शोधनान्तर बजेट दुई खर्ब नजिक

Read Time = 7 mins

काठमाडौं । पछिल्लो समय निरन्तररूपमा मुलुकको शोधनान्तर स्थिति बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिना अर्थात् चैतमा शोधनान्तर स्थिति झण्डै दुई खर्ब अर्थात् एक खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुई खर्ब ६८ अर्ब २६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ३७ करोडले बचतमा रहेको छ ।

त्यस्तै, चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता पाँच खर्ब १० अर्ब ५८ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षकोे चैतमा शोधनान्तर स्थिति झण्डै दुर्ई खर्ब अर्थात् एक खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ६८ अर्ब २६ करोडले घाटामा थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ चैतमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ । नौ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स
चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई छ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५.५ प्रतिशतले वृद्धि भई दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

२६.३ प्रतिशतले घट्यो निर्यात
आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई एक खर्ब १८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामानलगायतको घटेको छ । नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई १२ खर्ब एक अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागजलगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्ट्स, औषधि, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेसिनरी तथा पाटर््सलगायतको आयात घटेको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आई १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत थियो ।

मूल्यवृद्धि आठ प्रतिशत नजिक
चैत महिनामा झण्डै आठ प्रतिशत अर्थात् ७.७६ प्रतिशतले महँगी बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत

रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य
सूचकांक १४.६८, मरमसलाको १४.६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२, फलफूलको ११.०० र सूर्तीजन्यको १०.८३ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यकामा ८.५७, तराईमा ७.६८, पहाडमा ७.०१ र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा क्रमशः ६.२५, ७.६१, ७.७९ र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?