रमेश लेखकले फुकाए महाकाली करिडोरको गाँठो

हिमालय टाइम्स
Read Time = 3 mins

कञ्चनपुर । नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताउनुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनुभएका काँग्रेस नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाई भएको बताउँदै अब डेढ बर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने दाबी गर्नुभयो । करिडोरको शुन्य बिन्दु कञ्चनपुरको व्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आईतवार स्थलगत अनुगमन गर्ने क्रममा उहाँले रुख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताउनु भयो ।

अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म नै करिडोरको ट्रयाक खुलाउन रुख कटानलगायत अरु कामको अनुमति दिइसकेको अवस्था रहेको भन्दै नेता लेखकले कञ्चनपुरबाट आउँदो दशैँमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने बताउनु भयो ।

करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा अलपत्र थियो । नेता लेखककै पहलमा रुख कटान अनुमति लगायत यहाँका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह भएको थियो ।

करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने बताउनु भयो । उहाँले बैतडी दार्चुलालगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुने बताउनु भयो ।

यसैगरी महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रुखमा टाँचा लगाउन शुरु गरेसँगै काम अगाडि बढेको बताउनु भयो । उहाँका अनुसार नेपाल-भारत र चीनसँग जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ ।

करिडोर अन्तर्गत ४२५ किलोमिटर ट्रयाकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ । करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?