साताव्यापी विश्व खाद्य स्वच्छता दिवस सुरु

Read Time = 4 mins

काठमाडौं । खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी साताव्यापीरूपमा विश्व खाद्य स्वच्छता दिवस मनाइने भएको छ । खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई सबै सरोकारवालामा पुर्‍याउने उद्देश्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगत १५ वर्षदेखि निरन्तररूपमा खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपछि हरेक वर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस विश्वभरि मनाउने गरिन्छ । यस वर्षको विश्व खाद्य स्वच्छता दिवसको अन्तर्राष्ट्रिय नारा ‘फुड स्ट्याण्डर्स सेभ लिभ्स’ रहेको छ । दिवसकै क्रममा सप्ताहव्यापीरूपमा विभाग र मातहतका कार्यालयबाट दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, मासुजन्य पदार्थ, तरकारी, फलफूल, होटल रेष्टुरेन्टको विशेष अनुगमन निरीक्षण कार्यक्रम सञ्चालन गर्ने, खाद्य स्वच्छतासम्बन्धी सूचना सन्देश, प्रचारप्रसार, पोष्टर वितरण गरी प्रचारप्रसार गर्ने, खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवाला निकायसँग खाद्य स्वच्छता र मापदण्डका विषयमा अन्तरक्रिया गर्ने, खाद्य स्वच्छता, कोडेक्स तथा प्रतिजैविक प्रतिरोधसम्बन्धी खाद्य प्राविधिक तथा पशु चिकित्सासम्बन्धी कलेजहरूमा सचेतना अन्तरक्रिया गर्ने र ७ जुनमा मूल समारोह आयोजना गरिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विभागले संघीय संरचनाका रूपमा रही खाद्य ऐन २०२३ तथा दाना ऐन २०३३ कार्यान्वनको जिम्मेवारी बहन गर्दै आएको छ । खाद्य स्वच्छता तथा मापदण्ड निर्धारणलाई नेपाल सरकारवाट उच्च प्राथमिकतामा राखिएको छ । विभागका अनुसार खाद्य पदार्थमा तोकिएका मापदण्डका आधारमा आयात बिन्दुमै आयात भई आउन सक्ने अस्वच्छ तथा न्यून गुणस्तरीय खाद्य पदार्थ नियन्त्रण हुँदै आएको छ । सरकारबाट समय-समयमा खाद्य तथा दाना पदार्थको मापदण्ड पारित गरी राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा ल्याउने गरिन्छ । यसै आर्थिक वर्षमा फलफूल तथा तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम मात्रा, कुखुराको दाना पदार्थमा एन्टिबायोटिक प्रयोग निषेध एवं ढुसीजन्य विषको अधिकतम सीमा निर्धारण जस्ता उपभोक्ता स्वास्थ्य तथा जीवन रक्षाका लागि महत्वपूर्ण मापदण्ड लागू भएको छ ।

त्यस्तै, बालबालिकाका लागि अन्नमा आधारित पूरक बालआहारको मापदण्ड पनि लागू भएको छ । स्तर निर्धारण समितिबाट पारित भएको भिटामिन तथा खनिज पदार्थ थप गरी स्तरोन्नति गरिएको चामल र रोल्ड ओट्सको मापदण्ड राजपत्रमा प्रकाशन प्रक्रियामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?