केरा खेतीबाट समृद्ध बन्यो खबरा : वार्षिक दुई करोड आम्दानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । कन्थराज थान भीरको पुछार र बेनी–बागलुङ सडक खण्डको सिरानमा छ खबरा गाउँ । पूर्वतर्फ मोहडा परेको चिटिक्कको खबरा गाउँ उर्वर छ । समृद्ध छ । खबराको समृद्धि बैदेशिक रोजगारबाट होइन गाउँमै गरिएको केराखेतीबाट प्राप्त भएको हो ।

म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै बेनी नगरपालिका २ मा पर्ने यो गाउँमा गरिएको केराखेतीबाट यहाँका किसानहरुले वार्षिक दुई करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यवसायीक रुपमा गरेको केराखेतीबाट दुईवटा गाउँमा वार्षिक दुई करोड बढी रकम भित्रिने गरेको छ ।

खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा विक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रुपमा चिनिन थालेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गर्नुभएका खबराका अगुवा कृषक शोभत शर्मा सापकोटाले बताउनुभयाे ।

खबराका किसानले विगत १२ वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको विगत १० वर्षदेखि खबरामा केरा खेती गर्दै आउनुभएका अगुवा कृषक सापकोटाको भनाइ छ ।

केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सवैतिर केरा खेतीले छपक्कै ढाकेको स्थानीय वासिन्दा समेत रहनुभएका म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनु भयो ।
खबरामा केरी खेतीको सुरुवात २४ वर्ष अघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीयवासिन्दाहरुले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको स्थानीय तेजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यवसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेती भन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसानहरु केरा खेती तर्फ आकर्षित भएका हुन । खबराका प्रत्येक घरधुरीले व्यवासायिक रुपमा हजारी जातको केराको खेती गरेको र वार्षिक रुपमा एककरोड रुपियाँ भन्दा बढी गाउँमा भित्रिने गरेको अगुवा कृषक कार्कीले बताउनु भयो ।

स्थानीय शोभित सापकोटाले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गरेर गाउँमा नै पक्की घर समेत बनाउनु भएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँ भन्दा बढी आम्दानी हुनेगरेको उहाँले बताउनु भयो । परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताउनु भयो ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेती तर्फ खबराका किसानहरु आकर्षित भएका हुन् । विरुवा रोपेको दुईवर्षमा पसाउन थाल्ने र पसाएको पाँचमहिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बविता सापकोटाले भन्नुभयो ‘५ रोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रुपमा ४ देखि ५ लाख रुपियाँ सम्म आम्दानी हुन्छ ।’

सापकोटाले विगत १० वर्ष देखि केरा खेती गर्दै आएका छन् । छोराछोरी पढाउन र घरखर्ची चलाउन कुनै समस्या छैन उहाँले भन्नुभयो, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाण्डौं राखेर पढाउन पुगेको छ ।’ उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो ‘केरा लिन बेनी देखि व्यवसायीहरु घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एकसय २० रुपियाँमा बिक्री हुन्छ ।’

त्यस्तै खबराकै हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा ६ लाख रुपियाँ जति आम्दानी हुने गरेको उनले सुनाए। राम्रो भयो भने केराको एक घारीमा ७ सय देखि ८ सय सम्म कोसा हुन्छन् उहाँले भन्नुभयो, ‘एक घारीको सात हजार रुपियाँ सम्म बिक्री गरेको छु ।’

त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।
धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ ।
त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनु भएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको उहाँले बताउनु भयो ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताउनु भयो । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करीब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको प्रति १२ कोसा रु सयका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?