सरकारको पूरै ध्यान बुद्ध सर्किटको अवधारणामा छ : प्रधानमन्त्री

‘जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित भएँ’

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पूरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताउनुभएको छ । आफू बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्ष रहँदा लुम्बिनी गुरुयोजनाका विषयमा संयुक्त राष्ट्र संघमासमेत कुरा उठाएको र संयुक्त राष्ट्रसंघबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकाले अब त्यसभित्रको बुद्ध सर्किटको कामलाई तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । २५६७औँ बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको विशेष कार्यक्रम मनाउन शुक्रबार लुम्बिनी पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बुद्धजन्म स्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले लुम्बिनीसँगै, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो जीवन बुद्धका अनुयायी सम्राट् अशोक सम्राट्को जीवनसँग मेल खाने रहेको छ । म जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदाको प्रसंग बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ति राजा अशोकसँग मेल खान्छ ।

युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तराद्र्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ, प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित सुरु गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पूरक रहेको बताउनुभयो । प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने बताउनुभयो । उहाँले बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको दावी गर्नुभयोे ।

समारोहमा लिखित मन्तव्य वाचन गर्दै प्रधानमन्त्री प्रचण्डले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सम्पदा र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताउनुभयो । ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सिमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सम्भता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्नेछ,’ उहाँले भन्नुभयो ।

मानव जातिले विश्वभरी आर्जन गरेका ज्ञान र दर्शन सबै मानवजातिका साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली दर्शनको वैभवशाली इतिहासलाई प्रचारप्रसार प्रवद्र्धन गर्ने काममा भने नेपाली बौद्धिक समुदायले ध्यान दिनुपर्ने बताउनुभयो । ‘हाम्रो आफ्नै मौलिक दर्शन र चिन्तनलाई नजरअन्दाज गरेर हाम्रो दर्शन संस्कृति र सभ्यताको यात्रामा सफलता प्राप्त गर्न सकिँदैन, हाम्रो संस्कृति र सभ्यताको प्रवद्र्धन गर्ने प्रचारप्रसार गर्ने काम हाम्रै बौद्धिक समुदायको हो,’ उहाँले भन्नुभयो ।

बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान हेलिकोप्टरमार्फत लुम्बिनी आउनुभएको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न प्राथमिकता दिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?