नीति तथा कार्यक्रमबारे संसद भवन बाहिर कुन नेता के भने ?

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न नसक्ने बताउनु भएको छ ।

आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमले देशलाई दिशानिर्देश गर्न सक्दैन । देशलाई लान सक्ने, पहिल्याउन सक्ने बाटो के हो भन्नेकुरा पहिचान यो नीति तथा कार्यक्रममा छैन । यसै विषयमा उहाँले महत्वपूर्ण विषय राख्नुभएको छ । यो नीति तथा कार्यक्रमलाई जस्ताको तस्तै स्वीकार गर्ने अवस्था छैन । यसलाई पुनःलेखन गरिनुपर्छ भनेका छौँ ।’

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताउनुभएको छ ।

महामन्त्री शर्माले देशको आर्थिक दुरावस्था हुनुमा एक व्यक्ति मात्र दोषी नभएको बताउनुभएको हो । उहाँले देशका शिर्ष नेताहरु सबै राजनीतिक उपलब्धिहरुको अंशियार र कमजोरीहरुको पनि जिम्मेवार भएको बताउनु भयो । उहाँले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको टिप्पणी गर्नुभयो । ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाई छ । मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘सम्पूर्ण रुपले काँडैकाँडा मात्र देख्ने । एउटा पनि फूल कहीँ नफुलेको देख्ने । त्यो चाहीँ दृष्टि सही भएन भन्ने मलाई लाग्छ । बालकोटमा घाम लाग्दै गर्दा बानेश्वरमा झलमल्ल हुने । बालकोटमा अलिकति बादल लाग्यो भने बानेश्वरमा आइपुग्दा सबै धमिलो देख्ने प्रवृत्ति पूर्वप्रधानमन्त्रीले परित्याग गर्नुपर्छ । उहाँले गर्दै गर्दा मुलुकको जुन अहिलेको आर्थिक चुनौति छ, यो चुनौतिलाई सामना गर्नका लागि जे–जस्ता प्रकारका कार्यक्रमहरु बनेका होलान् । त्यो कार्यक्रम पर्याप्त छ्रैनन् । अथवा अहिले मुलुकको अर्थतन्त्र जे जटिलतामा छ भन्दैगर्दा भर्खरै बनेको यो सरकारबाटै जटिलताहरु शुरु भएका हुन् भन्ने सत्य हो त ? त्यो पनि होइन । खासगरी १६÷१७ वर्ष यता, गणतन्त्रस्थापना पछिको यो अवधिको बिचमा उहाँ आफैँपनि दुईपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँकै साथीहरु अस्ति भर्खरसम्म मन्त्रिपरिषद्मा सामेल हुनुहुन्थ्यो । अहिलेको आर्थिक दुरावस्थाको दोषि एक्लै कोही व्यक्ति प्रचण्ड, या केपी ओली, या शेरबहादुर देउवा मात्रै हो त ? यो त समग्रतामै साझा रुपमा अहिलेका उपलब्धिहरुको पनि अंशियार हौँ । अहिलेका कमजोरीहरुको पनि साझा रुपमा जिम्मेवार हौँ । निति कार्यक्रम हेर्दा उहाँले केही नभएको मात्रै, अध्याँरो मात्रै निराशाको मात्रै कुरा राख्नुभयो ।’

नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले नीति कार्यक्रम सामान्य रुपले आएको बताउनु भयो । उहाँले नीति कार्यक्रम अझ अझ विशिष्टिकृत रुपमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कुण्ठा व्यक्त गर्नुभएको बताउनु भयो । उहाँले ओलीले संसदमा हेडसरले जसरी पढाएको भन्दै त्यस्तो शैली गलत शैली भएको बताउनु भयो । सरकारको प्राथमिकता निर्माण गरिएका कार्यक्रमहरुलाई र यसभन्दा अगाडीका राम्रा कार्यक्रमहरुलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीको भारत भ्रमणमा हाम्रा तर्फबाट असमान सन्धि, सम्झौताहरु विगतमा जे भए तिनलाई पुनरावलोकन गराउनका निमित्त नेपालको पक्षबाट एजेण्डामा समावेश गराउनका लागि प्रयत्न भइरहेको छ । हुन्छ । समानान्तर नीति कार्यक्रमको झल्को आउने गरी बुँदा बुँदा पल्टाएर प्रमुख प्रतिपक्ष दलको नेता केपी ओलीले व्याख्या गर्नुभयो र अन्तिममा गएर यसलाई खारेज गरौँ पास हुन नदिउँ भनेर घोषणा गर्नुभयो । मर्ला के लाग्छ भने त्यो उहाँको कुण्ठा व्यक्त भयो । त्यसरी बहश गर्ने तरिका ठिक होइन । फिर्ता गर्नुस् र पुनःलेखन गर्नुहोस् भन्नुभयो । हेडसरको तरिकामा उहाँ संसदमा प्रश्तुत हुनुभयो । उहाँ प्रमुख प्रतिपक्ष दलको नेता हो । रचनात्मक सल्लाह, सुझाव दिनुपथ्र्यो । हामी संसदका सबै माननिय सदस्यहरुलाई हेडसरको शैलीमा उहाँले पढाउनुभयो त्यो गल्ती गर्नुभयो । सरकारको प्राथमिकता निर्माण गरिएका कार्यक्रमहरुलाई र यसभन्दा अगाडीका राम्रा कार्यक्रमहरुलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्नुपर्छ ।’

त्यस्तै एमाले सांसद गोकुल बाँस्कोटाले एमाले अध्यक्ष ओलीले राष्ट्रिय नेताको तहबाट हेर्दा निति कार्यक्रममा देखिएको कमी, कमजोरीलाई संसदबाट औँल्याउनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सत्ता पक्षकै सांसदहरुले पनि संशोधन राख्नुभएको छ । ठिक थियो भने किन राख्नुभयो त ? प्रतिपक्ष दलका नेताले कतिबेर बोल्नुभयो होइन के बोल्नुभयो ? मुख्य हो । उहाँले एउटा राष्ट्रिय नेताले त्यो तहबाट हेर्दा जे कमी र अभाव देख्नुभयो त्यसलाई जनताको बिचमा राख्नुभयो संसदमार्फत ।’

उहाँले सत्तारुढ दलका नेताहरुको दिमागमा बिष र प्रतिशोध मात्रै भरिएको टिप्पणी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?