काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंंघले आर्थिक मुद्दामा सहकार्य गर्ने भएका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित कार्यसमितिलाई चेम्बर भवनमा बधाई एवं स्वागतका क्रममा उच्च ब्याजदर, अख्तियारसम्बन्धी विधेयकलगायतमा साझा धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो ।
मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन र निजी क्षेत्रको आवाज संगठित बनाउन दुवै संस्थाले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । दुई संस्थाबीच स्थापनाकालदेखि नै नङ र मासुको सम्बन्ध रहेको स्मरण गर्दै अध्यक्ष मल्लले आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वयन नगर्ने अवस्था सिर्जना भएको छ । सरकारलाई ध्यानाकर्षण गराउन पनि निजी क्षेत्रका अग्रणी संस्थाहरूले साझा धारणा तय गरेर अघि बढ्न जरुरी छ ।’ मुलुकको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेका बेला अख्तियारसम्बन्धी विधेयकले निजी क्षेत्रमा थप अन्योल र मनोबल गिराउने काम गरेको भन्दै अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदर पनि तत्काल घटाउन संयुक्तरूपमा पहल गर्नुपर्ने बताउनुभयो । महासंघ अध्यक्ष ढकालले पनि आर्थिक मुद्दा सम्बोधन गर्न संयुक्त पहलमा जोड दिँदै विद्यमान अर्थतन्त्रका चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
मौद्रिक नीतिका केही नीतिगत व्यवस्था हेरफेर गरेर भए पनि ब्याजदर घटाउन पहल गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले भन्नुभयो, ‘चेम्बर र महासंघको आर्थिक मुद्दा एउटै छ, अख्तियार क्षेत्राधिकारसम्बन्धी विधेयक, उच्च ब्याजदरजस्ता विषयमा एउटै स्वर बनाउनसमेत आवश्यक छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच