नेपाली गीत गायनमा नारी हस्ताक्षरमा आफूलाई सशक्तरूपमा अग्रपंक्तिमा उभ्याएको नाम हो काव्य आचार्य । भगवान् गौतम बुद्धको क्रीडास्थल कपिलवस्तुको कोपवा ९ मा जन्मिनुभएकी काव्य सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । त्यही सानैदेखिको लगावले यतिबेला उहाँ आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले एउटा राम्रो प्रतिभाका रूपमा नेपाली सांगीतिक फाँटमा आफूलाई स्थापित गर्नुभएको छ । सानोमा नृत्य भनेपछि अत्यधिक लगाव राख्ने काव्य आचार्यको आफ्नो सांगीतिक छवि यतिबेला उचाइतर्फ मोडिएको छ । सानैदेखिको लगावले आज काव्य आचार्य गायिकाको पंक्तिमा उभिनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तरसमेत गर्नुभएकी काव्यले राम्रो गीत सिर्जना गर्नुका साथै राम्रो संगीत पनि गर्ने गर्नुहुन्छ । उहाँको स्वरको जादुसँगै संगीत र शब्दको सिर्जनामा पनि उत्तिकै सिर्जनशीलता छ । शब्द, संगीत र गायनको त्रिवेणीमा उहाँ रम्नुभएको छ । उहाँको पहिलो गीत ‘चरीले गुँड छाडेर गयो’ रहेको थियो भने बजारमा ल्याएको पहिलो आधुनिक गीति-एल्बम ‘काव्य’ थियो । काव्यका ‘किन आज धेरैपछि’, ‘चरीले गँुड छोडेर गयो’, ‘घैया मकै है सानु’, ‘माछा तारेको’, ‘औँठी चिनो छ’, ‘बाध्यताले छुट्नु परेको’, ‘परेलीको आँशु’, ‘ओए कमला’, ‘सैयाको मायाजाल’, ‘दिलमा सजाउँछु तिमीलाई’, ‘निचोरेर मुटु दिएँ’, ‘आज मेरो मनको दियो’, ‘धर्ती’, ‘छुट्यो मायाजाल’, ‘भिरको मौरी’ लगायतका गीत औधी मन पराइएका छन् । श्रोता दर्शकमाझ दुई सयभन्दा बढी गीत ल्याउनुभएकी मिठो स्वरकी धनी गायिका काव्य आचार्यसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
गायनमा कहिलेदेखि हुनुहुन्छ ?
गाउन त सानैदेखि गाउँथेँ तर आधिकारिकरूपमा गीत रेकर्ड गरेको २०५९ साथ अर्थात् बीस वर्षअघि हो ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
स्कुल पढ्दा, सानैदेखि गीत गाउँदा शिक्षकहरू सबैले राम्रो छ भन्नुहुन्थ्यो । घरपरिवार र सबैको उत्प्रेरणाले यो क्षेत्रमा आएँ ।
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अहिले आफ्नै रेकर्डिङ स्टुडियो ‘फाइन ट्युन’को व्यवस्थापनमा व्यस्त छु । यस्तै केही गीत श्रोता÷दर्शकमाझ ल्याउने तयारी पनि भइरहेको छ ।
काव्य आचार्य को हो ?
यो देशको एक असल नागरिक बन्न हरसमय प्रयत्न गर्ने एउटी गायिका । गीतसंगीत मेरो जीवनको एउटा महŒवपूर्ण पाटो हो ।
यहाँलाई काव्य आचार्य भनेर कुन गीतले चिनायो अर्थात् यहाँको करियरको ट्रनिङ प्वाइन्ट कुन गीतलाई लिनुहुन्छ ?
‘किन आज धेरै पछि तिम्रो याद आयो ।’ यही गीतबाट मैले गायनको पहिलो अवार्ड पनि प्राप्त गरेकी थिएँ ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तरसमेत गर्नुभएकी गायिका काव्य आचार्यले राम्रो गीत सिर्जना गर्नुका साथै राम्रो संगीत पनि गर्ने गर्नुहुन्छ । उहाँको स्वरको जादुसँगै संगीत र शब्दको सिर्जनामा पनि उत्तिकै सिर्जनशीलता छ । शब्द, संगीत र गायनको त्रिवेणीमा उहाँ रम्नुभएको छ र श्रोता दर्शकमाझ आइरहेका छन् गीतहरू ।
पहिलो गीत कुन थियो ?
पहिलो गीत ‘चरीले गुँड छाडेर गयो’ रहेको थियो । यसमा श्रीकृष्ण बम मल्लको संगीत र कर्ण चापागाईंको शब्द रहेको छ । बजारमा ल्याएको पहिलो आधुनिक गीति-एल्बम ‘काव्य’ थियो ।
यहाँले सबै प्रकारका गीत गाउनुभएको छ, आफैंलाई मन परेको गीत ?
हो, तपाईंले भनेजस्तै मैले धेरै प्रकारका गीत गाएकी छु । मैले आधुनिक, काठेभाका, पश्चिमेली, लोकदोहोरी, देउडा, भजन सबै गाएकी छु । धेरै गीत छन् आफ्ना सिर्जना सबै नै आफूलाई मन पर्छ । फेरि पनि केहीको नाम लिनुपर्दा ‘किन आज धेरै पछि’, ‘चरीले गुँड छोडेर गयो’, ‘घैया मकै है सानु’, ‘माछा तारेको’, ‘औँठी चिनो छ’, ‘बाध्यताले छुट्नु परेको’, ‘परेलीको आँशु’, ‘ओए कमला’, ‘सैयाको मायाजाल’, ‘दिलमा सजाउँछु तिमीलाई’, ‘निचोरेर मुटु दिएँ’, ‘आज मेरो मनको दियो’, ‘धर्ती’, ‘छुट्यो मायाजाल’, ‘भिरको मौरी’ लगायतका रहेका छन् ।
अहिलेसम्म यहाँको स्वरमा रहेका कति जति गीत श्रोता/दर्शकमाझ आएका छन् ?
सबै प्रकारका गरेर २०० जति मेरो स्वरमा रहेका गीत सार्वजनिक भएका छन् ।
यहाँ गीत लेख्नुहुन्छ, संगीत गर्नुहुन्छ र गायनमा त यहाँको स्वरको जादु नै छ । शब्द, संगीत र गायनको त्रिवेणीमा रम्नुभएको छ, यो तीन क्षेत्रलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मलाई के लाग्छ भने हामीले तीन क्षेत्र देखे पनि यी सबै एकै क्षेत्रका तीन पाटा हुन् । हो तपाईंले भनेजस्तै म शब्द, संगीत र गायनको त्रिवेणीमा रमाइरहेकी छु ।
नेपाली गीतसंगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
मलाई लाग्छ, हाम्रो वर्तमान अवस्था त्यति सुखद छैन । धेरै सर्जकहरू यो क्षेत्रमा रहे पनि, केही छिटफुटबाहेक त्यस्तो उल्लेखनीय नतिजा दिन सकेको छैन । लगानी ग¥यो रिटर्न कतैबाट छैन । बालुवामा पानी खन्याएजस्तै छ ।
राम्रा सिर्जनाले भन्दा झुरले बजार तताइरहँदा कस्तो अनुभूति हुन्छ ?
दुःख लाग्छ । एकदमै साधनाले खारिएका राम्रा कलाकार पछाडि, जे पायो त्यही गीतले बजार पाउँदै गएको पाइन्छ । राम्रा गीत ओझेलमा पर्दा दुःख लाग्छ ।
पछिल्लो समय नेपालीपनका गीत कम आउन थाले भन्ने गरेको पाइन्छ नि ?
राम्रो गीत गर्यो, चल्दैन । लगानी ग¥यो, फिर्ता आउँदैन । बजारमा झुर गीतले मात्रै स्थान पाइरहेका कारणले पनि नेपालीपनका गीत कम आएका हुन् कि । राम्रा गीतले चर्चा नपाएका होइनन् तर त्यसको संख्या न्यून छ । तर, फेरि के हो भने क्षणिक चर्चामा आएका गीत छोटो समयमा नै हराएर जान्छन् ।
नेपाली गीतसंगीतमा हिजोका दिन र आजका दिनलाई कसरी तुलना गर्नुहुन्छ ?
हिजोका दिनमा अडियोबाट राम्रो कमाइ हुन्थ्यो । गायकगायिकाले राम्रो प्रतिफल पाउँथे । राम्रा गीतले बजार पाउँथे त्यसैले राम्रा गीतसंगीत उत्पादन हुन्थे । तर, अहिलेको डिजिटल बजारमा राम्रा गीतले भन्दा झुर गीतहरूले बजार पाउने र युट्युबमा भ्युज कसरी आउँछ, त्यस्ता गीतहरूले प्रमोसन पाउने हुँदा राम्रा गीतसंगीतहरू पछिल्लो समय एकदमै कम उत्पादन हुन थालेका छन् ।
यस क्षेत्रको भोलिका दिनलाई कसरी हेर्न सकिन्छ ?
आशावादी हुनुपर्छ । राम्रो गर्ने कोसिस गर्नुपर्छ । क्षणिक चर्चाभन्दा पनि कालजयी सिर्जनातर्फ सर्जकले ध्यान पुर्याउनुपर्छ । आफ्नो माटो बोल्ने गीतमा बढी जोड दिनुपर्छ । आफ्नोपनका गीत श्रोता/दर्शकमाझ ल्याउनुपर्छ । आशा गरौँ भोलिका दिनमा आधुनिक गीतले फेरि राम्रो स्थान बनाउनेछ ।
नेपाली गीतसंगीतमा गायिकाको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपाली गीतसंगीतमा सुरुदेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने यो क्षेत्रले धेरै राम्रा–राम्रा गायिका पाएको छ । उहाँहरूको स्वरले नेपाली गायन क्षेत्रले उचाइ चुम्न सफल भएको छ । तर पनि वर्तमानमा यसलाई हेर्ने हो भने जति हुनुपर्ने हो त्यति हुन नसकेको पाउँछु । नयाँ–नयाँ प्रतिभा यस क्षेत्रले पाएको छ । आशावादी होआँै पक्कै राम्रै हुनेछ ।
यो क्षेत्रमा आउने नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ ?
आफूले साधना गरेर, सिकेर, बुझेर आउनुहोस् । लहै-लहैमा नआउनुहोस् । भाइरलको पछि नलाग्नुहोस् भन्न चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच