पाल्पामै खुल्यो सवारी लाइसेन्स परीक्षाको आवेदन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरणको सेवा प्रवाह हुँदै आएको पाल्पामा परीक्षाको लागि आवेदन खुला गरिएको छ । लामो समयको प्रतिक्षा पछि यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको हो ।

मोटरसाइकल र स्कूटरको लाइसेन्सको तयारी गरेका सवारी चालकहरुले अब अनाईनमार्फत आवेदन दिन सक्ने छन् । यातायात व्यवस्था सेवा कार्यालयले एक सूचना जारी गर्दै मोटरसाइकल तर्फ वर्ग (A) र स्कुटरतर्फ वर्ग (K) को नयाँ लाइसेन्स जारी गर्न आवेदन खुला गरिएको जनाएको छ ।

लाइसेन्सका लागि परीक्षा दिने प्रशिक्षार्थीले अनलाइनमार्फत परीक्षा दिन सक्ने कार्यालय प्रमुख केशव सुनारले जानकारी दिनुभयो । तानसेन-७ बर्तुंङमा रहेको सेवा कार्यालयबाट उक्त सेवा दिइने छ । कार्यालय जेठ ४ गतेदेखि लाइसेन्स नविकरणको सेवा समेत दिइरहेको छ ।

जिल्लाबाटै लाइसेन्स दिने र नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरु समेत उत्साहित भएका छन् ।

पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भएको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका -७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको हो । यातायात व्यवस्था विभागको स्विकृती पछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने यातायात व्यवस्था कार्यालय पाल्पाका प्रमुख सुनारले बताउनुभयो ।

सेन्टरको २०७८ चैतमा लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले शिलान्यास गर्नुभएकाे थियाे । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?