चार महिनायताकै उच्च सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार तीन अर्बभन्दा बढी अर्थात् तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन चार महिनायताकै उच्च कारोबार हो । गत माघ २५ गते तीन अर्ब ५६ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आइतबार नेप्से ४०.४८ अंक बढेर १९८०.०९ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.१० अंक, फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेका छन् । यस दिन दुई सय ७५ कम्पनीका ९५ लाख २८ हजार दुई सय ५५ कित्ता सेयर कारोबार भएका हुन् । कारोबारमा आएका १३ समूहगत सूचक बढेकोमा फाइनान्स सर्वाधिक ५.७२, लगानी ५.११, विकास बैंक ४.६६, व्यापार ३.८८ र उत्पादन तथा प्रशोधन ३.५३ प्रतिशत बढेका छन् । सिटी होटल र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ८.७०, रिलायन्स फाइनान्स ८.३६, नागरिक लगानी कोष ८.३१, मकर जितुमाया सुरी हाइड्रोपावर ८.२४, हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ८.१३, बलेफी हाइड्रोपावर ७.६४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ७.१० र विन नेपाल लघुवित्तको सेयर मूल्य ७.०९ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाई मूल्य सर्वाधिक ३.८३ प्रतिशत, मेगा म्युचुअल फण्ड-१ को २.५३, मनकामना स्मार्ट लघुवित्त २.५१, एनआइसी एसिया सेलेक्ट फण्ड २.४० र प्रभु स्मार्ट फण्डको इकाई मूल्य १.९४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स १० करोड ८७ लाख, आइएमई जनरल इन्स्योरेन्स १० करोड ६८ लाख, नेपाल टेलिकम आठ करोड १२ लाख ६४ हजार र नेपाल पुनर्बीमा कम्पनीको सात करोड ९३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?