कर्णालीकी बुहारी : सामाजिक कुरीतिको सशक्त उठान

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ मोतीराज बम
सेतीको बझाङमा जन्मिएर कर्णालीको हुम्लालाई कर्मथलो बनाएकी वसन्ती शाहीलाई हिजो चिन्नेजान्नेहरू भन्थे, यी त पाइलट र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीकी श्रीमती हुन् । आज देखिजान्नेहरू त्यसो भन्दैनन्, यसो भन्छन्-यी त लेखिका हुन्, साहित्यकार हुन्, सर्जक हुन्, सामाजिक अभियन्ता हुन् । यसरी परिचयको दायरा फराकिलो बन्दै गएको छ उनको । पहिचान चुलोचौको हुँदै साहित्यको चुलीसम्मै पुगेको छ अब । उनी अब जीवन शाहीकी श्रीमती र कर्णालीकी बुहारीमात्र होइनन् सिंगो नेपालकी छोरी भएर फैलिएकी छिन्, सुपरिचित बनेकी छिन् नेपाली वाङ्मयको महासागरमा । यात्रा नियात्रा र जीवनका थुप्रै सुखानुभूति र दुःखानुभूतिको अनन्त लयमा हेलिएकी छिन् वसन्ती ।

नाबालिक उमेरमा जुम्ला विस्तार क्याम्पसमा (स्कुल हो तर क्याम्पस भन्थे) पढ्दै गर्दा शिक्षकले दाह्री काटेको गिलासमा गिलास नपखाली दाल दिएकाले त्यतिबेलै विद्रोह अंकुराएको हो वसन्तीको मानसपटलमा । साथै आफ्नै क्लासमेट दलित छात्रा हरिनामाथिको असैह विभेद र शान्ति बोहोराले दलित छात्राको पक्षमा देखाएको हक्की स्वभावले पनि गलत तत्वका विरुद्ध आवाज उठाउने प्रेरणा पनि मिल्यो होला । यसकारण वसन्ती बच्चैदेखि विद्रोही बनिन् । प्रसंग साहित्यको उठिरहँदा श्रीमती साहित्य साधक बनेको औडाह मिश्रित मुस्कान पस्कँदै श्रीमान् व्यंग्य गर्छन् साहित्यकार सन्काहा हुन्छन् ।

हो, सत्य हो साहित्यकार सन्काहा नै हुन्छन् । प्रसिद्ध कवि गोपालप्रसाद रिमाल सिरानीमा खुकुरी राखेर सुत्थे रे ¤ महाकवि देवकोटालाई त पागल नै भनियो । सनक त्यसै चल्दैन । कि अन्याय परेर चल्छ कि अन्याय देखेर चल्छ । साहित्यकारको सनकले रगत बगाउँदैन । बरू शासक प्रशासकको मुटु हल्लिन्छ । अन्यायीहरू थरर काप्छन् । समाजले परिवर्तन प्राप्त गर्छ । यसर्थ सर्जकको सनक झरीपछिको घामझैँ लोभलाग्दो र उज्यालो हुन्छ ।

अब प्रविष्ट गरौं ‘कर्णालीकी बुहारी’ पुस्तकमा । ‘कर्णालीकी बुहारी’ वसन्ती शाहीको प्रथम प्रजनन हो साहित्यिक प्रसूति मैदानमा । अखबारी लेखकको पहिचान बनाएर पुस्तक लेखिकाको रूपमा पहिलो पटक झुल्किएकी हुन् उनी लेखकीय खेतीमा । यस कृतिलाई लेखहरूको संग्रह, यात्रा नियात्राको पेटारो, सुखदुःखको भकारी जे भन्दा पनि श्रेष्ठ नै हुन्छ । समाजजन्य उज्याला अँध्यारा पाटाहरूको खदिँलो संगम पनि हो यो । कर्णाली बुझेर यो पढ्ने कि यो पढेर कर्णाली बुझ्ने ? मेरो ठहर छ यो कृति पढेर कर्णाली बुझ्दा उत्तम हुन्छ । उतिबेलाको समाज र अहिलेको समाजमा आकाश जमिनको अन्तर छ ।

वसन्तीको बखत र त्यसभन्दा अगाडि बुहारीले सासुससुरा र जेठाजु तथा अन्य आफूभन्दा माथि साइनो पर्नेको अनुहारमा सिधा हेर्न पाइँदैन थियो । यदि हेरिहालेमा त्यस दिनदेखि त्यो बुहारी अर्थात् महिलालाई कुसंस्कारी, अलच्छिनी, बोक्सी, कप्टिनी, दाल्दकी छोरी भनेर विशेषण दिइन्थ्यो ।

वसन्तीको बखत र त्यसभन्दा अगाडि बुहारीले सासुससुरा र जेठाजु तथा अन्य आफूभन्दा माथि साइनो पर्नेको अनुहारमा सिधा हेर्न पाइँदैन थियो । यदि हेरिहालेमा त्यस दिनदेखि त्यो बुहारी अर्थात् महिलालाई कुसंस्कारी, अलच्छिनी, बोक्सी, कप्टिनी, दाल्दकी छोरी भनेर विशेषण दिइन्थ्यो । मनमा जति पीडा भए पनि महिलाले कुलकुटुम्ब, नातागोता, माइतीको इज्जत राख्न सहेरै बस्नु बाध्यता थियो । त्यस अवस्थाबाट कर्णाली विस्तारै त्राण पाँउदै छ आज ।

भौगोलिक रूपमा देखिएका कर्णालीका :
बाटाहरू मात्रै अप्ठ्यारा र कष्टकर हुन् । त्यसभन्दा कठिन र कहालीलाग्दो त यहाँको सामाजिक मनोविज्ञान र चलनप्रचलन छ । अप्ठ्यारा गोरेटाहरूलाई लेखिकाले बिम्ब बनाएर कर्णालीको समाजलाई चित्रण गरेकी छिन् । उनलाई सबैभन्दा असजिलो त यहाँको संस्कार लागिरहेको छ । रीतिथिति लागिरहेको छ । चलनप्रचलन लागिरहेको छ । यो समस्या हुम्लाको मात्र नभएर सिंगो कर्णालीको हो भन्ने लेखिकाको ठम्याइ छ ।

कर्णालीको भलो नचाहनेहरू कर्णालीलाई विकट देख्छन्, विपन्न देख्छन्, विद्रुप देख्छन् लेखिका आक्रोश पोख्छिन् । तर, कर्णाली, कर्णाली बाहिरका दोषी र पापी दृष्टिकोणको ठीकविपरीत सुन्दर, समृद्ध अथाह स्रोत साधनको सम्भावना मात्र देख्छिन् कर्णालीलाई । यदि अभाव छ भने असल नेतृत्वको छ । नेतृत्वको इच्छाशक्तिको छ यहाँ । हुनत

वसन्तीका श्रीमान् केन्दीय मन्त्री, मुख्यमन्त्री, ठूलो पार्टीको केन्दीय सदस्य भएका देशकै उपल्लो तहका प्रतिष्ठित नेता हुन् ।
तर, कर्णालीको समृद्धिमा अपेक्षित रूपमा उनको ध्यान नगएकोमा हिनताबोध भएको छ उनलाई । जलन छ भित्रभित्रै । कर्णालीजस्तो सुनको भण्डारलाई नुनको भाउमा पनि तुलना हुन नसकेको देख्दा मुलुकका राजनीतिज्ञहरू, बिज्ञहरू, विशेषज्ञहरू, विश्लेषकहरू, नीति निर्माणको तहमा पुगेकाहरू, एनजीओ आइएनजिओप्रति रोष छ वसन्तीलाई । यिनीहरू कर्णालीमा समस्यामात्रै देख्छन् समाधान किन देख्दैनन् ¤ कृतिमार्फत चिन्ता व्यक्त गर्छिन् उनी । यहाँको छुइ समस्या सुल्झाउनुको साटो बल्झाइरहेकोमा समाजका अगुवा र सामाजिक अभियन्ताको चरित्रमाथि पनि शंका छ उनको ।

यहाँ कि छुई महिला र अन्य महिलाको पक्षमा पुरुष वर्गको विभेदकारी नीतिको यसरी पर्दाफास गर्दै भन्छिन्– ‘मन्दिरकी नबोल्ने देवीलाई महाशक्ति ठान्छन्, नित्य पूजा गर्छन्, भक्तिभावले चुर्लुंमै हुन्छन् जबकि उपलब्धि शून्य हुन्छ । जो सासूससुराको सेवामा अहोरात्र खट्छे, पशुवस्तुको हेरचाहमा वनजङ्गल धाउँछे, बालबच्चाको पालनपोषण गर्छे, कहिले त काममा घोटिँदा घोटिँदा भोकभोकै सुत्छे उसैलाई उल्टो हप्किधप्की ? गालीगलौज ? हेपिनु र पेलिनुपर्ने ? वसन्तीलाई कदापि स्वीकार्य छैन यो ।

उपचार नपाएर अकालमै लछुमाको ज्यान जान्छ । अस्पताल पुग्न नसकेर जुनकौरा बाटो मास्तिरको झ्याङमा बच्चा जन्माउँछे । तेस्रोपटक पनि छोरी जन्मेकी र छोरो नजन्मेको हुँदा ठकुरी घरकी एक महिला लोग्नेको डरले मृत्युु वरण गर्छे । यस्तो मार्मिक र दर्दनाक अवस्थाबाट अब कर्णाली माथि उठेर समतामूलक समाजको निर्माणमा जुट्न सबैलाई सचेत गराएकी छन् वसन्ती शाहीले । यस कृतिमार्फत कर्णालीमा गरिब र असहाय दलितमात्र होइनन् ठकुरी, बाहुन, क्षेत्री पनि छन् भन्ने सन्देश दिएकी छन् । भलै तुलनात्मक रूपमा तथ्यांक तलमाथि हुनसक्ला । राज्यको नीति निर्माण गर्ने थलो संसदमा कर्णालीका महिलाको लगभग शून्य उपस्थिति हुनु कारकतत्व पुरुषको विभेदी दोष हो भन्ने ठान्छिन् उनी ।

सत्य पनि के हो भने महिलालाई राजनीतिमा लगायो भने छाडा र चरित्रहीन हुन्छन् अनि समाज र लोग्नेको नाक काटिन्छ भन्ने मान्यता यहाँ अहिले पनि छ । राजनीति गर्ने महिलाको सन्दर्भमा कर्णालीमा एकजना नेताको चर्चित र स्थापित भनाइ छ । पूर्वराष्ट्रिय पञ्चायत सदस्यसमेत भइसकेका कालीकोट फोइमहादेवका धीरबहादुर हमाल ती राजनीतिकर्मी महिलाको बारेमा स्थानीय भाषामा यसरी व्याख्या गर्छन्– ‘गाउँकी महिला जिल्ला, जिल्लाकी महिला अञ्चल, अञ्चलकी महिला केन्द्र, केन्द्रकी महिला फरन (विदेश) फरन गया ज्या अरन अरन’ यो भनाइले पनि कर्णालीमा महिलालाई राजनीति गर्न केही बाधा पु¥याएको अवश्य छ ।

समाज कति निर्दयी छ । कति कठोर र निर्मम छ । निर्ममताको पराकाष्ठा घाँटी रेट्नुमात्र होइन । मानवताको मर्म नबुझ्नु र मानवधिकारको उलंघन गर्नु पनि निर्ममता हो । अत्याचार हो । एउटा सुत्केरी ¤ कति कमजोर हुन्छ उसको शरीर । तर पनि पुरुष महोदय मज्जाले हेरेर बस्छ उसको दैनिकी । अझ आदेश दिन्छ उल्टै यसो गर, उसो गर, यो न छो, त्यो नछो भनेर । पँधेरो टाढा छ आफैँ पानी ल्याएर ६ दिनसम्म नुहाउनै पर्ने ? बसेको गोठ लिप्नै पर्ने ? आफैं खाना पकाएर आफैँ भाडा धुनुपर्ने ? यो महिलामाथिको हिंसा नभएर के हो ? लेखिका जवाफ माग्छिन् त्यो समाजसँग ।

अर्को घतलाग्दो तथ्य त के छ भने यहाँका सबै सुत्केरी महिला भात खान पाउँदैनन् । कोदो, मकै, जौ, गहुँ, फापरको रोटी खानुपर्छ । अलि हुनेखानेले मात्रै भात खाने हो । यस विषयमा लेखिका आफैँ यस्तो व्यवहारको सिकार भएको स्वीकार गर्छिन् । उनको विवाह हुम्ला हुनेखानेकै घरमा भयो । श्रीमान् अमेरिकाबाट पाइलट पढेर आएका । अंग्रेजी फरर बोल्न सक्ने । बूढानीलकण्ठको उत्पादन । राजनीतिमा राम्रै दखल । उनी पहिलो पटक सुत्केरी भइन् । उनले सोचिन् यो घरमा त सुत्केरीमाथि विभेद हुँदैन होला । परिवार शिक्षित नै हो । जब दिन बित्दै गए उनको अपेक्षा माटोमा मिल्यो । न मीठो खान पाइयो न सासूका मीठा वचन ।

कर्णाली प्राकृतिक रूपमा भरिपूर्ण छ यसको समुचित विकास गर्न सकियो भने कहिल्यै माग्ने स्थानमा नभएर कर्णाली सधैं दिने स्थानमा सगर्व उभिने थियो । कर्णालीलाई सधैं जटिलताको कोटिमा नराखौं सरल र सहजताको बिन्दुमा राखेर नियालौं । कर्णालीको विकास समग्र देशको विकास हो ।

श्रीमान् सदरमुकाममा राजनीतिक भेटघाटमा व्यस्त श्रीमती कस्ती छ बच्चा कस्तो छ पूरै अनभिज्ञ । अपेक्षामा उपेक्षा थपिएर आयो । यसरी आलि सुत्केरीलाई सासू-ससुरा, श्रीमान्ले समेत बेवास्ता गरेपछि आत्महत्याको संघारमा पनि पुगिछन् एक दिन । यो भयानक कारुणिकताबाट बचेको कथा र आफूले पाएको पीडा प्रताडनाको निर्भीक रूपमा वर्णन गरेकी छन् । खासमा कर्णालीकी बुहारी आफैं हुन् वसन्ती । यस्तो डरलाग्दो र टिठलाग्दो अवस्था आफैंले भोगेकी हुनाले कर्णालीका आममहिलाको आवाज बनेर जन्मन गयो यो पुस्तक । उनलाई त्यतिबेलै लागेको हुनुपर्छ यसको चस्का ।

सुत्केरी हुँदा मैले त यो अवस्था भोगे भने अरू सामान्य महिलाको हालत के होला ? अब सहेर भएन ‘हामी सक्छौं’ भन्दै लेखेर, बोलेर केही गरेर कर्णालीका महिलाको जीवनस्तर उकास्नुपर्छ भन्ने हुटहुटीले यहाँसम्म ल्यायो । त्यसैले त यो सुकर्मका लागि हजारौंको नजरमा नानी बनेर बसिन् वसन्ती । कर्णालीमा महिलाको कहर यस्तो छ शहरमा नारी दिवसको उधुम अर्कै छ । लेखिकालाई यो कदापि सैहृय छैन र चित्त पनि बुझेको छैन ।

निष्कर्ष : कर्णाली नेपाली भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल हो । यहाँका अँध्यारा पक्षहरू ज्यादै अप्रिय छन् । रुढ परम्परालाई सुधार गरी समयोचित विकास गर्नु आजको आवश्यकता हो । लोकसंस्कृति र लोकसाहित्यको भण्डारलाई जस्ताको तस्तै राख्दै यसभित्रका खराब पक्षको पुनर्निर्माण र पुनर्लेखन गर्नु टड्कारो बनेको छ । वसन्ती शाहीको धेय पनि यही हो । अँध्यारा र खराब पाटाहरूलाई परिस्कृत गर्दै अबको समाजलाई उन्नत बनाउनुछ । विकृति र विसंगतिको रूपमा रहँदै आएका समाजका कुरूपतालाई अध्ययन अन्वेषण गरी हटाएर सुन्दर पक्षको अन्तरघुलन हुन ढिला गर्नुहुँदैन भन्नेमा हो लेखिकाको जोड ।

अर्को सुन्दर पक्ष के हो भने कर्णाली प्राकृतिक रूपमा भरिपूर्ण छ यसको समुचित विकास गर्न सकियो भने कहिल्यै माग्ने स्थानमा हुने थिएन । दिने स्थानमा सगर्व उभिने थियो कर्णाली । कर्णालीलाई सधैं जटिलताको कोटिमा नराखौं सरल र सहजताको बिन्दुमा राखेर अपनत्वको भावले नियालौं । कर्णालीको विकास समग्र देशको विकास हो । कर्णालीको सौन्दर्य समग्र देशको सौन्दर्य हो । यहाँका दलित, महिला, जनजाति तथा अन्य सिमान्तीकृत वर्गजस्तै उपल्लो जाति भनिने पनि न्यून आय भएका निकै गरिब र असहाय छन् । सबैको यथोचित उन्नतिमा राज्यको ध्यान जावस् । यिनै अन्तरवेदना, आत्मालाप, आक्रोश र सन्देशमूलक कृतिका लागि अध्येता, अन्वेषक वसन्ती शाहीलाई आगामी दिनको उज्ज्वल भविष्यको शुभकामनासहित धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?