमालाई सम्झिने गर्दछन् । अहिले समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाप्रतिको श्रद्धा र महत्व उही उचाइमा रहेको छ ।

आमा सृष्टि कि मूल हुन् । मानिस आमाकै कोखबाट आकार लिएर यस धर्तिमा आमाकै शरीरबाटै निस्केर यस पृथ्वीमा प्रवेश गर्दछ । यदि आफ्नो कोखबाट सन्तान भएन भने वा आफ्नो सन्तान गुमाउन पर्‍यो भने त्यो आमाको जीवन भर संतापमा पर्दछ । आमाको शरीरबाट निस्केर नै मानव श्वास फेर्न, रुन र स्तनपान गर्न सुरु हुन्छ । जब बालक जन्मन्छ ती आमाले आफ्नो जीवनभन्दा आफूले जन्म दिएको शिशुलाई स्याहार्न आतुर हुन्छिन् । उनी जस्तोसुकै दुःख र पीडको भूमरीमा भए पनि पहिलो प्रथमिकता शिशुमा नै हुन्छ । आमाको जस्तो सुकै त्यो पीडा किन नहोस् जब शिशु काखमा राख्छिन् तब उनको पीडा हटेर जान्छ । यसरी सुरु हुन्छ, मानिसको आमासँगको बात्सल्यता । आमा सबै कुरा छोडेर आफ्नो सन्तानको भोक, तिर्खा, जाडो वा गर्मी, सुत्न अप्ठ्यरो, अरू जीवका कारण अशुरक्षा वा बिसञ्चो आदि कुरामा आफै बिसञ्चो भए तापनि हरपल तिनै सन्तानप्रति चिन्तित रहन्छिन् । आमाको दूध धर्म ग्रन्थहरूमा भनिएको जस्तै ‘अमृत’ मय हो । आमाको दूधले बच्चाको भोक, तिर्खा, औषधि, भिटामिन सबै आवश्यकता पूरा गर्दछ ।

हिन्दू कथामा आमाको महिमा अपरम्पार छ । पार्वतीले आफूले कल्पना गरेर बनाएको छोरालाई भगवान शिवले काटेर घरभित्र पस्दा पार्वतीले शोक र विलाप गरिन् । पार्वतीको शोक विर्सना गर्न भगवानले हात्तीको टाउको जोरेर जीवित बनाइदिएर पार्वतीलाई खुशी बनाएको उल्लेख छ । हिन्दू धर्ममा देवी रूपलाई माँ, माई, अम्मा आदि भनेर आमाको दर्जामा पूजाराधाना गरिन्छ । जुसुकै धर्ममा पनि आमा र सन्तानको अकाट्य सम्बन्ध छ । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन हो । आमाले गरेका महान् कष्ट र पूर्णकामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले आमाको आत्माको मुक्तिको कामना गर्दै यही दिन श्राद्ध, तर्पण र पिण्ड दान गरी मातृत्वको स्मरण गर्दछन् । वैशाख कृष्णपक्षको औंशीको दिन काठमाडौं उपत्यकाको थानकोट नजिकै अवस्थित मातातीर्थमा मेला लाग्ने गर्दछ ।

मानिसको आमासँगको बात्सल्यता । आमा सबै कुरा छोडेर आफ्नो सन्तानको भोक, तिर्खा, जाडो वा गर्मी, सुत्न अप्ठ्यरो, अरू जीवका कारण अशुरक्षा वा बिसञ्चो आदि कुरामा आफैं बिसञ्चो भए तापनि हरपल तिनै सन्तानप्रति चिन्तित रहन्छिन् । आमाको दूध धर्म ग्रन्थहरूमा भनिएको जस्तै ‘अमृत’ मय हो ।

नेपालमा हिन्दू संस्कृति अनुसार वैशाख कृष्ण औंशीको दिनलाई नै दिनलाई ‘आमाको मुख हेर्ने दिन’ अथवा ‘मातातीर्थ औंशी’को रूपमा हामीमाझ परिचित छ । हाम्रो शास्त्रमा आमाबुबालाई हिन्दू संस्कृतिले तीर्थको रूपमा लिएको छ । भगवान गणेशले आफू दुःखी भएको बेलामा आफ्ना आमाबुबा शिव-पार्वतीलाई नै परिक्रमा गरेर तीर्थ व्रत सबै मानेका कथाहरू शस्त्रहरू वर्णन गरेको पाइन्छ । हामी सन्तानका लागि आमाको छहारी जबसम्म रहन्छ र जबसम्म आमा शारीरिक रूपमा सामार्थ राख्छिन् तबसम्म कुनै सन्तानले पनि यस लोकमा भोकै भएर र दुःखी भएर रहन पर्दैन वा बस्नु पर्दैन । सन्तानको भोक तिर्खा र थकाई सबैमा आमा सधैं परिचित हुन्छिन् । आमालाई सन्तानको सहयोग तबमात्र चाहिने रहेछ जब उनी रोगले ग्रस्त भइन् वा शारीरिक रूपमा असक्त भइन् भनेमात्र ।

त्यही भएर यो भौतिक व्यस्त जीवनमा हामी जोकोही नजिक भएर आमासँग विशेष कारणले दूर विदेश गमनले आमासँग टाढा रहेका सन्तानहरूले कम्तीमा वर्षको एकपटक आमालाई भेट्ने अवसर र परिवार जमघटको पर्व पनि हो । यसका साथै आमालाई उपहार दिने र सद्भाव दर्शाउने दिन वा पर्व हो । यदि स्वर्गीय आमाका लागि वैशाखकृष्ण पक्षको औंशीमा मातातीर्थमा स्नान गरी पोखरीमा दिवंगत आमाको स्मरणगरी र श्रद्धाले गरिने कर्म श्राद्ध गरेर सम्झना गर्ने गरिन्छ ।

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । एक प्रसंगअनुसार भगवान् विष्णुका सातौं अवतार मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै जाँदा मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो । त्यहीबेला सीता मातालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः ।’ भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताले सारा ब्रहृमाण्डको साक्षात् दर्शन पाइन् । ब्रहृमाण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल थियो । सो स्थानको शास्त्रोक्क्ती कथा अनुसार द्वापर युगमा एउटा गाई चराउन आएका ग्वालाले आफ्नो दिनको खाजाका लागि ल्याएको खाद्य रोटी खान खोज्दा कुण्डमा खसेपछि सोही कुण्डमा हेर्दा दिवंगत आमाको मुख देखेर ती ग्वला रुन थालेका थिए । त्यस दिन वैशाख कृष्ण औंशीको दिन परेको भन्ने भनाइ छ । ग्वाला घर फर्कन नमानेपछि कुण्डमा देखिएकी आमाले ती ग्वालालाई छोरा नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औंशी अर्थात् आजकै दिन दिवंगत माताहरू यहाँ आउँछौँ तिमी हामीलाई हेर्न आऊ भनेपछि त्यसैबेलादेखि सो ठाउँमा दिवंगत आमाको दर्शन गर्न मेला लाग्न थालेको जनविश्वास रही आएको छ ।

वैशाखशुक्ल कृष्ण औंशीका दिन स्वर्गीय आमाहरूको नाममा दीन–दुःखीलाई श्रद्धापूर्वक दान दिँदा स्वर्गीय आत्माले शान्ति पावोस् ती दान गरिएका वा दिएका वस्तुहरू सदुपयोग होस् र ती स्वर्गीय आत्माका सन्तानलाई पितृ आशिर्वाद मिल्ने धार्मिक, शास्त्रोक्त जनविश्वास रहिआएको छ ।

प्रकार-प्रकारका आमा सोह्र
आमाको अपार महिमालाई वेद, पुराण, अन्य धर्मशास्त्रहरूमा उच्चस्थान दिएर व्याख्या वा वर्णन गरिएको छ । कति आमाहरु अहिले पनि पुरुहरुले हेपे, यो पुरुष प्रधान देश भनेर भन्नुहुन्छ । २०७२ मा जारी नेपालको संविधानले पूर्ण अधिकारदिएको छ । त्यही संविधानतः महिला दिदीबहिनी, आमा हरेक तह र पदीय तप्कामा रहेर कार्यभार सम्माल्नु भएको छ । राष्ट्रप्रमुख, न्यायालय प्रमुखलगायत अन्य निकायको प्रमुख भएको अवस्था नेपालमा महिलाको हकमा रहेको छ । काननु र हाम्रा धर्मशस्त्रमा महिलालाई समान मानिएको छ, तर व्याहारिक पक्षमा भने महिलाबाट पुरुष र परुषबाट महिला अपहेलित नभएका स्थान कमैमात्र होलान् । शास्त्रमा महिलालाई ऋतु दोषमा मात्र फरक रूपमा बताइएको छ भने अन्य समान ध्येयभाव दर्शाइएको छ । ब्रहृमवैवर्त पुराणमा के भनिएको छ भने, जन्मदाता एवं पालनकर्ता भएका कारण पूज्यहरूमा पनि अति पूज्य जनक तथा पिता कहलाउँछन् ।

जन्मदाताभन्दा अन्नदाता पिता श्रेष्ठ मानिन्छन् । त्यो सय गुणा श्रेष्ठ माता हुन्छिन् भनिएको छ । किन भने उनी सन्तानलाई गर्भधारण तथा पोषण प्रदान गर्छिन् । शास्त्रमा आमाको गौरव गुरुभन्दा दश लाख, आचार्यभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुने बताइएको छ । मातृत्व आफ्नै सन्तानमा मात्र सीमित हुँदैन । ब्रहृमवैवर्त पुराणमा सोह्र प्रकारका आमाहरूको प्रकार यसरी बताउन खोजिएको छ, दूध पिलाउने, गर्भधारण गर्ने, भोजन दिने, गुरुपत्नी, इष्ट देवताकी पत्नी, पिताकी पत्नी (अर्को विहाह गरी ल्याइएकी सौतेनी आमा) पितृकन्या (सौतेनी बहिनी), सहोदर बहिनी, छोराबुहारी, सासू, आमाकी माता, पिताकी माता, भाइबुहारी, सानीमा, फुपू र माइजू हुन् ।

यो भौतिक व्यस्त जीवनमा हामी जोकोही नजिक भएर आमासँग विशेष कारणले दूर विदेश गमनले आमासँग टाढा रहेका सन्तानहरूले कम्तीमा वर्षको एकपटक आमालाई भेट्ने अवसर र परिवार जमघटको पर्व पनि हो । यसका साथै आमालाई उपहार दिने र सद्भाव दर्शाउने दिन वा पर्व हो

सबै महिला (स्त्री) पूजनीय हुन् र छन् । आफ्नै धर्मकर्म र महत्व भने फरक छ । पुरुषले माथि उल्लेख गरिएका सोह्र रूपलाई आमा भनेर हेर्नुपर्छ । पहिलो चरण स्पर्श गरेकी धर्ती आमा र आमाको दूधले नपुग्दा दूध दिएर जीवन रक्षा गर्ने गाई पनि आमा नै हुन् । हामीले घरमा कुनै शुभकर्म गर्नुअघि मातृका पूजा गर्ने विधान पौरस्त्य परम्परामा रही चलिआएको संस्कार हो ।

विवाह, व्रतबन्ध, सप्ताह वा अन्य कुनै शुभकर्म गर्नुपूर्व पूर्वांगमा नान्दीमुखी श्राद्ध, र मातृ प्रदान पूजा गरिएको हुन्छ । यसैगरी आदित्यादि सत्र मातृका, गौर्यादि सात तोरण मातृका, नन्दादि सात द्वार मातृका, गौर्यादि षोडश मातृका, ब्रहृमादि सात मातृकाको पूजा आराधनापश्चात् मात्र यज्ञ आरम्भ गर्नुपर्ने विधानले पनि मातृस्थान उच्च रहेको पुष्टि हाम्रा विशेष कर्ममा गरिने पूजाबाटै कति सम्मान र आदरदिएको रहेछ भन्ने पुष्टि हुन्छ । आमा सधैं, नित्य पूज्य पुजित हुन्छिन् ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन भएको हुँदा देवीको प्रतिरूप, ममताकी खानी र बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा पूरा गरिदिने महाकल्पवृक्ष सरी यस पृथ्वी लोककी मेरी आमा उमादेवी कोइरालामा हामी चार सन्ततीबाट कोटि-कोटि नमन । हामी सबैले आमालाई खुशी सुखी र स्वस्थ राख्न सकौं । अन्तमा सम्मानित नेपाली सबै आमाहरूलाई हार्दिक सम्मान तथा धेरै-धेरै शुभकामना । सम्पूर्ण आमाहरूलाई नमन ।
मातृ देवो भवः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?