आफूमाथि आक्रमण हुँदा सरकार मुकदर्शक बनेकाे एमाले अध्यक्ष ओलीको गुनासो

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नु भएको छ ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको पनि बताउनु भयो । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाई थियो ।

ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाउनु भयो । उहाँले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाउनु भयो । आफूहरुमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मैले हिजो, अस्ती हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईहरुले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ । यहाँ भित्र उनीहरुले भित्र भित्र खेलाउने, जसलाई मैले छौडा भन्ने गरेको छु । यो पूर्व दरबारीयाहरुले छौडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरु अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन । हाम्रा विरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरुले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक । ढुंगा हान्दिएन भने बीचमा पुलिस उभिएको छ । अव ढुंगा हान्दियो भने त उसलाई पनि लाग्ने भयो । अरुलाई पनि लाग्ने भो । हामीलाई भन्दा पहिले त पुलिसलाई लाग्ने भयो । उसले रोकेर बसेको छ । अलिक मुकदर्शक । उनीहरुले पेलेका छन । धक्का दिएका छन । पुलिसलाई मुन्टयाइएको छ । धक्क्याइएको छ । धक्कामुक्का आएको छ । तर, चुप लागेर बस्छ । माथिको आदेश छैन । अथवा यो गठबन्धन सरकारको पनि यस्ता असामाजिक क्रियाकलापहरु गर्ने, गराउने कुरामा चाँही जेसुके भने पनि, मुखले जे सुकै भनेपनि तिनलाई नियन्त्रण गर्ने, त्यो २० जना केटा छैनन् त्यहाँ । त्यो २० जना, २५ जना केटाहरु च्यापच्याप समाउन सकिदैन ? त्यही मान्छे झापामा ढुंगा हान्छ । त्यही मान्छे इलाममा गएर उफ्रिन्छ । त्यही मान्छे फिदिम गएर उफ्रिन्छ । त्यही मान्छे तेह्रथुम गएर उफ्रिन्छ । त्यही मान्छे फर्किएर आएर फिदिममा उफ्रिन्छ फेरी । तिनै मान्छे । तर उनीहरुको मनोबल के छ भने पुलिसलाई धक्का दिएपनि केही हुँदैन । जे भने पनि केही हुँदैन । जति मुख छाडे पनि, गाली बेइज्जत जेसुके बोलेपनि केही पनि हुँदैन । त्यसो भएपछि उनीहरुले बोल्न बाँकि राख्ने केही कुराहरु पनि भएन । अनि अर्को कुरा, विरोध प्रर्दशन अलि डिस्ट्यान्टबाट गर्नु पर्छ नि । बाटो छेकेर गर्छन । बाटो जहाबाट छ, त्यही उभिएर गर्छन । बाटैमा उभिएर गर्छन । त्यसपछि त्यहाँ डण्डा हान्न थाल्छ । ढुंगा हान्न थाल्छ । अब यी तत्वहरु, कोही कम्युनिष्टको नाममा, कोही के का नाममा खोल ओडेर, बर्को ओडेर बसेका छन । यिनीहरुले भ्रम पार्न सक्छन ।’

त्यस अवसरमा ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गर्नु भयो । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो । ओलीले भन्नु भयो, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मुर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन । कोही कोही अज्ञानीमा पनि मान्छन । तीन खालकै भनौं । एकथरी अज्ञानी हुन्छन । बिचरा केही पनि बुझदैनन् । त्यसकारण मान्छन राजतन्त्र । अर्कोथरी श्वार्थ, साधना गर्नका लागि मान्छन । दलालहरुले मान्छन । बुद्धि नभएकाहरुले मान्छन । जन्मिदैखेरी यस्तो हुुनुपर्छ भनेर । अव स्वार्थी तत्वहरु र बिकाउ मालहरुले मान्छन । तिनलाई केही पनि छैन । अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । अपराध कर्मका लागि । त्यस्ता तत्वहरुले मान्छन ।’

अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरुले सच्याएको दावी समेत गर्नु भयो । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतीलाई खारेज गरेर आफूहरुले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । उहाँले महाकाली सन्धि आफूहरुले सच्याएपछि त्यसबाट अनेक फाईदा भईरहेको पुरानै अडान दोहो¥याउनु भयो । उहाँले महाकाली सन्धिलाई सच्याउने काम आफूहरुले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने बताउनु भयो । ओलीले भन्नु भयो, ‘फेरी बीचमा २०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर पार्टी फुटाउने काम भयो । महाकाली सन्धि, नबुझ्नेले अलि पछि बुझ्छन । कोहीकोही नबुझी बितेभने तिनका सन्तानले पछि बुझ्छन । नपढीकन बितेभने के गर्ने ? तिनका सन्तानले बुझ्लान । महाकाली सन्धि सच्याइएको सन्धि हो । हामीले गरेको सन्धि होइन । हामीले सच्याएको चाँही हो । हामी सरकारमा थिएनौं, प्रतिपक्षमा थियौं । प्रतिपक्षमा हुँदाखेरी पनि निर्णय पनि हामीले गरेका हौं । जस पनि । अपजस दिनेले हामीलाई दिए । जस त एमालेलाई किन दिन्थे उनीहरु । दिँदैनन् । अहिले पनि वर्षमा ४ अर्व रुपैयाँ विद्युतको त नेपालले पाईराखेको छ । ४ अर्व त वर्षमा त्यो सम्झौंता गरेको हुनाले पाईराखेको छ । अरु पानीका फाईदाहरु, चाँदनी–दोधरालाई १० क्युमेक्स पानी दिने कुराहरु, २८ क्यूमेक्स पूर्वतिर ल्याउने कुराहरु । यस्ता अनेक फाईदाहरु छन । माथि पञ्चेश्वरका अनेक फाईदाहरु छन । जमिन हाम्रो भारतलाई दिए भनेर गिरिजाप्रसाद कोइरालाले जमिन लिएर सम्झौंता होइन सहमती भनेर, समझदारी भनेर नेपाली जनतालाई ढाँटेका थिए । त्यस ढाँटेकोलाई सच्याएर हामीले समझदारी होइन, सम्झौंता हो । यो दुईं तिहाईमा आउनु पर्छ । र, दुई तिहाईले जमिन दिन कसैले पनि मिल्दैन । जमिन दिने होइन्, हाम्रो जमिनमा बाँधसम्म बाँध्न दिन सकिन्छ । हाम्रो जमिनमा बाँध बाँध्न हामीले दियौं । जमिन हाम्रो हो । पहिले चाँही बाँध बाँध्नका लागि जमिन दिने भनिएको थियो । हामीले हाम्रो जमिनमा बाँध बाँध्न दियौं । एकदमै फरक छ ।’

अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौंतालाई होइन् भनेर नेपाली जनतालाई ढाँटने काम गरेपछि आफूहरुलाई त्यसलाई सच्याउने काम आफूहरुले गर्नु परेको समेत बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?