काभा महिला च्यालेन्ज भलिबलको तयारी अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको तयारी अन्तिम चरणमा पुगेकोे नेपाल भलिबल संघले जनाएको छ । संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै जेठ ८ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार प्रतियोगितामा विदेशी खेलाडीहरूको आउने समय तालिका प्राप्त भइरहेको छ । यस प्रतियोगितामा नेपाललगायत भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकिस्तान, किर्गिस्तान र उज्वेकिस्तान गरी आठ राष्ट्रको सहभागिता रहनेछ ।

ती देशहरूलाई दुई समूहमा विभाजन गरी प्रतियोगिताहरू खेलाइनेछ । समूह ‘ए’ मा नेपाल, भारत, बंगलादेश र किर्गिस्तान रहेका छन् । यस्तै समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । यस प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले विशेष सहयोग प्रदान गरेको छ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिताका लागि भलिबलको सर्वोच्च निकाय फिवाका प्रतिनिधिहरूको समेत सहभागिता रहने चन्दले जनाउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, प्राविधिक व्यवस्थापन, समारोह व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार व्यवस्थापन, भेन्यु व्यवस्थापन, सोभिनियर व्यवस्थापन र अनुशासन समिति गठन गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न दुई करोड ७१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको चन्दले जनाउनुभयो । सोही अवसरमा संघका पूर्वअध्यक्ष मनोरञ्जनरमण शर्माले आर्थिक सहयोग गर्नुभएको छ । शर्माले उक्त च्याम्पियनसिपका लागि नगद एक लाख प्रदान गर्नुभएको हो । यस्तै, आर्थिक सहयोग गर्ने क्रममा टाइगर ग्रुप अफ पोखराले नगद एक लाख र विद्यालय भलिबल कमिसनले नगद ७५ हजार आर्थिक सहयोग गरेका हुन् ।

पूर्वअध्यक्ष शर्मा र विद्यालय भलिबल कमिसनका सचिव लोकेन्द्रबहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गर्नुभयो । यस्तै, उक्त प्रतियोगिताका लागि विभिन्न संघसंस्था तथा भलिबल प्रेमीहरूबाट आर्थिक सहयोगको प्रतिबद्धता आइरहेको अध्यक्ष जितेन्द्रबहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?