पौडेललाई भट्टराईको प्रतिप्रश्न : गाडीमा आगो लगाएर गरिएका निर्दयतापूर्वक हत्या, सुतिरहेको मान्छेलाई किला ठोकी ठोकी मान्छेले मार्नसक्छ ?

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुबीच ‘जनयुद्ध’ शब्दलाई लिएर संसदमा नोकझोक चलेको छ ।

सोमबार एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकोप्रति आपत्ति जनाएपछि बहस बढेको हो ।

भट्टाराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति मात्र जनाउनु भएन उहाँले जनयुद्ध शब्द कांग्रेसकै सहमतिमा राखिएको अनुमान लगाउँदै कांग्रेस इतिहासमै निम्छरो अवस्थामा रहेको टिप्पणी समेत गर्नुभएको थियो । साथै यस्तै अवस्था रहिरहे कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्ने उहाँले बताउनु भएको थियो ।

भट्टराई पछि माओवादीका सचिव देवेन्द्र पौडेल बोल्नुभएको थियो ।

त्यसको प्रतिउत्तरमा माओवादी सांसद पौडेलले जनयुद्धलाई जोडेर कांग्रेसप्रति भट्टराईले गरेको प्रश्नमा प्रतिवाद गर्नुभएको थियो । जवाफमा पौडेलले भट्टराईलाई डिस्नेरी हेरेर आउन भन्नुभयो ।

उहाँले भन्नुभएको थियो, ‘माननीयजीले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो । माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्न चाहन्छु, त्यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ?  कि रुख, ढुंगाहरू लडेका थिए ? माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेका युद्ध थियो । बिर्सिनुभयो वृहत्त शान्ति सम्झौता ?’

पौडेलको उक्त भनाइप्रति भट्टराईले सामाजिक सञ्जालबाट प्रतिप्रश्न गर्नुभएको छ ।

मेरो प्रश्न नेपाली कांग्रेसलाई थियो तर टिप्पणी माओवादीबाट आयो, तलका बिषयमा पनि टिप्पणी आओस भन्दै एमाले सांसद योगेशले लेख्नुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले 'आँखा जुधाएर मात्र होइन मित्र, तपाईंहरुका कारण ज्यान जोखिममा रहेको बेला पनि छाती पिटेर बहस गरेका हौं, स्मरण रहोस्' उहाँले भन्नुभएको छ।

पौडेलले मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने ? भन्दै प्रश्न गरेपछि भट्टराईले त्यसको प्रतिप्रश्नमा घरभित्र सुतिरहेका मान्छेलाई जिउँदै जलाएर मान्छेले मार्न सक्छ ? साेध्नुभएकाे छ ।

गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो ? भट्टराईको प्रश्न छ । साथै उहाँले भन्नुभएको छ– स्कुलमा पढाइरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुङ्गाका गुरुप्रसाद लुइटेल, स्याङ्जाका गुप्तबहादुर विक र म्याग्दीका मणिलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौ ठाउँमा किला ठोकी ठोकी हत्या गर्नेकाम मान्छेले नै गरेको हो त ?

यस्तै, घरमा सुतिरहेका बुद्धिमान पाख्रिनलाई ओछ्यानबाटै घिसारेर सँबेदनशील अंगमा किला ठोकी ठोकी हत्या मान्छेले गर्न सक्छ ? स्वतन्त्रतापूर्वक कमल चलाउने पत्रकार डेकेन्द्र थापा, वीरेन्द्र शाह, ज्ञानेन्द्र खड्कालगायतका दर्जनौं पत्रकारको हत्या वन मान्छेले गरेको हो त महोदय ? भन्दै सांसद पौडलमाथि एमाले नेता भट्टराईको प्रतिप्रश्न छ ।

यदु गौतम, कृष्ण सापकोटा, नवराज सुवेदी, तिलक पाण्डे, रामहरी श्रेष्ठको हत्या, हारजङमा घरभित्र सुतिरहेका मानिसहरुलाई आगो लगाएर जिउँदै जलाएर मार्ने काम मान्छेले गर्नसक्छ ? भन्दै सोध्नुभएको छ ।

यी केही नमूना घटनामात्र भएको उल्लेख गर्दै लेख्दै जाने हो भने ठूलै ठेली बन्ने भट्टराईले लेख्नुभएको छ ।

संविधान निर्माणको समयमा जनयुद्ध बहुलवादलगायतमा भएका बहसको स्मरण गर्न आग्रह समेत उहाँले गर्नुभएको छ ।

भट्टराईले लेख्नुभएको छ, ‘संविधानले के भन्छ त्यो पनि हेरौं । सरकारको निति तथा कार्यक्रम राष्ट्रको आधिकारिक दस्ताबेज हो जो संविधानसम्मत हुनुपर्छ । पार्टीको दस्तावेजमा के लेख्ने त्यो सम्बन्धित पार्टीको कुरा हो तर सरकारी दस्तावेजमा सार्वजनिक चासो हुन्छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?