स्थानविशेष मलखाद प्रविधिको विकास

Read Time = 3 mins

काठमाडौं । सरकारले प्रमुख खाद्यबाली धान, मकै र गहुँका लागि स्थानविशेष मलखाद प्रविधि सार्वजनिक गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग (युएसएआइडी) र नेपाल बिउ तथा मल परियोजनासँगको सहकार्यमा मलखादसम्बन्धी प्रविधि विकास गरेको हो । नयाँ मलखादको सिफारिस गर्दा माटोको उर्वरताको अवस्था, सिँचाइको उपलब्धता र बाली उत्पादनको सम्भावनासमेत विचार गरिएको केन्द्र प्रमुख शिवप्रसाद विष्टले बताउनुभयो ।

बालीको उचित अवस्थामा आवश्यक मलखादको मात्रा सही तरिकाले प्रयोग गरी बालीको उत्पादन र उत्पादकत्व दिगोरूपमा वृद्धि गर्न सके नेपालको कृषि क्षेत्रलाई जीवन्त राख्न सकिने उहाँको भनाइ छ । नेपालमा सन् १९७६ मा पहिलोपटक कृषि विभागअन्तर्गतको माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाद्वारा विभिन्न बालीका लागि मलखादको मात्रा सिफारिस गरिएको थियो । उक्त सिफारिसअनुसार माटोको जैविक तथा भौतिक अवस्था र कृषि व्यवस्थापन अवधारणामा आधारित नभएर सम्पूर्ण देशलाई एकरूपता मानी सिफारिस गरिएका मलखादको मात्र किसानले प्रयोग गर्दै आएका छन् ।

नयाँ प्रविधिअन्तर्गत धानबालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी, मध्य तराईका पर्सादेखि सप्तरीसम्म, पश्चिम तराईको रूपन्देही, कपिलवस्तु र परासी, सुदूरपश्चिमको बाँकेदेखि कञ्चनपुरसँगै भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर, नवलपुर तथा पहाडी क्षेत्र र वर्णशंकर जातका लागि सबै क्षेत्रमा विभिन्न मापदण्ड निर्धारण गरिएको छ ।

राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले विभिन्न स्थानमा गरेका मल परीक्षणबाट उपलब्ध सबै तथ्यांक समीक्षा गर्न र तथ्यांकमा कमी भएका क्षेत्रमा प्रमाणीकरण परीक्षण सञ्चालन गर्न मलखाद सिफारिस समिति गठन गरेको थियो । कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा, कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसी, युएसएडका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?