समुन्नत पालिका निर्माण गर्न जनश्रमदान

हिमालय टाइम्स
Read Time = 3 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले समुन्नत ‘चम्पादेवी निर्माणमा जनसहभागिता अभियान’ भन्ने मूल नाराका साथ महिनाको एक दिन जनश्रमदान गर्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले हरेक महिनाको ११ गतेका दिन जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीसहित श्रमदान गर्ने निर्णय गरेको हो । १० वटा वडा रहेको गाउँपालिकामा प्रत्येक महिनाको ११ गतेका दिन सबै वडाहरूमा जनप्रतिनिधि, कर्मचारीलगायत स्थानीयवासीको उपस्थितिमा श्रमदान गरिनेछ । प्रत्येक वडाका वडाध्यक्षहरूको अगुवाइमा वडामा विकासको आवश्यकता पहिचान गरी श्रमदान गराउन सक्नेछ ।

पानीको मूल संरक्षण, सरसफाइ, बाटो निर्माण, खानेपानी निर्माण तथा व्यवस्थापन, वन व्यवस्थापनलगायत वडाले आवश्यकताका आधारमा छनोट गरी प्रत्येक वडामा जनप्रतिनिधि र कर्मचारीसहितको जनसहभागितामा श्रमदान गरिने व्यवस्था गरिएको पालिका प्रमुख नवराज केसीले जानकारी दिनुभयो । दिगो विकास गरी चम्पादेवी गाउँपालिकालाई ‘समुन्नत गाउँपालिका’ बनाउन पदाधिकारीसहित कर्मचारीको सहभागितामा श्रमदान गर्ने व्यवस्था गरिएको प्रमुख केसीले बताउनुभयो ।

गाउँपालिकाको कार्यालयका कर्मचारीले पालिकाको कार्यालय भएको वडामा श्रमदान गर्नेछन् भने पालिका प्रमुख सबै वडामा पालैपालो सहभागी भई श्रमदानमा सहभागी हुने वडा नं. ९ का वडाध्यक्ष एवं प्रवक्ता सुजन पौडेलले जानकारी दिनुभयो ।

वैशाख ११ गतेबाट श्रमदान अभियान सुरु गरिएको भए पनि वैशाख १५ गते आधिकारिकरूपमा कार्यपालिकाको बैठकले निर्णय पास गरेको हो । वैशाख ११ गते पालिका प्रमुख नवराज केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीलगायत जनप्रतिनिधि र कर्मचारीको समूहले नवलपुर‐ककनी सडकखण्डको मक्कखोलामा सोलिङ गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?